बाबुराम देवकोटा
मरिण (सिन्धुली), भदौ १७ गते । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सिन्धुली जिल्लाको मरिण गाउँपालिकाका भौतिक पूर्वाधार जनश्रमदानबाटै मर्मत गर्न सुरु गरिएको छ । यो गाउँपालिकाले बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधार श्रमदानबाटै मर्मत गर्ने अभियान सञ्चालन गरेको हो ।
हालैको बाढीपहिरोले यो गाउँपालिकामा १५ वटा घर, तीन वटा कुलो र पाँच वटा सडकमा क्षति पु-याएको छ । बाढीपहिरोले एउटा बस्ती जोखिममा पार्नुका साथै करिब सय बिघाभन्दा बढी जमिन कटान भएको गाउँपालिकाले जनाएको छ । क्षतिग्रस्त भौतिक पूर्वाधार मर्मत गर्न अहिले स्थानीय उपभोक्तासँगै गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी र शिक्षकसमेत जुटेका हुन् ।
गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले बाढी पहिरोले क्षति गरेकामध्ये हालसम्म श्रमदानबाटै दुई वटा सिँचाइ कुलो र पाँच वटा सडक मर्मत गरी सञ्चालन भएको बताउनुभयो ।
अविरल वर्षासँगै सडकमा खसेको पहिरो र रुख ढलेका कारण अवरुद्ध बनेको १० किलोमिटर लामो गर्दुवा–खलङ्गा सडक जनश्रमदान गरी मर्मत गरेर सञ्चालनमा ल्याइएको वडा नं. १ का वडाध्यक्ष हीराबहादुर गुर्मछान मगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गर्दुवादेखि खलङ्गासम्म जाने सडकको ठाउँ ठाउँमा पहिरो र रुख खसेका थिए । जनश्रमदानबाट पहिरो र पहिरोसँगै खसेका रुख पन्छ्याउने, सडक भत्किनबाट रोक्न जाली भर्ने र सरसफाइको काम भएको छ ।”
१५ घरधुरी रहेको वडा नं. ७ को महेश्वता ठाँटीलाई महेश्वता खोलाको कटानबाट जोगाउन जनश्रमदानबाटै तारजाली भरेर संरक्षण गर्ने कार्य भएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष मोक्तानले भन्नुभयो, “१०–१२ वटा घरमा कतै पहिरो पसेको, कतै पहिरोले तानेको थियो । त्यहाँ श्रमदान गरी पहिरो पन्छ्याउने र रोकथाम गर्ने काम भएको छ । प्रकोप नियन्त्रणका लागि आवश्यक तारजाली, पोलिथिन पाइपलगायतको सामग्री गाउँपालिकाले उपलब्ध गरायो र त्यसलाई चाहिने श्रमशक्ति स्थानीयबाट जुटाएका छौँ ।”
जनश्रमदानबाट नहुने काममा मात्रै गाउँपालिकाले बजेट र मेसिन औजार उपलब्ध गराउने नीति अनुसार काम हुँदै आएको उहाँले बताउनुभयो । जनश्रमदान गर्नेलाई खान चाउचाउ, बिस्कुट र पानी भने गाउँपालिकाले उपलब्ध गराउने गरेको छ ।
गाउँघरमा पछिल्लो समयमा उपभोक्ता समितिमार्फत सञ्चालन हुने विकास निर्माणका योजनामा १०–१५ प्रतिशत स्थानीय उपभोक्ताको जनश्रमदान हुनुपर्ने व्यवस्था भए पनि त्यो कागजमा मात्र सीमित हुँदा मरिण गाउँपालिकाले यो वर्षदेखि जनश्रमदान अनिवार्य गरी कडाइ गरेको गाउँपालिकाले जनाएको छ । “पहिले श्रमदान गर्न हामी उपभोक्तालाई बोलाउथ्यौँ, अहिले हामीलाई बोलाउन थालेका छन् । अहिले उपभोक्तामा ‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ भन्ने भावनाको विकास भई श्रमदान गर्ने बानी बस्दै गएको छ,” गाउँपालिका अध्यक्ष मोक्तानले भन्नुभयो ।