प्रेम अधिकारी
पशुपतिनगर(इलाम), भदौ १७ गते । पूर्व पश्चिम लोकमार्गको करिब पाँच सय मिटरमाथि रहेको दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा पूर्वाधार विकासले फड्को मार्न सुरु गरेको छ । झापाको दमक र केर्खा जोड्ने सडक पूर्वाधारसँगै वडाका पर्यटकीय केन्द्र जोड्ने सडक धमाधम कालोपत्रे भैरहेको हो ।
भविष्यमा चुलाचुलीको माथिल्लो भेग भएर जाने निर्माणाधीन मदन भण्डारी राजमार्गमा समेत जोड्ने लक्ष्यका साथ गाउँपालिका पाँच वडामा करिब एक हजार पाँचसय किलोमिटर सडक कालोपत्रे भइसकेको वडा नं.२ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाले आन्तरिक स्राेतबाहेक राष्ट्रिय योजना आयोगको समपूरक कोष, सङ्घीय सरकार र प्रदेश सरकारको सहयोगमा ती सडक निर्माण सम्पन्न गरेको हो । वडा नं. १ मा एक किलोमिटर, दुईमा सात सय मिटर, तीनमा डेढ किलोमिटर, चारमा तीन सय मिटर, पाँचमा डेढ किलोमिटर सडक गत आर्थिक वर्षमा कालोपत्रे गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिनुभयो । हिमाली मार्ग अन्तर्गत वडा दुईमा निरन्तर सडक कालोपत्रे भइरहेको छ ।
वडाध्यक्ष श्रेष्ठका अनुसार गत आव २०७९।८० मा ६० लाख लागतमा कालोपत्रे सडक निर्माण भएको हो । बाह्रगोेठे हुँदै तीन नम्बर वडा कार्यालय र तीनकुने सीमसार क्षेत्रलाई उक्त कालोपत्रे सडकले जोडेको छ । चालु आवमा हिमाली मार्ग सडक कालोपत्रे थप गर्न ९७ लाख ५० हजार बजेट विनियोजन भएको छ । सडक कालोपत्रे भएपछि स्थानीयवासीलाई अस्पताल, विद्यालय जान सजिलो भएको स्थानीय प्रदीप फुयाँलले बताउनुभयो ।
स्थानीयका अनुसार तीनकुने पोखरीमा पर्यटक आवतजावत गर्न सडकले सघाउ पु र्य ाएको छ । वडा पाँचका वडाध्यक्ष बविन राईले २०७९ को स्थानीय निर्वाचनपछि बनेको गाउँ सरकारको पहिलो प्राथमिकता सडक पूर्वाधार रहेको बताउनुभयो । “चुलाचुलीबासीले कालोपत्रे सडक हेर्न झापा जानुपर्थ्यो, पछिल्लो पटक हामीले त्यसलाई अन्त्य गर्दै सडक कालोपत्रे गरेका छौं” वडाध्यक्ष राईले भन्नुभयो ।
वडा ५ कै कोलडाँडा शिखरकटेरी सडक, चपेटी रत्नचोक सडक खण्ड पनि कालोपत्रे भइसकेको छ । वडा तीनमा गाउँपालिका भवनबाट मिलनचोक जाने सडक कालोपत्रे निर्माण सम्पन्न भएको छ । किराँतेश्वर विद्यालय जाने सडक कालोपत्रे भएको छ । वडा एकमा किराँत माङखिम बागद्वार सडक कालोपत्रे भएको छ ।
गाउँमा रहेका सबै मुख्यमुख्य सडक कालोपत्रे गरेर गाउँका नागरिकलाई सुविधा सम्पन्न सडकमा आवतजावत गर्न सजिलो बनाउने गाउँपालिकाको उद्देश्य रहेको गाउँपालिका अध्यक्ष केरुङले बताउनुभयो । झापामा रहेको पूर्व पश्चिम राजमार्ग र चुलाचुलीको माथिल्लो क्षेत्रमा निर्माण भइरहेको मदन भण्डारी राजमार्गलाई जोड्ने उत्तर दक्षिण सडक निर्माणलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।
चुलाचुली गाउँपालिकाको विकट मानिएको साकफारा क्षेत्रमा समेत कालोपत्रे सडक निर्माणका लागि ठेक्का बन्दोबस्ती भएको गाउँपालिकाले जनाएकोे छ । वडा ६ को सङ्गमचोकदेखि मिक्लाजुङ सम्म डेढ किलोमिटर सडक चालु वर्षमा नै कालोपत्रे हुने बताइएको छ । करिब दुई करोड १० लाख रुपियाँमा सडक कालोपत्रे निर्माणका लागि ठेक्का सम्झौता भएको छ । गाउँपालिकाको खुँडी पर्यटन क्षेत्रमा सडक कालोपत्रे निर्माण भएपछि गाउँपालिकाका सबै वडामा कालोपत्रे सडक निर्माण हुने जनाइएको छ ।