काठमाडौं, भदौ १८ गते । नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले संविधान अनुसार बन्न बाँकी १८१ वटा कानुनहरु तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।
सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्नुहुँदै उहाँले संविधान अनुसार बन्न बाँकी कानुनहरुको निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।
सांसद आलेमगरले कतिपय कानुनहरु संविधान बनेको तीन वर्षभित्रै बन्नुपर्ने भए पनि हालसम्म बन्न नसकेको भन्नुुहँदै यसले गर्दा सरकारप्रति आशङ्का उत्पन्न भएको बताउनुभयो । उहाँले वर्तमान सरकारप्रति आदिवासी, जनजाति, दलित, मधेशी, महिला लगायत सम्पूर्ण उत्पीडित समुदायले आशाको दृष्टिले हेरेका उल्लेख गर्नुहुँदै उनीहरुको आशा अनुरुप सरकारले काम गर्नुपर्ने बताउनुभयो ।
सांसद आलेमगरले भन्नुभयो,‘‘संविधानमा बन्न बाँकी कानुनहरुमध्ये पनि तुरुन्तै बन्नुपर्ने, दुई/तीन वर्ष भित्रै बन्नुपर्ने स्पष्टसँग उल्लेख भएको कानुन पनि हामीले बनेको पाएनौँ । उदाहरणका लागि दलित सम्बन्धि कानुन । दलितसम्बन्धी कानुन दुई/तीन वर्षभित्र बन्नुपर्ने । यस्तै, अन्य कानुनहरु पनि थिए तर त्यो बनेन । दलित समुदाय त्यस्तै अन्य आदिवासी, जनजाति, मधेशी, महिला, मजदुर, किसान यि सबै बारेमा पनि बन्नुपर्ने कानुनहरु बनेनन् ।,’’
उहाँले थप्दै, ‘‘यतिबेला उत्पीडित समुदायका जनताले प्रचण्डको नेतृत्वमा रहेको यो सरकारप्रति उत्पीडित, आदिवासी, जनजाति, दलित, मधेशी, महिला सम्पूर्ण उत्पीडित समुदायले बडा आशाको दृष्टिले हेरेका छन् । संवेदनशील, गम्भीर यो बारेमा सरकार सकारात्मक छ भन्ने उनीहरुको सोचाइ रहेको छ । यस्तो सरकार हुँदाखेरी पनि यसतर्फ तदारुकता नदेखिएको हुँदा, यसतर्फ पहलकदमी नभएको हुँदा के हो कसो हो भन्ने एक प्रकारको सोचाइ उनीहरुमा परेको छ । त्यसकारण सरकारको ध्यान संविधान अनुसार बन्न बाँकी जुन कानुनहरु छन्, १८१ वटा कानुनहरु बनाउन सरकारले तदारुकता देखाउने छ भन्ने अपेक्षा लिन चाहान्छौँ । प्रधानमन्त्रीलाई यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छौँ ।’’ उहाँले कानुन बनाउन सरकारले तुरुन्तै पहलकदमी लिनुपर्ने बताउनुभयो ।