• १३ साउन २०८१, आइतबार

नार्कको पाँच सय हेक्टर जमिन बाँझो

blog

काठमाडौँ, भदौ १२ गते । देशको कृषि तथा पशुपन्छीलगायत क्षेत्रमा अध्ययन, अनुसन्धान गर्दै आएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको जमिनमध्ये पाँच सय हेक्टर जमिन बाँझो भेटिएको छ । नार्कसँग अनुसन्धान गर्न देशैभर करिब १२ सय हेक्टर जमिन रहेको छ, त्यसमध्ये पाँच सय हेक्टर जमिन बाँझो भएको नार्कले जनाएको छ । 

अनुसन्धान तथा अन्य प्रयोजनका लागि करिब ६५० हेक्टर जमिन प्रयोग भइरहेको छ, बाँकीमा जङ्गल, झाडी रहेको नार्कले जनाएको छ । कतिपय ठाउँमा नेपाली सेना, सशस्त्र प्रहरीले पनि नार्कको जमिन प्रयोग गरिरहेका छन् । 

बाँझो जमिनलाई प्रयोगमा ल्याउने तयारी नार्कले गरेको छ । नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बाँझो रहेको जमिनलाई कसरी प्रयोगमा ल्याउने त्यसको बारेमा अध्ययन भइरहेको बताउनुभयो । देशभरिका विभिन्न कार्यालयमा जग्गा बाँझो रहेको छ, जग्गा के कति कारणले बाँझो रहेको त्यहाँका कार्यालयसँग स्पष्टीकरण माग्ने बताउँदै उहाँले स्पष्टीकरण आइसकेपछि कुन जमिनमा के उत्पादन गर्न सकिन्छ, त्यसको अध्ययन गरी उत्पादनमा जोड दिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सकेसम्म बाँझो रहेका जमिनलाई अनुसन्धानकै लागि प्रयोगमा ल्याउने नभए अन्य बाली उत्पादन प्रयोगमा ल्याउँछौँ । धान, मकै, गहुँ, तरकारी, फलफूललगायत जहाँ जुन बाली उत्पादन हुन्छ, त्यहाँ त्यही बाली उत्पादन गर्छौं, त्यसलाई बिक्रीवितरण गरी राजस्वमा दाखिला गर्ने छौँ ।”

अनुसन्धानका लागि मात्र सबै जमिन प्रयोगमा ल्याउन सकिँदैन भन्दै उहाँले अनुसन्धान मात्र गर्नका लागि स्रोतसाधन तथा बजेटको अभाव छ, त्यसैले भएका कर्मचारीलाई काम लगाउनका लागि बाँझो जमिनलाई सदुपयोगमा ल्याउने तयारी भइरहेको बताउनुभयो । 

नार्क अन्तर्गत देशैभर ६३ वटा कार्यालय छन् । सबै कार्यालयसँग केही केही जमिन बाँझो भेटिएको छ । चाँडै नै सबैलाई सर्कुलर पठाएर बाँझो जमिनलाई अनुसन्धान तथा उत्पादनमा लगाउने उहाँले बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि देशभर बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउनका लागि नीति बनाइरहेको छ । 

कृषि मन्त्रालयले कार्यदल गठन गरेर बाँझो जमिनबारे अध्ययन गराएको छ र सोही अध्ययन प्रतिवेदनका आधारमा नीति बनाउन लागेको छ । 

कृषियोग्य जमिन बाँझो रहेका कारण कृषि उत्पादनमा कमी आएको भन्दै ती जमिनलाई कृषिका लागि कसरी उपयोग गर्ने, त्यस विषयमा कृषि मन्त्रालय नीतिगत तयारीमा लागेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । 

नेपालमा ५९.९ लाख हेक्टर कुल कृषियोग्य जमिनमध्ये १० लाख हेक्टर जमिन बाँझो रहेको छ । त्यो जमिनलाई कसरी प्रयोगमा ल्याएर कृषि उत्पादकत्व र उत्पादनलाई वृद्धि गर्ने, त्यसबारेमा विस्तृत अध्ययन गरेको छ । 

वास्तविक किसानसँग जमिनको स्वामित्व नहुनु, अनुपस्थित भूस्वामित्वको स्थिति कायमै रहनु, कृषिमा श्रम गर्ने युवाशक्तिको पालयन, न्यून उत्पादकत्व, कृषि उत्पादन सामग्रीको कमी, कम नाफामुखी व्यवसाय र अपेक्षित रूपमा सम्मानित पेसाका रूपमा विकसित हुन नसक्नुलगायतका कारणले गर्दा जमिन बाँझो रहन गएको छ । 

खेतीयोग्य बाँझो जग्गा उपयोग गर्नेसम्बन्धी कार्यविधि २०७२ अनुसार खाद्य तथा पोषण सुरक्षामा सुधार ल्याई संविधानप्रदत्त जनताको खाद्य सम्प्रभुता बढाउन बाँझो जग्गालाई सदुपयोगमा ल्याउनुपर्ने हुन्छ । बाँझो जग्गामा खाद्यन्न उत्पादन तथा पोषणा सुरक्षाका लागि मकै, धान, फापर, गहुँ, जौ, आलु, कोदो जस्ता बाली लगाउने कृषि मन्त्रालयले जनाएको छ ।