• १ जेठ २०८२, बिहिबार

तीजलाई तडकभडक नबनाउन प्रशासनको अनुरोध

blog

फाइल तस्बिर

मुरारी अधिकारी

धादिङ, भदौ १७ गते । हिन्दु नारीको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सूचना प्रकाशन गरी अनुरोध गरेको छ । 

हरितालिका तीजलगायतका चाडपर्व मनाउने नाममा विगत केही वर्षयता विभिन्न प्रकारका उच्छृङ्खल गतिविधिले सभ्य संस्कृति ओझेलमा परी समाजमा विकृति र सामाजिक अपराधका घटना वृद्धि हुँदै गइरहेकाले आफ्नो धर्म, संस्कृति, परम्परा र सामाजिक रीतिरिवाजलाई निरन्तरता दिन, संरक्षण र संवर्द्धन गर्न, मितव्ययी एवम् सभ्य तरिकाले चाडपर्व मनाउन जिल्लावासीलाई अनुरोध गरिएको छ ।

‘चाडपर्वको नाममा प्रचलित कानुनले निषेध गरेका गतिविधिहरू नगर्न, कुनै प्रकारमा ठगी, महँगी, कृत्रिम अभाव, कालोबजारी नगर्न र जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृतिविना सार्वजनिक स्थलमा मेला, महोत्सवलगायतका कार्यक्रम सञ्चालन नगर्न, नगराउन पनि अनुरोध छ’ प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । 

चाडपर्वलाई सभ्य तथा मर्यादित बनाउने तथा सामाजिक विकृति, विसङ्गति, र अपराध नियन्त्रण गरी सामाजिक अनुशासन एवम् सदियौँदेखिको सामाजिक सद्भाव कायम गर्ने कार्यमा जिल्लाका राजनैतिक दल, नागरिक समाज, उद्योग व्यवसायी, पेसागत सङ्घ संस्था, सञ्चारकर्मी, महिला सञ्जाल समूह तथा सम्पूर्ण जिल्लावासीबाट सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ । 

कसैले सूचना तथा प्रचलित कानुनको बर्खिलाप हुनेगरी कुनै प्रकारका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।