बाबुराम देवकोटा
सिन्धुलीमाढी, भदौ १० गते । सिन्धुली जिल्लामा बनेका दुई वटा राष्ट्रिय राजमार्गको क्षेत्राधिकारमा परेको जग्गा सार्वजनिक नहुँदा जग्गाधनी मर्कामा परेका छन् । राजमार्गको क्षेत्राधिकारमा पर्ने जग्गा सार्वजनिक (लगत कट्टा) नहुँदा जग्गाधनी मालपोत तिर्न बाध्य छन् ।
राष्ट्रिय राजमार्ग निर्माण भएको जग्गा व्यक्तिको नाममा रहेकाले लगत कट्टा गर्दा क्षतिपूर्ति दिनुपर्ने भएपछि सरकारले लगत कट्टा गर्न नखोजेको स्थानीयको भनाइ छ । राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका मदन भण्डारी र पुष्पलाल (मध्यपहाडी) राजमार्गको क्षेत्राधिकारमा पर्ने जग्गा हालसम्म व्यक्तिकै नाममा रहेको सम्बन्धित जग्गाधनीको गुनासो छ । दुवै राजमार्गको क्षेत्राधिकार दायाँबायाँ १५–१५ मिटर गरी ३० मिटर छ ।
मध्यपहाडी राजमार्ग अन्तर्गत ६१ किलोमिटर लम्बाइको खुर्कोट–घुर्मी खण्ड निर्माण भई सार्वजनिक यातायात सञ्चालन भएको वर्षौं भइसकेको छ । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाको भित्री भागलाई जोड्ने मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको बसाहादेखि हेटौँडाको चौघडासम्मको २५० किलोमिटर लम्बाइ सडक निर्माण पूरा भई यातायात सञ्चालन हुँदै आएको छ ।
सम्बन्धित निकायले राजमार्गको क्षेत्राधिकारभित्र पर्ने जग्गा सार्वजनिक नगर्दा जग्गाधनीले उक्त जग्गाको समेत कर (मालपोत) नगरपालिकालाई तिर्नु परेको दुधौली नगरपालिका–१, बङ्का थानराज अधिकारी गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो पनि तीन कट्ठाभन्दा बढी जग्गा मदन भण्डारी राजमार्गमा परेको छ । सडक बनेको पाँच वर्षभन्दा बढी भइसक्यो । सडकमा परेको जग्गाको पनि बर्सेनि मालपोत तिर्दै आएको छु ।” उक्त राजमार्ग निर्माणका क्रममा अहिलेसम्म सरकारले निजी व्यक्तिकै जग्गामा लगानी गरिरहेको उहाँको भनाइ छ ।
जग्गाधनी अधिकारीका अनुसार राजमार्ग निर्माणसँग बाँकी रहेको जग्गाको मूल्य आकासिएको छ तर भोगचलन गर्न नपाएको जग्गाको समेत मालपोत तिर्नुपर्दा जग्गाधनीलाई मर्का परेको छ । सडकको जग्गा सार्वजनिक नगरिँदा जुनसुकै समयमा मुआब्जाको विषयलाई लिएर समस्या आउने भएकाले तत्काल लगत कट्टा गरी सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ । मदन भण्डारी राजमार्गले सिन्धुली जिल्लामा दुधौली नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकालाई जोडेको छ । त्यस्तै मध्यपहाडी लोकमार्गले गोलन्जोर र फिक्कल गाउँपालिकालाई जोडेको छ ।
गोलन्जोर गाउँपालिका–६, हैबारका सुमन कोइरालाले पनि मध्यपहाडी राजमार्गमा पर्ने जग्गा अहिलेसम्म सार्वजनिक नगरिँदा जग्गाधनीलाई मार परेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले सडकमा परेको जग्गाको अहिलेसम्म न मुआब्जा दियो न सार्वजनिक गरेको छ । भोगचलन गर्न नपाएको जग्गाको समेत गाउँपालिकालाई राजस्व तिर्नु परेको छ ।” राजमार्ग निर्माणका व्रmममा मुआब्जाको विषयमा धेरै विवाद भई केही महिना निर्माणको काम नै जग्गाधनीले रोकेका थिए ।
सडको जग्गा छोड्न भनिए पनि लगत कट्टा नगरेकाले मध्यबिन्दु कहाँ मान्ने भन्नेमा अन्योल रहेको जग्गाधनी बताउँछन् । मालपोत कार्यालय सिन्धुलीका सूचना अधिकारी पुरुषोत्तम दाहालले मदन भण्डारी र मध्यपहाडी राजमार्गमा परेका जग्गाको अहिलेसम्म लगत कट्टा नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मदन भण्डारी राजमार्गमा एक हजार कित्ताभन्दा बढी र मध्यपहाडीमा पनि पाँच सय कित्ताभन्दा बढी नै जग्गा परेको अनुमान गरिएको छ ।”
दुवै राजमार्ग स्वदेशी लगानीमा बनेको र जग्गाका लगत कट्टा गर्ने बित्तिकै मुआब्जा दिनुपर्ने चर्चा गर्दै सूचना अधिकारी दाहालले थप्नुभयो, “सडकमा परेका जग्गाको मुआब्जा दिने अवस्थामा सरकार छैन । हामीले त्यही बुझेका छौँ । मुआब्जालगायत समस्याका कारण हालसम्म लगत कट्टा नभएको हो ।”
मदन भण्डारी राजमार्ग पूर्वी खण्डका सूचना अधिकारी तथा इन्जिनियर प्रभातकिरण राईले उक्त राजमार्गमा परेको जग्गाको लगत कट्टा गर्न नापी कार्यालयलाई पत्राचार गरिसकेको र त्यो उसको काम भएको बताउनुभयो । नापी कार्यालय सिन्धुलीका प्रमुख सरोज श्रेष्ठले भने मदन भण्डारी र मध्यपहाडी दुवै राजमार्गको लगत कट्टा गर्न अहिलेसम्म कुनै पनि निकायबाट जानकारी नआएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि हामीलाई पत्र आएको छैन । सडक निर्माणका क्रममा लगत कट्टाको प्रक्रियामा नै नगई त्यत्तिकै जग्गा मात्रै अधिग्रहण ग-यो । लगत कट्टा गरी अहिलेसम्म नक्सामा सडकको देखाएको छैन ।”