काठमाडौँ, भदौ १६ गते । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनको असर कम गर्ने मुद्दामा सबैको सहकार्य जरुरी रहेको बताउनुभएको छ ।
राजधानीमा साथसाथै संस्थाले शुक्रबार आयोजना गरेको जलवायु परिवर्तनका चुनौती लैङ्गिक उत्तरदायी कार्यका लागि कुनै कार्ययोजना छ ? कार्यक्रममा बोल्दै मन्त्री महतोले पछिल्लो समय युवापुस्ताले जलवायु परिवर्तनका क्षेत्रमा देखाएको चासोको सराहना गर्नुभयो । उहाँले भन्नुभयो, “हामी रहौँला, नरहौँला तर जलवायु परिवर्तनका विषय हाम्रा सन्ततीका लागि चाहिने चिज हो ।”
जलवायु परिवर्तनको मुद्दा यस वर्ष संयुक्त अरब इमिरेट्समा हुँदै गरेको सवालमा उठाइने बताउनुहुँदै मन्त्री महतोले त्यसका लागि खटेर तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तनका लागि आउने सहयोगका लागि कोप २८ सम्मेलनका लागि नेपालको तयारी कमजोर देखिएको औँल्याउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय महिला (युएन वुमन) को नेपाल प्रतिनिधि प्याट्रिका फर्नान्डेज प्याचेकोले नेपाल विश्वमै यसको प्राकृतिक सुन्दरताका लागि प्रसिद्ध रहे पनि जलवायु परिवर्तनको असरका हिसाबले १० औँ देश रहेको औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “जोखिम बढ्दो छ, विशेष गरी महिला र बालबालिकामा असर बढी परेको छ ।” विश्वमा बढ्दो कार्बन उत्सर्जनका कारण सिर्जित जलवायु परिवर्तनको असरलाई बेवास्ता नगरी सम्बोधन गर्नुको विकल्प नरहेको उहाँले प्रस्ट्याउनुभयो ।
साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको बहुआयामिक असरबारे चर्चा गर्दै नेपालमा त्यसका धेरै नकारात्मक प्रभाव पछिल्लो समय बढेको प्रस्ट पार्नुभयो ।
मेलम्चीमा आकस्मिक बाढी आउनु, तराईमा पानी कम परेर खडेरी लाग्नु, भर्खर मात्र मुस्ताङमा नसोचेको बाढी आउनुलगायतका विषय जलवायु परिवर्तनसँग जोडिएको विषय रहेको बताउनुभयो ।