• २२ वैशाख २०८१, शनिबार

श्रीलङ्काको कठिन दैनिकी

blog

आर्थिक रूपले टाट पल्टिएको श्रीलङ्काको अवस्थामा अझै उल्लेख्य सुधार आएको छैन। जनताको दैनिकी दयनीय बनेकै छ, गरिबी दोब्बर बढेको छ। खाद्यान्न र इन्धनको सहज आपूर्ति हुन सकेको छैन, महँगी घटेको छैन।

गरिब किसान र मजदुर खाद्यान्न किन्न नसक्ने अवस्थामा पुगेका छन्। कतिपयले खाद्यान्नको विकल्पमा कटहर र नरिवल खाएर भोक मेटाउन बाध्य छन्।

कटहरको रुखले करुप्पैया कुमारसहित धेरै जनाको परिवारलाई भोकमरीबाट जोगाएको छ। “कटहरको रुखले हामीजस्ता हजारौँ मानिसलाई जीवित राखेको छ। यसले हामीलाई भोकमरीबाट जोगाएको छ,” दैनिक ज्यालादारी मजदुरी गर्ने तीन सन्तानका पिता करुप्पैया कुमारको प्रतिक्रlया छ।

कुनै बेला अवहेलना गरिएको यो फल अहिले धेरैका लागि वरदान भएको छ। “आर्थिक सङ्कट सुरु हुनुभन्दा पहिले जो कोहीले चामल वा पाउरोटी किन्न सक्थे तर अहिले खाद्यान्नको मूल्य अकासिएका कारण धेरै मानिस दिनहुँ कटहर खान्छन्,” ४० वर्षीय कुमारले खुलासा गरेका छन्।अहिले श्रीलङ्काका झन्डै एक तिहाइ मानिस खाद्य असुरक्षाको मारमा परेका छन्।  हरेक दोस्रो परिवार आफ्नो आम्दानीको ७० प्रतिशत खाद्यान्नमा खर्च गर्न बाध्य छ। 

हामीले खाना कटौती गरेर तीन छाकबाट दुई छाक खान थालेका छौँ। गत वर्षसम्म १२ केजी तौलको खाना पकाउने ग्यास सिलिन्डर पाँच डलरमा आउँथ्यो अहिले त्यसको मोल दोब्बरभन्दा बढी भएको छ। महिनौँसम्मको नियमित लोडसेडिङ, चरम महँगी र इन्धनको अभावबाट आक्रान्त हजारौँ जनताले राष्ट्रपति कार्यालय र राष्ट्रपतिको सरकारी निवास कब्जा गरेपछि तत्कालीन राष्ट्रपति गोटाबाय राजपाक्ष देश छोडेर भाग्न बाध्य भएका थिए।

त्यसपछि राष्ट्रपति बनेका रनिल विक्रमासिङ्घेले मुलुकको आर्थिक सङ्कट समाधान गर्ने प्रयास जारी राखेका छन्। उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग वार्ता गरेर केही आर्थिक सहयोग जुटाउन सफलता पनि पाए तर यतिले समस्या समाधान भएको छैन।

देशको दुई करोड २० लाख जनसङ्ख्याका निम्ति निःशुल्क हुने गरेको स्वास्थ्य प्रणालीसमेत एक वर्षभन्दा लामो आर्थिक सङ्कटका कारण प्रभावित भएको छ। श्रीलङ्काले करिब ८५ प्रतिशत औषधी आयात गर्छ तर देश आर्थिक सङ्टमा परेर मुद्रा सञ्चिति घटेका कारण अत्यावश्यक औषधीको समेत अभाव छ।

श्रीलङ्कामा दुई पटकसम्म मिति सारेर पनि कोभिड सर्वमहामारीबीच संसदीय आमनिर्वाचन सम्पन्न भई नयाँ सरकार बन्दा जनता निकै आशावादी बनेका थिए। तत्कालीन राष्ट्रपति गोटाबाय राजपाक्ष र प्रधानमन्त्री महिन्दा आशा र भरोसाका केन्द्र थिए।

महिन्दा र गोटाबाय दुई दाजुभाइ हुन्। महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपति बने। उनको कार्यकालमा मुलुकको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको तमिल विद्रोह अन्त्य भयो। तमिल विद्रोह अन्त्य गर्दा गोटाबाय रक्षामन्त्री थिए।  दुई दाजुभाइको साहसिक कदमले श्रीलङ्का चरम हिंसाबाट मात्र मुक्त भएन मुलुक विखण्डन हुनबाट जोगियो। उनीहरूले हिम्मत नगरेको भए आजसम्म श्रीलङ्का चरम हिंसाका साथै विखण्डनको चरणमा पुग्ने खतरा थियो।

मुलुक बचाउने, हिंसा अन्त्य गरी शान्ति स्थापना गरेकै कारण श्रीलङ्कावासीले राजपाक्ष दाजुभाइलाई मुलुक चलाउने जिम्मेवारी पुनः सुम्पेका थिए।

विश्वमै सबैभन्दा शक्तिशाली विद्रोही मानिने र सयौँ आत्मघाती लडाकुसहितको कठोर क्रूर विद्रोही सङ्गठन बनाएका सुप्रिम कमान्डर भेलुपिलाई प्रभाकरण नेतृत्वको तमिल विद्रोह यसरी तहसनहस होला भनी धेरैले सोचेका पनि थिएनन्। झन्डै एक लाख मानिसको ज्यान लिएको र अर्बौं डलरको भौतिक क्षति पु¥याएको सो जातीय विद्रोह नाटकीय ढङ्गले समाप्त भयो।

सोह्रौँ शताब्दीमा पोर्चुगल र नेदरल्यान्डको, त्यसपछि डेढ सय वर्ष बेलायतको उपनिवेश रहेको श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएको थियो। पहिले श्रीलङ्कालाई सिलोन भनिन्थ्यो। सन् १९७२ देखि यसलाई श्रीलङ्का भन्न थालियो। सन् १९८३ देखि तमिल विद्रोह सुरु भई सन् २००९ मा अन्त्य भयो। राजपाक्ष दाजुभाइले गरेको यो ऐतिहासिक कामको प्रशंसा भयो तर अन्त्यमा यी दाजुभाइकै गलत नीतिका कारण श्रीलङ्का अकल्पनीय आर्थिक सङ्कटमा फस्यो।  

Author

रामप्रसाद आचार्य