• १३ साउन २०८१, आइतबार

‘भरतपुर भ्रमण वर्ष २०२४’ को तयारी

blog

भरतपुर समाचारदाता

चितवन, भदौ १२ गते । भरतपुर महानगरपालिका यति बेला भ्रमण वर्षको तयारीमा जुटेको छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउने घोषणालाई कार्यान्वयन गर्न महानगर तयारीमा जुटेको हो ।

महानगर प्रमुख रेनु दाहालसहितको टोली बुधबार भरतपुर–६, देवनगरमा चितवन निकुञ्जले निर्माण गर्न लागेको वन्यजन्तु उद्धार केन्द्र पुगेको थियो । सोही केन्द्र परिसरमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनसहित निकुञ्जका अधिकारीबिच अन्तर्क्रिया भयो । 

महानगर प्रमुख दाहालले उद्धार केन्द्रलाई पर्यापर्यटनसँग जोडेर चिडियाखाना जस्तै गरी पर्यटकलाई वन्यजन्तु देखाउने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । निकुञ्जका अधिकारी पनि त्यस विषयमा सहमत भए । मात्र कसले कुन भूमिका निर्वाह गर्ने भन्नेमा निचोडमा पुग्न बाँकी छ । 

पछिल्लो समय मानव बस्तीमा प्रवेश गरी घरपालुवा जनावर र मानिसलाई समेत आक्रमण गर्दै आएका बाघलगायतका जनावरलाई निकुञ्जले नियन्त्रणमा लिएर राख्न उक्त उद्धार केन्द्र निर्माण सुरु गरेको हो । 

महानगर प्रमुख दाहालले उद्धार गरिएका वन्यजन्तुलाई पर्यापर्यटनसँग जोडेर आम्दानीसमेत गर्ने गरी योजना अघि बढाउन लागिएको बताउनुभयो । उहाँका अुनसार भ्रमण वर्षमा आउने पर्यटकलाई केन्द्रमा रहेका बाघ, गैँडा, चित्तललगायतका जनावर देखाउने गरी चिडियाखानाका रूपमा विकास गर्ने योजना बनाइएको छ । यस कार्यका लागि कहाँ के गर्नु पर्छ, त्यो गर्न महानगर तयार रहेको उहाँले बताउनुभयो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले महानगरको प्रस्तावप्रति सकारात्मक रहेको प्रतिक्रिया दिँदै उद्धार केन्द्रको हालको अवस्थाबारेमा भन्नुभयो, “उद्धार केन्द्रमा हाल कम्पाउन्ड वालको काम धेरै भइसकेको छ, प्राविधिक कर्मचारी बस्ने आवास बनिसकेको छ । चित्तल, मृगजस्ता जनावर राख्ने ठाउँ बनाइएको छ । हात्तीका लागि तीन वटा सेड निर्माण भएका छन् । 

बाघ राख्ने दुई वटा खोर निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ ।” बाँकी के कस्ता संरचना तत्काल निर्माण गर्न आवश्यक हुन्छ, प्राविधिकसँग बसेर छलफल गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक संरचना निर्माण गरिसकेपछि पर्यटकका लागि बाघ देखाउन सकिन्छ ।” 

उक्त केन्द्र मानव बस्तीमा प्रवेश गरी घरपालुवा जनावर र मानिसलाई समेत आक्रमण गर्दै आएका बाघलगायतका जनावर, घाइते र अपाङ्ग जनावरलाई उद्धार गरी उपचार र पुनः बासस्थान पठाउने गरी निर्माण गर्न लागिएको हो । व्यवस्थित उद्धार केन्द्र नहुँदा हाल निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहा क्षेत्रमा थप दुई वटा गरी पाँच वटा बाघ खोरमा छन् । साँघुरा खोरमा राखिएका ती बाघलाई उद्धार केन्द्रमा खोर निर्माण सम्पन्न भएपछि सोही स्थानमा स्थानान्तरण गर्ने निकुञ्जको योजना छ । प्रमुख संरक्षण अधिकृत पुनका अनुसार बाघको स्वास्थ्य, आनीबानी जाँच गरी त्यसलाई कहाँ स्थानान्तरण गर्ने भन्ने निर्णय गरिन्छ । उहाँ भन्नुहुन्छ, “केन्द्रमा राखिएकामध्ये पनि कुन कति हिंस्रक छ ? कुन देखाउन मिल्छ, कुन मिल्दैन, यी प्राविधिक विषयमा स्पष्ट भएपछि मात्र त्यसलाई चिडियाखानामा जस्तै गरी देखाउन सकिन्छ ।”

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी नियन्त्रणमा लिएर राखिएका वन्यजन्तुलाई पालेर राख्नसमेत रकम अभाव हुने गरेको अनुभव सुनाउनुहुन्छ । उद्धार गरिएका वन्यजन्तुलाई पर्यटकीय गतिविधिसँग जोड्दा पर्यटक र आम्दानी दुवै बढ्ने भएकाले महानगरको प्रस्तावमा निकुञ्जको सहमति रहेको बताउनुभयो । 

भरतपुर भ्रमण वर्ष मनाउन लागिएको अवस्थामा जुन प्रस्ताव आएको छ, त्यो निकुञ्जले सकारात्मक रूपमा लिएको बताउँदै उहाँले कुन कुन जनावर हेर्न मिल्ने गरी राख्न सकिन्छ ? त्यसका लागि के कति शुल्क लिन उपयुक्त हुन्छ, यस्ता विषयमा थप छलफल हुनुपर्ने उहाँको प्रतिक्रिया छ ।