सभ्यताको क्रमिक यात्रामा मानवजातिले समयको सुदूर अतीतमा ‘पाषाण युग’ (ढुङ्गे युग) भएर गुज्रनुपर्यो। त्यस कालखण्डमा आधुनिक चिजबिजको कुनै सम्भावना नै थिएन । धातुको उत्पत्ति नभएको त्यस कालखण्डमा दैनिक जीवनमा प्रयोग हुने ज्यावल पनि ढुङ्गाकै हुन्थे । अनलाइन विश्वकोश ब्रिटानिकाका अनुसार तीन लाख ३० हजार वर्षअघि मानव पुर्खाले ढुङ्गाको ज्यावल प्रयोग गरेको प्रमाण फेला परेको छ । मानव जाति ढुङ्गासँगै खेल्दै हुर्कंदै अघि बढ्दै गयो।
लामो कालखण्डदेखि ढुङ्गासँगै खेल्दै हुर्कंदै आएका मानव–पुर्खाले समय क्रममा ढुङ्गाको अद्भुत संरचना पनि तयार पार्दै गए। ती संरचनाको रहस्य पत्ता लगाउन नसकेर मानव जातिका सन्तान–दरसन्तान चकित बन्दै आएका छन्। बेलायतमा रहेको स्टोनहेन्ज र मिश्र (इजिप्ट) को पिरामिडलाई मानव निर्मित आश्चर्यजन ढुङ्गे संरचनाको दृष्टान्त मान्न सकिन्छ । स्टोनहेन्ज पूरापूर ढुङ्गाबाट निर्मित संरचना हो भने पिरामिडचाहिँ अधिकतर ढुङ्गा प्रयोग भएको संरचना ।
यी अद्भुत संरचना टनका टन गह्रौँ ढुङ्गा सजाएर तयार पारिएका छन्। आधुनिक युगको क्रेन प्रयोग गर्दा समेत उचाल्न कठिन पर्ने विशाल ढुङ्गा सजाएर तयार पारिएका यी दुई भीमकाय संरचना निर्माण गर्दा अहिलेको जस्तो गह्रुङ्गा वस्तु ढुवानी गर्ने र त्यस्ता वस्तु उचाल्ने अत्याधुनिक प्रविधिको विकास भएको छनक कतै पनि पाइँदैन।
त्यस्तो अवस्थामा पनि दसौँ टन गह्रुङ्गा ढुङ्गाको अद्भुत संरचना कसरी तयार भए ? यसको रहस्योद्घाटन हालसम्म हुन सकेको छैन। यी संरचना कसरी तयार पारिए भन्ने तथ्य अझै पनि रहस्यकै गर्भमा रहे पनि यिनीहरू कति पुराना हुन् भन्ने चाहिँ पत्ता लागेको छ। हिस्ट्री वेबसाइटमा प्रकाशित लेखका अनुसार बेलायतस्थित स्टोनहेन्ज र मिश्रको पिरामिड क्रमशः पाँच हजार र चार हजार पाँच यस वर्ष पुराना मानिन्छन्।
प्राचीनकालको ढुङ्गे संरचनाको चर्चा गर्दा मध्यअमेरिकी ‘माया सभ्यता’ को प्रतीक मानिने ‘मेक्सिकन पिरामिड’ हरूलाई रहस्यमय संरचना मान्ने गरिन्छ। ती भीमकाय पिरामिडमा वास्तुकला र इन्जिनियरिङको बेजोड नमुना भेटिन्छन्। यी पिरामिड इपू १००० देखि ४०० बनेको ‘हिस्ट्री’ वेबसाइटमा उल्लिखित छ । यी पिरामिडको रचनागर्भबारे धेरै कुरा खुल्न बाँकी छ।
यसै गरी भारतको महाराष्ट्रमा पत्थरिलो पहाड काटेर तयार पारिएको अजन्ता गुफा रहस्यमय छ। युनेस्को वेबसाइटमा प्रकाशित सामग्रीका अनुसार यी ढुङ्गे गुफा दुई चरणमा बनेका थिए। पहिलो, ईपू दोस्रो शताब्दी। दोस्रो, इस्वीको पाँचौँ र छैटौँ शताब्दी। विश्व सम्पदा सूचीमा समेत परेका यी गुफाका भित्तामा हिन्दु, बौद्ध तथा जैन धर्मका अमूल्य कलाकृति भेटिन्छन्, जसमा कलाचेतना र धैर्यताको विशिष्ट दृष्टान्त भेटिन्छ।
आधुनिक युगमा विज्ञान र प्रविधिको उच्चतम प्रगति देखेर मगनमस्त हुने हामी प्राचीनकालका निर्मित ती तमाम ढुङ्गे संरचनाको रचनागर्भ, वास्तुचेतना, वास्तुसिल्प, कलाचेतना, कल्पनशील, धैर्य र त्यसमा प्रयुक्त रैथाने प्रविधिमा निहित जादुमय शक्तिका अघिल्तिर नतमस्तक नभई सुखै छैन । यी ढुङ्गे संरचनाबारे विद्वान्हरूबीच अनेकन गहकिला चर्चा परिचर्चा भइरहेका छन् तर पनि यिनीहरूसँग जोडिएका रहस्यको पेटारो सजिलै खुल्ने छाँटकाँट अझै देखिँदैन।
लोकजीवन र ढुङ्गा
मानव सभ्यतासँग युगीन साइनो जोडिएको ढुङ्गालाई लोकजीवनले कहाँ त्याग्न सक्छ र ? त्यसो त ढुङ्गा संसारकै पुरानो निर्माण सामग्री हो। आधुनिक निर्माण सामग्री ट्रक चढेर आउनुभन्दाअघि गाउँघरमा प्रमुख निर्माण सामग्री ढुङ्गा नै थियो। बाइसे चौबिसे शासनकालमा निर्मित असङ्ख्य किल्ला तथा गढीका मुख्य निर्माण सामग्री ढुङ्गा नै थिए । विगतमा मन्दिर, घरगोठ, चौतारी, ढाँटी पौवालगायत हर प्रकारका संरचनामा ढुङ्गा नै प्रमुख निर्माण सामग्री थिए।
ग्रामीण जीवनका सबैजसो पाटो र पोयोहरूमा व्यापक किसिमले ढुङ्गाले साइनो गाँसेको हुन्छ। यसको पुस्ट्याइँका लागि अनेकन दृष्टान्त पेस गर्न सकिन्छ। मसला पिँध्ने सिलौटोसँग हामी सबै परिचित छौँ, जो ढुङ्गाबाट बनेको हुन्छ। ढिकी कुट्न प्रयोग हुने ओखल ढुङ्गबाटै बनेको हुन्छ । जाँतो पनि ढुङ्गबाटै बनेको तथ्य सर्वविदितै छ । अन्न पिस्ने पानीघट्ट ढुङ्गाबाटै बनेको हुन्छ। विगतमा कुखुरालाई पानी खुवाउन पनि ढुङ्गा खोपेर टोड्का तयार पारिन्थ्यो। त्यति मात्र कहाँ हो र ? सलाई र लाइटरको सहज पहुँच हुनुभन्दा अघि चकमक नामक एक प्रकारको पत्थर प्रयोग गरेर आगो पार्ने गरिन्थ्यो।
ढुङ्गासँग मानवीय साइनो सतत र अनन्त छ। हिमाली क्षेत्रमा ढुङ्गामाथि ढुङ्गा खप्ट्याएर शकुन निम्त्याउने चलन छ। कतिपय मन्दिरको मौलो ढुङ्गाबाटै बनेको हुन्छ। विगतमा मन्दिरमा घण्टा झुन्ड्याउने खम्बा र डाँडी पनि ढुङ्गाकै हुन्थे। गाउँघरका कतिपय घरमा ढुङ्गाकै तगारो हुन्छ, जुन अद्यापि भेटिन्छ । यसका अतिरिक्त हँसिया, बन्चरोजस्ता फलामे हतियार उध्याउनका लागि आँगनमा ढुङ्गा राखिन्थ्यो। यसबाट उखानै जन्मिएको छ, ‘टाढाको आरनभन्दा नजिकको हँसिया उध्याउने ढुङ्गा जाती’ ।
ढुङ्गेधारा हाम्रो मौलिक पहिचान हो। यद्यपि आधुनिक विकासे धाराले ढुङ्गेधारालाई बिरानो तुल्याइदिएको छ। हिजोका दिनमा ती ढुङ्गेधारा भेटघाट र वार्तालापका लागि बेजोड किसिमका सार्वजनिक वृत्त बनेको थियो। ढुङ्गेधारामा पँधेर्नीलाई गाग्री बिसाउन सजिलो होस् भनी गग्रेटो निर्माण गरिन्थ्यो, जुन ढुङ्गाबाटै बनेका हुन्थे । गाउँका छोरीचेलीले आफ्ना कुर्कच्चालाई कुखुराको अन्डाजस्तै आकर्षक बनाउन पँधेराको ढुङ्गामा घोट्थे। कुर्कच्चा घोट्दा घोट्दा ढुङ्गामा खोपिल्टो बन्थ्यो।
विगतमा ढाक्रे जीवन र ढुङ्गाबीच गहिरो साइनो हुन्थ्यो। ढाकर बोकेर लामो यात्रामा निस्कँदा बाटोमा बास पर्ने गथ्र्यो। त्यो जुग बेग्लै थियो। होटलको कुनै सुविधा थिएन। ढाक्रेहरूले ढुङ्गा जोडेर अगेनो तयार पार्थे। ढुङ्गाको ओदानमा गुन्द्रुक–ढिडो पकाएर भोको पेट भर्थे । रुखोसुखो गास टिपेपछि राति ढुङ्गाकै सिरानी हालेर चौतारी वा ढाँटीमा मिठो निद्रामा आलिङ्ग हुन पुग्थे। ढाक्रेले ढुङ्गाको सिरानीमा रात बिताउँदा गाउँघरमा कतिपय गर्भवतीले ढुङ्गा खाने गर्थे।
हाम्रा पितापुर्खाले कसैको आर्थिक तथा प्राविधिक सहयोगबिनै गाउँबस्तीमा ढुङ्गा छापेर बनाएका सिँढीदार बाटो बनाए, जो विनाशकारी आधुनिक बाटोघाटोभन्दा कैयौँ गुणा वातावरणमैत्री र विशिष्ट थिए। पश्चिमा प्रविधि र धेरै रकम खर्चेर आयात गरिएका निर्माण सामग्रीको प्रयोगबिना निर्मित यस्ता सिँढीदार बाटोले हाम्रा अग्रजहरूका अविश्रान्त जोश–जाँगर कर्मप्रतिको समर्पणभावको कथा कहिरहेको छ। यससँगै त्यसले स्थानीय स्रोतसाधन र सिपको दरिलो किसिमले साक्षी पनि बकिरहेको छ।
पुरानो समयमा ढुङ्गाखानीबाट निकालिएका सलखालो ढुङ्गाले छाएको घरमा बस्नु इज्जत प्रतिष्ठाको विषय हुन्थ्यो। ढुङ्गाले छाएको घर सम्पन्नता प्रतीक (स्ट्याटस सिम्बोल) बन्न पुग्थ्यो। बहुसङ्ख्यकले ढुङ्गाले घर छाउन सक्दैनथे। खरले छाएको घरमा बस्ने बहुसङ्ख्यक मानिसका अगाडि ढुङ्गाले घर छाएका परिवारको बेग्लै शान–सौकत रहन्थ्यो, जसबाट समाजमा नयाँ सम्भ्रान्त वर्ग उदाएको अनुभूति मिल्थ्यो। अचेल यसको नयाँ संस्करण देखा परेको छ। आधुनिक घरमा अनेकन प्रकारका स्लेट तथा मार्बल प्रयोग गर्ने प्रवृत्तिको ग्राफ निरन्तर उकालो लागिरहेको छ।
ढुङ्गामा खोपिएका अक्षर
लेखनकलाको विकास भएपछि अगणित पुस्तक लेखिए। कति थोत्रिएर गएर गए, कतिलाई धमिराले खाए भने कतिलाई त आगोको लप्काले खाए। यिनै विविध कारण पुस्तकको आयु तुलनात्मक रूपमा कम छ तर ढुङ्गामा खोपिएका अक्षर सबैभन्दा दीर्घजीवी अभिलेख ठहरिए। थुप्रै प्रतिकूल मौसम र घामपानी सहेर पनि ढुङ्गामा खोपिएका अक्षर लामो समयसम्म बाँच्न सके। त्यसैले शिलालेखलाई इतिहास अभिलेखनको महत्वपूर्ण र प्रामाणिक स्रोत मानिँदै आएको छ।
नेपाल विश्वको प्राचीनतम मुलुकमध्ये एक मानिन्छ। यद्यपि लिखित दस्ताबेजको अभावमा नेपालको प्रामाणिक इतिहास उति सारो लामो छैन। लिच्छवि राजा मानदेवले चाँगुनाराण मन्दिरमा विसं ५२१ मा स्थापना गरेको शिलालेख नै नेपालको प्रामाणिक इतिहासको प्रस्थानबिन्दु मानिएको छ। मानदेवको शिलालेखभन्दा अघिको कालखण्डका धेरैजसो ऐतिहासिक प्रसङ्ग जनश्रुति र अड्कलबाजीमा आधारित छन्।
विश्व परिदृश्यमा धेरथोर यही वास्तविकता देखिन्छ। मानव इतिहासमा बुद्धिमान् पुर्खाहरूले थुप्रै कानुन र संहिता तयार पारे होलान् तर हालसम्म जीवित पुरानो कानुनचाहिँ ‘हमुराबी कोड’ नै हो। बेबोलोनका राजा हमुराबी (ईपू १७९२–१७५०) ले ढुङ्गामा लेख्न लगाएको विश्वकै पहिलो र व्यवस्थित लिखित कानुन मानिएको छ । ब्रिटानिकाका अनुसारमा ‘हमुराबी कोड’ मा देवानी, फौजदारी एवं पारिवारिक कानुनका अतिरिक्त व्यापार र कर प्रणालीसँग सम्बन्धित कानुन समेटिएका छन्।
रोजेटा स्टोन ९च्यकभततब क्तयलभ० अर्को महत्वपूर्ण ढुङ्गे दस्ताबेज हो। प्राचीन मिश्रका राजाको तर्पmबाट ईपू १९६ मा जारी गरिएको राजाज्ञा हो। ब्रिटिस म्युजियमको वेबसाइटमा प्रकाशित लेखका अनुसार नेपोलियन बोनापार्टका सेनाले सन् १७९९ मा नाइल नदीको किनारमा अवस्थित रसिद सहरमा रोजेटा स्टोन फेला पारेका थिए।
रोजेटा स्टोन कतिपय प्राचीन अभिलेख खोल्ने बाटो चापी बन्यो। हाइरोग्लिफ लिपिमा लेखिएको त्यो अभिलेख पढ्न जान्ने पुस्ता हराइसकेको थियो। सन् फ्रान्सेली भाषाशास्त्री जाँ फ्रास्वाँ स्यम्पोलियनले सन् १८२२ मा हाइरोग्लिफ लिपि पढ्न सफल भए। यसबाट हाइरोग्लिफ लिपिले पुनर्जीवन मात्र पाएन इतिहासका धेरै आयाम उद्घाटित हुन पुग्यो ।
यी तमाम दृष्टान्तका आधारमा ढुङ्गामा खोपिएका अक्षर वा शिलालेख दीर्घजीवी ऐतिहासिक अभिलेखका रूपमा दरिँदै आएको छ। डिजिटल युगले पनि खोपिएका अक्षरलाई कमजोर ठानेको पाइँदैन।
स्थाननाम
हाम्रा गाउँबस्तीमा ढुङ्गासँग नाम जोडिएका थुप्रै स्थान छन्। जस्तो : ढुङ्गे अड्डा, ढुङ्गेधारा, चिप्लेढुङ्गा, च्यापु ढुङ्गा, ढुङ्गे साँघु, ठूलो ढुङ्गा, ढुङ्गा गाडे, नागढुङ्गा, कालो ढुङ्गा, मालढुङ्गा, अल्छीढुङ्गा, मान्द्रेढुङ्गा, पत्थरघट्ट, ढुङ्गेपानी, सिन्दुरे ढुङ्गा आदि। ढुङ्गे संस्कृतिसँग गाँसिएका यस्ता अजब गजबको नामले हाम्रो सांस्कृतिक इतिहास मात्र रचेको छैन भौगर्भिक परिवर्तनको पदचिह्न पनि छाडेका छन्।
मीनादेखि मणिसम्म
स्थान नाम मात्र होइन व्यक्तिका नाम पनि ढुङ्गाबाट बनेको हुन्छ। हीरा, लाल, रत्न, पन्ना, माणिक्य, नीलम, मीना, मणि आदि शब्दले ढुङ्गाको परिष्कृत रूपलाई जनाउँछन्। ढुङ्गासँग जोडिएका यिनै शब्द व्यक्तिका नाम पनि हुन्। अरू संस्कृतिमा पनि ढुङ्गालाई प्रतिनिधित्व गर्ने नाम भेटिन्छन् । ‘ममी इन्फम्ड’ वेबसाइट (जुन २१, २०२१) मा प्रकाशित एक लेखका अनुसार अलैना ९ब्बिष्लब०, जमा ९व्झmब० र नेल्का ९ल्भपिब० क्रमशः जर्मन, इटालेली र पोलिस भाषाका स्त्रीबोधक नाम हुन्, जसको अर्थ हुन्छ– ढुङ्गा वा पत्थर ।
लोक अभिव्यक्तिमा ढुङ्गा
लोक अभिव्यक्तिको एउटा महत्वपूर्ण पक्ष मानिने उखान टुक्कामा पनि ढुङ्गाको प्रसङ्ग नआई छाड्दैन। लोकबोलीमा ढुङ्गा एक प्रकारको स्वादिष्ट परिकारजस्तै बनेको छ। ‘ढुङ्गा रातो, पेट तातो’, ‘वनको ढुङ्गा, वनकै चरा’, ‘ढुङ्गाले हान्नेलाई फुलले हान्नू’, ‘ढुङ्गा टुसाउनु र उन्युँ फुल्नु एउटै हो’, ‘ढुङ्गा खोज्दा देउता मिल्यो’, ‘ढुङ्गामाथिको तित्रो’, ‘चिन्नु न जान्नु ढुङ्गाले हान्नु’, ‘चुच्चे ढुङ्गो, उही टुङ्गो’ जस्ता रसिला र अर्थपूर्ण उखान टुक्का जनजिब्रोमा झुन्डिएका छन्। जसबाट लोक अभिव्यक्ति चोटिलो र सरसपूर्ण बन्न पुगेको छ।
लोकजीवनको ढुकढुकी मानिने लोकगीत प्राग्ऐतिहासिक कालदेखि नै नाता गाँसिएको ढुङ्गासँग कसरी टाढिन सक्थ्यो र ? ढुङ्गालाई विम्ब, उपमा र तथा अलङ्कारका रूपमा प्रस्तुत गरिएका मार्मिक अभिव्यक्ति लोककण्ठमा छताछुल्ल भेटिन्छन्। जस्तो ः ‘यो मनमा पीर अनि व्यथा छ, ढुङ्गाको मन हुनीलाई के था छ’, ‘मेरो माया छ भने बोल, शिला पत्थर ठोकेको मन खोल’, ‘ढुङ्गे बगर, माया छँदै छ हल्ला नगर’, ‘करिमै कस्तो हो कस्तो, ढुङ्गामाथि छरेको बिउजस्तो’, ‘जूनले पोल्ला ताराले पोल्दैन, ढुङ्गा बोल्ला यो मायाबोल्दैन’ आदि।
दुनियाँको विरोधाभास पनि गजबकै छ। मानव अभिव्यक्तिको कोमलतालाई ढुङ्गाजस्तो कठोर वस्तुले सशक्त र प्रभावकारी तुल्याएको छ। ढुङ्गासँग जोडिएका यस्ता गेयसम्पदाले मानवीय भावनाको कोमलता र मर्मलाई अझ बढी सुललित तुल्याएका छन्। यहीँनेर लोकप्रतिभा कृष्णसुधा ढुङ्गानाले कसैको कठोर मनलाई औँल्याउँदै रोइला भाकामा मार्मिक तवरले मनको बह पोखेका छन् :
ढुङ्गै रै’छ मन
पहरा भए रसाउँथ्यो
फूल भए बसाउँथ्यो
ढुङ्गा र जिजीविषा
ढुङ्गासम्बन्धी काम कतिपयका लागि पेसा बनेको छ। ढुङ्गाखानीमा काम गरेर लालाबालाका पेट भर्ने अभिभावक ढुङ्गो अर्थतन्त्रका इन्जिन हुन्। ढुङ्गाको संरचना तयार पार्न अभ्यस्त डकर्मी निर्माण कार्यका मेरुदण्ड हुन्। तराईमा ढुङ्गाबाट कलात्मक सिलौटो तथा लोहोरो बनाउने समुदाय छ, जो पत्थरकट्टा नामले परिचित छन्। ढुङ्गा कुँदेर सुन्दर मूर्ति बनाउने कलाकारहरूको जिजीविषा ढुङ्गाकर्ममै अडिएको छ। सिमेन्ट उद्योगको मुख्य कच्चा पदार्थ पनि ढुङ्गा नै हो। यसै गरी अनेकन प्रकारका स्लेट तथा मार्बल उत्पादन र बिक्री वितरण गर्ने कार्य ‘निर्माण अर्थतन्त्र’ को अपरिहार्य हिस्सा बन्न पुगेको छ।
ढुङ्गे छापाखाना
नेपालमा छापाखानाको इतिहास खोतल्दा ढुङ्गाको प्रसङ्ग आउँछ। शिव रेग्मी र पी खरेलकृत पुस्तक ‘नेपालमा आमसञ्चारको विकास’ मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरले विसं १९०८ मा बेलायतबाट गिद्दे प्रेस ल्याउनुभन्दाअघि नेपालमा ढुङ्गे प्रेस अस्तित्वमा थियो भन्ने चर्चा छ (रेग्मी र खरेल, २०५८, पृ.४५)। यद्यपि त्यो ढुङ्गे प्रेस कहाँ थियो ? कुन समयमा स्थापना भएको थियो ? त्यसले कसरी काम गथ्र्याे ? यी प्रश्नको उत्तर कतै पनि भेटिँदैन। यसबारे खोजबिन हुन बाँकी नै छ। ढुङ्गे छापाखानालाई समयले राम्रैसँग पछि पारिसकेको वर्तमान घडीमा त्यो कुरा दन्त्यकथा जस्तै भएको छ।
ढुङ्गा र खेल
ढुङ्गाले परम्परागत खेलमा आफ्नो निर्णायक भूमिका खेल्दै आएको छ। बाघचाल यसको एउटा मिठो दृष्टान्त हो। विगतमा गाईबस्तु चराउँदा वा फुर्सदको समयमा चौतारीको ढुङ्गामा कुँदिएका बाघचाल खेलका धर्सामा धेरैले कुशलतापूर्वक मनोरञ्जन लुट्थे। बाल्यकालमा दर्शन ढुङ्गा बटुलेर साथीसङ्गीसँग गट्टा खेलेको सम्झना धेरैको स्मृतिपटलबाट मेटिएको छैन होला। यसै गरी चिप्लेटी ढुङ्गामा सितिती खेलेको सम्झना कतिपय ग्रामीणजनको मनमा जीवितै होला।
विगतमा ढुङ्गाको छेलो हानेर गाउँघरका युवाले बल दाँज्थे। छेलो जित्ने युवा बलवान ठहरिन्थे। छेलो जित्नेलाई अबिरजात्रा गरेर उत्सव मनाइन्थो। यस्तो चलन अहिले पनि झिनो मात्रामा छ। आधुनिक कालमा लोकप्रिय बनेका ‘रक क्लाइम्बिङ’ र छाँगारोहण ९अबलथयलष्लन० जस्ता गतिविधिको सिधा साइनो ढुङ्गासँगै जोडिएको छ।
ढुङ्गाको देउता
हामी प्रकृतिपूजकहरू ढुङ्गा पनि देउता देख्छौँ। भनाइ नै छ ‘ढुङ्गा खोज्दा देउता मिल्यो’ । आस्तिकहरूले जहाँतहीँ देउता देख्छन्। त्यसमा पनि हाम्रो समाजले ढुङ्गामा देउताको छायाँ–छवि देख्छ। यही मान्यताको जगमा उभिएर हाम्रा पूर्वजले देउराली–भन्ज्याङहरूमा असङ्ख्य देवी–देउरालीको प्राण प्रतिष्ठा गरे, जसलाई आस्थाको पाती चढाएर श्रद्धापूर्वक पुज्ने गरिन्छ। मनोकामना पूरा होस् भनी ढुङ्गाको देउतासामु उभिएर शिर झुकाएर प्रार्थना गरिन्छ। हाम्रा लोकभाकामा ‘देउरालीमा पाती चढाउँला’ भनी भाकल गरिएका अभिव्यक्ति भेटिन्छन्।
एउटा क्रुर वास्तविकता
जीवनको अन्तिम सत्यसँग पनि ढुङ्गाको साइनो छ। जीवनलीला सकिएपछि हाम्रो ज्यान ढुङ्गा माटोमै मिल्ने हो। जिउँदो छउन्जेल स्याहार सुसार गरी सजाइएको स्थुल शरीर एक दिन ढुङ्गा माटोकै हिस्सा बन्ने हो। जीवन समापन भएपछि ढुङ्गाको छपनीमुनि चिरनिद्रामा पुग्छौँ। यो हाम्रो नियति नै हो। जुन हाम्रो पूर्वनिर्धारित भाग र भोग हो। गीतै छ नि ‘बाँचुञ्जेल तेरो र मेरो, मरेपछि ढुङ्गैको चौघेरो’ । लोककण्ठमा झुन्डिएको यस मर्मभेदी लोकगीतले मानव चोलाको अप्रिय र क्रुर वास्तविकतालाई प्रस्ट्याउँछ।
बिसौनी
इतिहासको सुदूर कालखण्डमा ढुङ्गाको हतियार प्रयोग गर्ने मानवजाति डिजिटल युगमा आइपुगेको छ। समयले काँचुली फेरिसक्यो। हिजोको ढुङ्गे युगबाट धेरै अगाडि बढेर समयको यस उन्नत बिन्दुसम्म आइपुग्दा मानव जातिको ढुङ्गासँग नाता कायमै छ। हाम्रो इतिहास र जीवनशैलीसँग युगीन नाता गाँस्ने ढुङ्गासँग हाम्रो नाता अविचलित र अटुट छ।