• २४ वैशाख २०८१, सोमबार

परमाणु बमका जनक ओपनहाइमर

blog

परमाणु बमका जनक मानिएका जुलिएस रवर्ट ओपनहाइमरको जीवनमाथि लेखिएको पुस्तक ‘अमेरिकन प्रोमेथियस’ लाई आधार बनाएर निर्देशक क्रिस्टोफर नोलनले निर्माण गरेको ‘ओपनहाइमर’ हलिउड चलचित्र यतिबेला चर्चामा छ। जुन चलचित्र हाल विश्वभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ। 

आखिर को थिए ओपनहाइमर ?, के थियो उनको कथा ?, कसरी बनाएका थिए उनले विनाशकारी ‘न्युक्लिएर बम’ ?, उनी नायक थिए या खलनायक ? 

सन् १९४५, जुलाई १६ बिहान साढे ५ बजे अमेरिकाको न्यु–मेक्सिकोको अलमोगोराडो मरुभूमिमा एक बम विस्फोट हुन्छ। जुन विस्फोट कुनै साधारण बमको विस्फोट थिएन। विश्व इतिहासमा पहिलो पटक एक परमाणु बम परीक्षण गरिएको थियो। उक्त बम परीक्षणको नाम थियो ट्रिनिटी। जुन प्रोजेक्टलाई ओपनहाइमरले नेतृत्व गरेका थिए। 

बम विस्फोट क्षमता देखेर ओपनहाइमर चेत खाएका थिए। किनभने उनले उक्त परमाणु बम विस्फोटको क्षमता ०.३ किलोटन टिएनटी अनुमान गरेका थिए तर विस्फोट क्षमता पूर्वानुमानभन्दा ५० गुणा बढी थियो। परमाणु बम विस्फोटको कम्पन एक सय ६० किलोमिटर टाढासम्म महसुस गरियो। विस्फोटबाट निस्केको च्याउ आकारको बादल आकाशमा १२ किलोमिटर माथिसम्म पुगेको थियो। 

त्यो सबै देखिरहेका ओपनहाइमर छक्क मात्रै परेनन् उनको मुखबाट एकाएक “नाउ आई एम विकम डेथ, द डिस्ट्रोयर अफ वल्डर्स्” भन्ने वाक्यांश निस्क्यो, जुन भागवत गीताको श्लोकको भाव थियो। गीतामा भनिएको छ : ‘कालोऽस्मि लोकक्षयकृत्प्रवृद्धोलोकान्समाहर्तुमिह प्रवृत्तः’ अर्थात् “म लोकको नाश गर्नेवाला महाकाल हूँ।”

सन् १९०४ अप्रिल २२ मा न्युयोर्कको प्रिन्सटनमा एक जर्मन यहुदी परिवारमा जन्मेका ओपनहाइमर बाल्यकालदेखि तीक्ष्ण बुद्धिका थिए। १० वर्षको उमेरमै उनले रसायनशास्त्र र भौतिकशास्त्रको अध्ययन थाले। उनलाई मिनरोलोजीमा विशेष रुचि थियो। सोही कारण उनलाई न्युयोर्कको मिनरोलोजिकल क्लबले प्रवचनका लागि बोलाएको थियो। 

सन् १९२२ हार्वर्ड विश्वविद्यालयमा भर्ना भएका ओपनहाइमरले चार वर्षे डिग्री तीन वर्षमै पूरा गरे। उनी आफ्नो कक्षामा प्रथम विद्यार्थी थिए। रसायनशास्त्र उनको रुचिको विषय थियो। भौतिकशास्त्र, साहित्य, दर्शन र पूर्वीय धर्मको अध्ययनमा समेत उनी उत्तिकै चाख राख्थे। पछि उनले आफ्नो अध्ययनको विषय भौतिकशास्त्र बनाए र सन् १९२७ मा जर्मनीको गोटिङ्गेन विश्वविद्यालयबाट २३ वर्षकै उमेरमा भौतिकशास्त्रमा विद्यावारिधि (पिचएडी) गरे। 

ओपनहाइमरको प्रतिभाको पछाडि अँध्यारो पक्ष पनि थियो। ओपनहाइमरका साथीहरूका अनुसार उनी आत्मविनाशकारी प्रवृत्तिका थिए। उनी चुरोट अम्मली र डिप्रेसनका रोगी थिए। उनी आफ्ना भाइलाई भन्ने गर्थे, “म साथीहरूभन्दा बढी भौतिकशास्त्र चाहन्छु।” उनी अति अध्ययनशील थिए। अध्ययनमा व्यस्त रहँदा उनलाई बाँकी विश्वबारे थाहा हुन्नथ्यो। 

सन् १९३० को दशकको पूर्वार्धमा जर्मनीमा हिटलरको उदय भएपछि ओपनहाइमरमा राजनीतिक चस्का पस्यो। हिटलरको तानाशाही शासनका कारण जर्मनीका धेरै वैज्ञानिकले देश छोडे र अमेरिका पलायन भए। त्यसरी अमेरिका पलायन हुने जर्मन वैज्ञानिकहरूमा ओपनहाइमरसहित अल्बर्ट आइन्सटाइन, जोन भोन न्युयमन (आधुनिक कम्प्युटरका आविष्कारक), लिओ सिलार्ड, हान्स बेथे, एडवर्ड टेलर (हाइड्रोजन बमका पिता), एनरिको फर्मीको नाम उल्लेख गर्न सकिन्छ। यी सबै जर्मन वैज्ञानिक यहुदी थिए। 

हिटलरले यहुदीविरुद्ध नरसंहार मच्चाएपछि ओपनहाइमरमा राजनीतिप्रति अभिरुचि अरू बढ्न गयो। सन् १९३६ उनले एक पटक भनेका थिए “म बुझ्न थालेँ राजनीति र आर्थिक परिघटनाले कति गहिरोसँग जनताको जीवनमा असर पार्छ। मलाई महसुस भइसक्यो मैले पनि यस समुदायमा सहभागी हुनु पर्छ।” त्यसपछि ओपनहाइमर वाम विचारधाराबाट प्रभावित भए। त्यस क्रममा उनी कैयौँ राजनीतिक सभामा सहभागी भएका थिए। मजदुर र किसानको सङ्गठनलाई उनले चन्दासमेत दिए। 

सन् १९३९ सेप्टेम्बर १ मा हिटलरले पोल्यान्डमाथि आक्रमण गरेपछि दोस्रो विश्वयुद्ध सुरु भयो। आरम्भिक दिनमा अमेरिका दोस्रो विश्वयुद्धमा सहभागी थिएन। तैपनि अमेरिका सम्भावित युद्धको आशङ्काले भित्री तयारीमा जुटेको थियो। दोस्रो विश्वयुद्धको बादल मडारिन थाल्दा सन् १९३९ अगस्तमा अल्बर्ट आइन्सटाइन र लियो सिलार्डले अमेरिकाका राष्ट्रपति फ्रान्कलिन डी. रुजवेल्टलाई एक संयुक्त पत्र लेखे। पत्रमा हिटलर परमाणु हतियार बनाउने प्रयासमा लागेको कुरा उल्लेख गर्दै अमेरिकाले पनि परमाणु हतियार निर्माणका लागि तयार रहनुपर्ने उल्लेख गरिएको थियो। उक्त पत्र पढ्नेबित्तिकै राष्ट्रपति रुजवेल्टले एक सल्लाहकार समिति गठन गर्दै तत्काल काम अघि बढाए। त्यसका लागि वैज्ञानिक र सैनिक अधिकारीहरूको समिति गठन गरियो। समितिलाई युरेनियमको सम्भाव्यतामाथि अनुसन्धान गर्न कार्यादेश दिइएको थियो। 

युरेनियमलाई हतियारमा परिणत गर्न सकिन्छ कि सकिन्न भन्नेमा अनुसन्धान केन्द्रित गरियो। अमेरिकी सरकारले ‘न्युक्लियर चेन रियाक्सन’ आखिर कसरी काम गर्छ भन्ने सम्बन्धमा थप अध्ययनका लागि वैज्ञानिकद्वय एनरिको फर्मी र लिओ सिजार्डलाई आर्थिक सहायता उपलब्ध गरायो। 


प्राकृतिक रूपमा पाइने अत्यन्त दुर्लभ युरेनियममा युरेनियम–२३८ आइसोटोप हुन्छ। एक प्रतिशतभन्दा कम युरेनियममा–२३५ आइसोटोप पाइने गर्छ। यही युरेनियम–२३५ आइसोटोप हुने युरेनियम मात्रै परमाणु बम निर्माणमा प्रयोग गर्न सकिन्छ। त्यसैले वैज्ञानिकहरू परमाणु बम निर्माणका लागि आवश्यक युरेनियम–२३५ प्रशोधन गर्ने विधि विकास गर्नमा लागे तर यस प्रोजेक्टमा संलग्न अमेरिकी वैज्ञानिकहरूलाई बम निर्माण बारे अल्बर्ट आइन्सटाइनलाई केही नभन्न निर्देशन दिइयो। अमेरिकी सरकार आइन्सटाइनलाई वामपन्थी विचार निकट ठान्थ्यो र उनलाई सम्भाव्य सुरक्षा चुनौतीका रूपमा लिन्थ्यो।

त्यतिबेला ओपनहाइमर भने एडवर्ड टेलर र अरू वैज्ञानिकसँग मिलेर परमाणु विखण्डन प्रक्रियाको सम्बन्धमा छुट्टै अध्ययनमा थिए। पछि सन् १९४० डिसेम्बरमा युरेनियम–२३५ आइसोटोपका साथै प्लुटोनियम रेडियोधर्मी तत्व पत्ता लगाइयो। वैज्ञानिकहरूले प्लुटोनियमलाई समेत परमाणु बम बनाउन प्रयोग गर्न सकिने ठहर गरे। त्यसपछि सन् १९४१ अक्टोबर ११ मा अमेरिकाका राष्ट्रपति रुजवेल्टले बेलायती प्रधानमन्त्री विन्स्टन एस. चर्चिललाई परमाणु हतियार विकासका लागि दुवै देश मिलेर अघि बढ्नुपर्ने सन्देश पठाए। त्यसको दुई महिना नबित्दै अर्थात् सन् १९४१ डिसेम्बर ७ मा जर्मनीको युद्ध साझेदार जापानले अमेरिकाको पर्ल हार्वरमाथि आक्रमण ग¥यो। अनि अमेरिकाले औपचारिक रूपमा दोस्रो विश्वयुद्धमा होमिएको घोषणा ग¥यो। 

अमेरिकाका राष्ट्रपतिले जापानविरुद्ध युद्धको घोषणा गरे। यतिबेलासम्म अमेरिकाको परमाणु बम बनाउने वैज्ञानिक अभियान सैनिक अभियानमा परिणत भइसकेको थियो। त्यसपछि अमेरिकाले परमाणु बम निर्माण प्रोजेक्टका लागि २.२ अर्ब अमेरिकी डलर छुट्यायो। जुन रकम अहिलेको समयमा २४ अर्ब डलर पर्न आउँछ। 

त्यतिबेला अमेरिकी सेनाको एउटा इन्जिनियरिङ विभाग थियो, जसलाई आर्मी कप्र्स अफ इन्जिनियरर्स भनिन्थ्यो। यसले सैनिकहरूका लागि विमानस्थल र बन्दरगाह निर्माण गथ्र्यो। सन् १९४२ मा राष्ट्रपति रुजवेल्टले परमाणु बम निर्माणमा उक्त सैन्य विभागको सहभागितालाई अनुमोदन गरे। यस सैन्य विभागको उत्तरी एट्लान्टिक डिभिजन कार्यालय न्युयोर्कको म्यानहटनमा थियो। परमाणु बम बनाउने जिम्मेवारी पाएपछि उक्त सैन्य विभागले आफ्नो प्रधान कार्यालय रहेकै भवनको १८ औँ तलाबाट काम अगाडि बढायो। त्यसपछि प्रधान कार्यालयलाई नाम दिइयो ‘म्यानहटन इन्जिनियरिङ डिस्ट्रिक’ । अनि परमाणु बमको आधिकारिक निर्माण कार्य सुरु भयो ‘म्यानहटन प्रोजेक्ट’ अन्तर्गत। मिति थियो सन् १९४२ अगस्त १३। सन्  १९४२ सेप्टेम्बर १७ मा अमेरिकी सैन्य अधिकारी लेस्ली रिचर्ड ग्रोभ्सलाई प्रोजेक्ट प्रमुखको जिम्मेवारी दिइयो। त्यसपछि ग्रोभ्सले ओपनहाइमरलाई परमाणु बमको डिजाइनर प्रमुखका रूपमा नियुक्त गर्ने निर्णय गरे। उक्त प्रोजेक्टलाई गोप्य राख्न टेनेसी स्टेटको ओक रेजलाई स्थान चयन गरियो। त्यसैले ओक रेज द सिक्रेट सिटीका नामले समेत चिनिन्छ।

उक्त सहर म्यानहटन प्रोजेक्ट अर्थात् परमाणु बम निर्माणका लागि बसाइएको थियो। त्यसपछि हजारौँ वैज्ञानिक र अनुसन्धानकर्तालाई उक्त सहरमा सारियो। उनीहरूको काम केवल युरेनियम–२३८ लाई प्रशोधन गरी युरेनियम–२३५ बनाउने थियो। यसो किनभने युरेनियम–२३८ को विखण्डन धेरै हुँदैन, त्यसैले यसबाट ठूलो चेन रियाक्सन नहुने हुँदा घातक बम बनाउन सकिँदैन। त्यसैले बम निर्माणका लागि युरेनियम–२३५ नै आवश्यक थियो। 

योजना अनुसार ग्यासेज डिफ्युजन, सेन्ट्रिफ्युज, इलेक्ट्रोम्याग्नेटिक सेप्रेसन र लिक्विड थर्मल डिफ्युजन गरी चार वटा विधि अपनाएर युरेनियम–२३८ बाट युरेनियम–२३५ बनाउने कोसिस गरियो। यस प्रयासमा डिफ्युजन, सेन्ट्रिफ्युज र इलेक्ट्रोम्याग्नेटिक सेप्रेसन विधि सफल देखिए।  

यसका साथै अमेरिकाको पश्चिमी राज्य वासिङ्टनमा समेत प्लुटोनियम उत्पादन गर्ने काम समेत भइरहेको थियो। त्यस अनुसन्धानले  प्लुटोनियम युरेनियम–२३५ भन्दा बढी रेडियाधर्मी र विखण्डनकारी हुने पत्ता लाग्यो। बम निर्माणका लागि टेनेसी र वासिङ्टनबाहेक अन्य स्थानमा बमको डिजाइन र निर्माण कार्य अघि बढाइयो। जसलाई ‘प्रोजेक्ट वाई’ नाम दिइएको थियो। सबै योजना गोप्य रहोस् भन्ने उद्देश्यले जनरल ग्रोभ्स यसका लागि बस्तीबाट निकै टाढाका क्षेत्र रोज्न चाहन्थे। ओपनहाइमर एक त्यस्तो ठाउँका बारेमा परिचित थिए, जहाँ उनले गर्मीयामको केही समय बिताएका थिए। त्यो ठाउँ थियो न्युमेक्सिको राज्यको ‘पेकोस उपत्यका’ । 

यी सबै क्षेत्रको छनोटपछि एउटै काम बाँकी थियो, प्रयोगात्मक रूपमा ‘न्युक्लियरको चेन रियाक्सन’ परीक्षण गर्नु। किनभने त्यतिबेलासम्म परमाणु बम सम्बन्धमा सबै काम सैद्धान्तिक रूपमा मात्रै भएको थियो। परमाणु बमको परिकल्पना यथार्थमा सम्भव छ या छैन भन्ने प्रमाणित गर्नु बाँकी थियो। यसै सिलसिलामा अमेरिकाको युनिभर्सिटी अफ सिकागोको स्क्वास कोर्टमा सन् १९४२ डिसेम्बर २ मा वैज्ञानिक एनरिको फर्मी छुट्टै खालको एक ‘चेन रियाक्सन’ चलाएर एउटा बल्ब बाल्न सफल भए। यसरी फर्मीद्वारा पहिलो पटक ‘चेन रियाक्सन’ को सफलतापूर्वक परीक्षण गरिएको थियो।

यतिबेलासम्म जनरल ग्रोभ्स ओपनहाइमरको क्षमताबाट निकै प्रभावित भइसकेका थिए। ग्रोभ्स ओपनहाइमरलाई ‘प्रोजेक्ट वाई’ को निर्देशक बनाउन चाहन्थे तर अमेरिकी सेनाका केही उच्च अधिकारीहरू ओपनहाइमरमाथि शङ्का गर्थे। अमेरिकीहरूको यस्तै शङ्का अल्बर्ट आइन्सटाइनमाथि पनि थियो। ओपनहाइमर, उनकी श्रीमती, भाइ र नजिकका साथी कट्टर कम्युनिस्ट थिए। यस्तो पृष्ठभूमिको वास्ता  नगरी जनरल ग्रोभ्सले ओपनहाइमरलाई नै समर्थन गरे। ओपनहाइमरबिना उक्त प्रोजेक्ट सफल नहुने ग्रोभ्सको ठम्याइँ थियो। त्यसपछि सन् १९४३ जुलाई २३ मा ओपनहाइमरलाई उक्त प्रोजेक्टको प्रमुखको जिम्मेवारी सुम्पियो। परमाणु बम बनाउन रेडियोधर्मी इन्धनको ‘क्रिटिकल मास क्याल्कुलेसन’ मा ओपनहाइमरलाई महारत हासिल थियो। ‘क्रिटिकल मास’ युरेनियम–२३५ तथा प्लुटोनियमको त्यो न्यूनतम द्रव्यमान हो जो ‘चेन रियाक्सन’ का लागि आवश्यक हुन्छ। 

त्यतिबेला युरेनियम–२३५ बारे केही जानकारी थियो तर प्लुटोनियम–२३९ सन् १९४० मा मात्रै पत्ता लागेको थियो। सोही कारण अमेरिकाले त्यति बेला दुई वटा परमाणु बम बनायो। पहिलो ‘लिटिल ब्वाय’ जो युरेनियम–२३५ मा आधारित थियो। जुन बमलाई बन्दुक आकारमा डिजाइन गरियो। दोस्रो बम थियो प्लुटोनियम–२३९ बाट निर्मित ‘फ्याट म्यान’ । ‘फ्याट म्यान’ को डिजाइनमा समस्या आएको थियो। ‘फ्याट म्यान’ लाई बन्दुक आकारको डिजाइन दिन सकिएको थिएन । त्यसैले ओपनहाइमर ‘इम्लोजन मेथड’ लाई परीक्षण गर्न चाहन्थे तर जनरल ग्रोभ्स ओपनहाइमरको विचारमा सहमत थिएनन्। प्लुटोनियमको थोरै उत्पादनका कारण त्यसलाई परीक्षण गर्न नसकिने भनाइ ग्रोभ्सको थियो तर ओपनहामरले बम परीक्षणमै बढी जोड दिए। 

अन्ततः ग्रोभ्स ओपनहाइमरको भनाइमा सहमत भए। त्यसपछि गरिएको थियो ‘ट्रिनिटी टेस्ट’ न्युमेक्सिकोको अलमोगोराडो मरुभूमिमा। त्यहाँ परीक्षणका लागि परमाणु बम विस्फोट गराइयो, जसलाई ‘ग्याजेट’ नाम दिइएको थियो। त्यसमा १३ पाउन्ड प्लुटोनियम थियो। बम विस्फोट परीक्षणका लागि एक फलामे टावरको सहयोगमा उक्त ग्याजेटलाई सय फिट माथि 

झुल्याइयो। अनि सन् १९४५ जुलाई १६ मा बिहान ५ः३० बजे उक्त बमलाई विस्फोट गराइयो। उक्त बम अनुमान गरेभन्दा कैयौँ गुणा बढी शक्तिशाली देखियो। बम विस्फोटपछि बम झुल्याइएको फलामे टावर वाफमा परिणत भएको थियो। उक्त दृश्य देखेपछि हो ओपनहाइमरको मुखबाट भागवत गीताको श्लोक निस्केको।

ओपनहाइमर संस्कृत पनि जान्दथे। उनले भागवत गीतासमेत अध्ययन गरेका थिए। उनी गीतालाई आफ्नो जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने ग्रन्थका रूपमा लिन्थे। ‘ट्रिनिटी’ परीक्षणको एक महिना पनि बितेको थिएन सन् १९४५ अगस्त ६ मा अमेरिकाले ‘लिटिल ब्वाय’ बमलाई जापानको हिरोसिमामा खसाल्यो। उक्त बमले एक लाख ४० हजार मानिसको ज्यान लियो। त्यसको तेस्रो दिनपछि सन् १९४५ अगस्टमा ९ मा अमेरिकाले जापानकै नागासाकी सहरमा ‘फ्याट म्यान’ बम खसाल्यो। जसले ४० हजार बढी मानिसको ज्यान लिएको थियो।

हिरोसिमा र नागासाकी नरसंहारको समाचार सुन्नेबित्तिकै अल्बर्ट आइन्सटाइनले आफूलाई धिक्कारेका थिए। उनले भनेका थिए, “वोइ इक मी” अर्थात् “मलाई धिक्कार छ” । ओपनहाइमरले भने हिरोसिमामा खसालिएको बमबारे खुसी प्रकट गरेका थिए तर नागासाकीमा बम खसाल्दा भने ओपनहाइमर चिन्तामा डुबे। त्यसपछि ओपनहाइमर सन्  १९४५ अगस्त १७ मा सेक्रेटरी अफ वारलाई भेट्न वासिङ्टन डिसी पुगे। आफूद्वारा लिखित चिट्ठी आफ्नै हातबाट सेव्रmेटरी अफ वारलाई दिए र न्युक्लियर हतियारमाथि प्रतिबन्ध लगाइनु पर्छ भने। नागासाकी नरसंहारमा ठूलो पछुतो मनाउ गरे। यद्यपि हिरोसिमामा खसालिएको बमलाई भने ओपनहाइमरले एक आवश्यक अनिष्ट दिए। नागासाकी संहारमा पछुतो महसुस गरेका ओपनहाइमर भविष्यमा अरू देशले यस प्रविधिलाई कसरी प्रयोग गर्लान् भन्नेमा चिन्तित बने। 

अमेरिकाका राष्ट्रपति रुजवेल्टको निधनपछि ह्यारी टु«म्यान अमेरिकाका राष्ट्रपति भए। नागासाकी संहारको दुई महिनापछि ओपनहाइमर राष्ट्रपति ट्रुम्यानलाई भेट्न पुगे। उक्त भेटमा राष्ट्रपति ट्रुम्यानलाई ओपनहाइमरले “आई ह्याभ ब्लड अन माई ह्यान्डस्” अर्थात् “मेरा हात रगतले लतपत्तिएका छन्” भनेर प्रतिक्रिया दिए। त्यो सुनेर राष्ट्रपति ट्रुम्यान उनीसँग रिसाए। आफ्ना सचिवलाई ओपनहाइमरलाई बाहिर निकाल्न आदेश दिए। ओपनहाइमरको अनुहार कहिल्यै देख्न नचाहेको बताए उनले। 

त्यसपछि पनि ओपनहाइमर अमेरिकी न्युक्लियर इनर्जी कमिसन (परमाणु ऊर्जा आयोग) मा आबद्ध भए र थप परमाणु आक्रमण रोक्ने प्रयत्न गरे, उनी परमाणु हतियार निर्माणमा नियन्त्रण चाहन्थे। सन् १९४९ मा राष्ट्रपति ट्रुम्यानले अर्को हाइड्रोजन बन बनाउन न्युक्लिएर कमिसनसमक्ष प्रस्ताव राख्दा ओपनहाइमरले उक्त प्रस्ताव अस्वीकार गरेका थिए। ओपनहाइमरको असन्तुष्टि भए पनि अमेरिकाले हाइड्रोजन बम बनाई छाड्यो। उक्त बमलाई सन् १९५२ परीक्षण गरियो । जुन बम निर्माणमा एडवर्ड टेलरको मुख्य भूमिका थियो। त्यसैले टेलरलाई ‘फादर अफ हाइड्रोजन बम’ भनिन्छ।  

परमाणु बम निर्माणमा रोक लगाउनुपर्ने माग र कम्युनिस्ट विचारधारा बोकेका कारण ओपनहाइमरलाई पछि जागिरबाट निकालियो। त्यसपछिको बाँकी जीवन उनले प्राज्ञिक काममा लगाए। विभिन्न मुलुकमा गएर प्रवचन दिए। उनलाई तीन पटकसम्म नोबेल पुरस्कारका लागि प्रस्ताव गरिए पनि पुरस्कार भने दिइएन। अन्ततः सन् १९६७ फ्रेब्रुअरी १८ मा घाँटीको क्यान्सरका कारण ओपनहाइमरको निधन भयो। 

आज विश्वका नौ मुलुक रुस, अमेरिका, चीन, फ्रान्स, बेलायत, पाकिस्तान, भारत, इजरायल र उत्तर कोरियासँग परमाणु हतियार छ। यी सबै घटना र वस्तुस्थिति हेर्दा महाविनाशकारी परमाणु बम निर्माता ओपनहाइमर ‘नायक’ हुन् या ‘खलनायक’ भनिराख्नु पर्दैन। मानवताविरोधी नरसंहारमुखी आविष्कारक ‘नायक’ हुनै सक्तैन।   

Author

रतन भण्डारी