• ७ जेठ २०८१, सोमबार

इजिप्टका राष्ट्रपतिसँग सुडानी जनरलको भेट, सुडानी सङ्कटबारे छलफल

blog

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी ।

इजिप्ट, भदौ १३ गते । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र सुडानको सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले द्विपक्षीय सम्बन्ध र सुडानी सङ्कटको पछिल्लो घटनाक्रमबारे छलफल गर्नुभएको छ ।

इजिप्टका राष्ट्रपतिका प्रवक्ताद्वारा जारी एक विज्ञप्तीमा तटीय शहर न्यू अलामिनमा भएको भेटमा सिसीले आधिकारिक र लोकप्रिय स्तरमा आफ्नो देश र सुडानको ऐतिहासिक बन्धन र सम्बन्धलाई महत्त्वपूर्ण रुपमा लिएको बताउनुभयो । इजिप्टका राष्ट्रपति सिसीले सुडानको साथमा उभिन र सुडानको सुरक्षा, स्थिरता, एकता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्न इजिप्टले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै, सुडानी सशस्त्र बलका जनरल कमाण्डरसमेत रहनुभएका अल बुर्हानले सुडानको सुरक्षा र स्थिरतालाई समर्थन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

भेटका क्रममा दुई नेताले सुडानमा भएका घटनाक्रमको समीक्षा गर्दै सुडानी जनतालाई मानवीय सहायता सुनिश्चित गर्ने उपाय र सुडानी सङ्कट समाधानका प्रयासबारे पनि कुराकानी भएको थियो ।

अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा सेना र आरएसपी बीचको सशस्त्र झडपमा तीन हजारभन्दा बढीको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी घाइते छन् । चार मिलियनभन्दा बढी मानिस घर छोडेर भागेका छन् । ३.२ मिलियन मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् । यस्तै, नौ लाख मानिस चाड, इजिप्ट र दक्षिण सुडानलगायतका देशहरुमा शरण खोजिरहेका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल