• ३१ वैशाख २०८२, बुधबार

बेपत्ता आमाछोरा मृत अवस्थामा फेला

blog

बाबुराम देवकोटा

सिन्धुलीमाढी, भदौ १० गते । घाँस काट्न गएका बेला खोलाले बगाउँदा तीन दिनदेखि बेपत्ता रहेका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका –६ राँगेचुरी निवासी एकै घरका आमाछोरा मृत अवस्थामा फेला परेका छन् ।

बेपत्तामध्येकी ५७ वर्षीया माया गोले (आमा) लाई रौतहटको गरुडा नजिक बागमती नदीको किनारमा आइतबार बिहान मृत अवस्थामा फेला पारेको सो वडाका अध्यक्ष एकबहादुर मोक्तानले जानकारी दिनुभयो । त्यस्तै, २८ वर्षीय छोरा राजकुमार गोलेलाई गाउँकै क्यानखोला र खड्कुले खोलाको दोभानमा शनिबार दिउँसो मृत अवस्थामा फेला पारेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बेपत्ता भएका आमाछोरा बिहीबार दिउँसो ३ बजेतिर घरदेखि करिब एक किलोमिटर टाढा रहेको ब्रमठाकुर सामुदायिक वनमा घाँस काट्न गएका थिए । बेलुकासम्म घरमा नफर्केपछि आफन्त, स्थानीय र प्रहरीले खोजी गर्न सुरु गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले रौतहट जिल्लाको गरुडा नजिक बागमती नदीको किनारमा एक जना महिलाको शव फेला परेको बताउनुभयो । मृतकको सनाखतका लागि उहाँका आफन्तलाई बोलाइएको उहाँले बताउनुभयो । बेपत्तामध्येको छोरा राजकुमारको शव भने पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको उहाँले बताउनुभयो ।