सर्जक किशोर पहाडीको सार्वजनिक अभिनन्दन तथा ‘सृजनशील किशोर पहाडी’ सङ्ग्रह विमोचन कार्यक्रमका लागि २०८० साउन २० गते शनिबार कुमारी क्लब बल्खु पुग्दा लागेको थियो आजको शनिबार त्यसै बित्ने भयो । निमन्त्रणा अनुसार त्रिभुवन आदर्श मावि फर्पिङको पहेँलो बस खोज्दै बल्खु चोकबाट कुमारी क्लब जाँदा बाटोमा एक जना पनि साहित्यकार नदेखिएपछि दोमन भयो, कतै बस गइसकेको त होइन ? तर निर्धारित समयभन्दा करिब छ÷सात मिनेटअघि नै त्यहाँ पुगेकाले बस गइसकेको होइन होला भनेर म निश्चिन्त पनि थिएँ । कार्यक्रमका प्रमुख व्यक्तित्व किशोर पहाडी तथा कार्यक्रममा उपस्थित हुन सक्ने सम्भावित केही व्यक्तिलाई फोन गरेपछि बस भेटियो, ढुक्क भइयो फर्पिङ पुगिने भइयो ।
कीर्तिपुर, सुक्खा बन्दरगाह र खहरे हुँदै फर्पिङतिर अगाडि बढ्दा आनन्दित थियो मन, कारण कीर्तिपुरद्वार कटिसेकपछि केही सफा वातावरण अनुभव गर्न सकिन्थ्यो । हरियो जङ्गल सुरु हुन्थ्यो । फर्पिङ पुग्नासाथ जानकारी आयो, ‘भित्री सहरतिर सर्जक किशोर पहाडीको नागरिक अभिनन्दनको पहिलो चरण अन्तर्गत बाजागाजासहित उहाँलाई नगर परिव्रmमा गराइँदै छ ।’ उमेरको यो गौँडासम्म आइपुग्दा शक्ति प्रदर्शनका लागि, प्रायोजित, पैँचो तिर्न र खुद सम्मानका लागि गरिएका विविध नागरिक अभिनन्दनको अनुभव गरिएको छ । सर्जक किशोर पहाडीलाई गरिएको नागरिक अभिनन्दन खुद सम्मानमा गरिएको थियो भन्ने प्रमाण नगरपरिक्रमामा सहभागीको वय चित्रले स्पष्ट गथ्र्यो । ज्येष्ठ, कनिष्ठ, महिला, पुरुष, बिरामी, अशक्त, किशोरकिशोरी, कृषक, व्यापारी को थिएनन् त्यो परिक्रमामा ? त्यहाँ थिए नागरिकका कर्तलध्वनि र सहयात्रा, सहर्ष तथा शुभकामनाका शब्द सन्देश । रमझम थियो झम्केश्वरी डबली । दक्षिणकाली नगरपालिका, सो नगरपालिकाको वडा नं. ६ र स्थानीय सुसेली साहित्यिक प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रम समग्रमा आमनगरबासीले गरेको संयुक्त अनुष्ठान जस्तो लाग्थ्यो ।
परिचित हाँसिलो अनुहार, शान्त शैलीमा परिक्रमाका सहभागीको भिडमा देखिन्छ, जो अभिनन्दन ग्रहण तथा ज्ञापन गर्न व्यस्त छ, जसको अनुहारले खोजिरहेको देखिन्छ दामलीहरू, अग्रज तथा अनुजहरू । उसको अनुहारका कुनै हरफमा पढ्न सकिन्थ्यो– ‘सायद मैले समयभन्दा पहिले नै धेरै पाएको त होइन ?’ भन्ने विनयशील भाव । कताकता सङ्कोच, कताकता विभोर, कताकता, आश्चर्यका शुष्क हावाले छोए जस्तो अनुहार । त्यो अनुहार थियो– भाग्यमानी सर्जक किशोर पहाडी उर्फ किशोरमान श्रेष्ठको । भाग्यमानी किशोर कि, सृजनशील किशोर को अभिनन्दित भएको हो भन्ने विवाद नगरौँ । अभिनन्दन सृजनशील किशोर पहाडीकै भएको हो तर नेपालमै पहिलो पटक स्थानीय सरकारले आफ्नो माटोमा जन्मेका सर्जकलाई यो स्तरको जुन सम्मान गरेको थियो त्यो प्राप्त गर्ने पहिलो नेपाली ‘भाग्यमानी’ किशोर पहाडीको अभिनन्दन गरिएको हो भन्नु पनि सान्दर्भिक नै हुने छ । उपस्थित सबै सर्जकले हृदयतः भनेका थिए– दक्षिणकाली नगरले मुलुकभरका लागि उदाहरणीय र प्रशंसनीय कार्य गरेको छ, एक सर्जकलाई सम्मान गरेर ।
नगरपालिकासहित विभिन्न २० वटा सङ्घसंस्थाको सहभागितामा गरिएको सर्जक पहाडीको सार्वजनिक अभिनन्दनले सर्जकको महत्वलाई शिखरमा पु¥याएको अनुभव हुन्थ्यो । थैलीसहित केही सर्जकलाई पुरस्कार दिइएको भए परम्पराको निर्वाह हुने थियो तर दक्षिणकाली नगरले परम्पराको निरन्तरता मात्र होइन नयाँ अभ्यास थालनी गरेको छ । थैली होइन थालनी । दक्षिणकाली नगरले बुझेको हुनु पर्छ, कुनै पनि सर्जकलाई उसको सव्रिmय जीवनमै गरिएको यस्ता अभिन्दनीय सम्मानले उदाउँदो सर्जक पुस्तालाई प्रेरणा दिने छ । वाङ्मय प्रेरणाको फराकिलो परिवेशमा झाँगिन्छ न कि पुरस्कारको साँगुरो गमलामा । नगर प्रमुख मोहन बस्नेतले निशङ्कोच भनिदिनुभयो– हामीले साहित्य र यसको सामथ्र्यलाई कम तौलको पदार्थ ठानेका रहेछौँ, केही ढिला भयो तर सम्मानको सुखद परम्परा बसेको छ । परम्परा थप झाँगिने छ । विकास भनेको भौतिक संरचनाको विस्तार मात्र होइन मानव मूल्य, मान्यतामा समयानुकूल परिवर्तन गर्न सक्नु पनि विकास हो । यस्तो काम साहित्यले गर्छ । यसैका लागि सर्जक किशोर पहाडीको सम्मान गरिएको हो ।
सर्जक किशोर आफ्नो व्यक्तिगत सम्मानभन्दा पनि यस क्षेत्रमा साहित्यको विकासका लागि पालिकामार्फत भएका कार्यप्रति आभारी हुनुहुन्छ । भन्नुहुन्छ– “मैले जे गर्न सकेँ त्योभन्दा धेरै सम्मान पाएको छु । रमणीय दक्षिणकाली नगरको पहिचान, कथा तथा दृश्यलाई साहित्यमा चित्रित गर्ने छु, अनुबन्धित गर्ने छु, ती कार्य गर्न बाँकी नै छ ।” सर्जक किशोर पहाडीको सन्दर्भमा डा. शेखरकुमार श्रेष्ठ ‘मोतीराम भट्ट’ मानिनु हुन्छ । पहाडी भन्नुहुन्छ– “म भानुभक्त हुन नसकँुला तर फर्पिङ क्षेत्रको साहित्यिक विकासमा डा. शेखर मोतीराम हुनुहुन्छ ।” ‘सृजनशील किशोर पहाडी’ सङ्ग्रहको संयोजन, सम्पादन, प्रकाशन तथा विमोचन गराएर डा. श्रेष्ठले किशोरलाई थप प्रोज्ज्वल बनाउने सुकीर्ति गर्नुभएको छ । यति मात्र होइन, अन्य पुस्तक पत्रिकाको लेखन सम्पादन, जननेत्र पुस्तकालय, सुसेली साहित्यिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनमा सक्रियता, स्थानीय साहित्यिक–सांस्कृतिक गतिविधिमा डा. श्रेष्ठले आफूलाई समर्तित गर्नुभएको छ । किशोर पहाडीको सम्मानमा आयोजित औपचारिक कार्यक्रमको व्यवस्थापन, सञ्चालन तथा अतिथि सम्मानमा मात्र नभएर नगरको साहित्यिक विकासको खाका कोर्न डा. शेखरले कुनै कसर बाँकी नराख्नु भएको जानकारी थाहा पाएर अभिनन्दन कार्यक्रममा उपस्थित साहित्यकार गद्गद् देखिन्थे, साहित्यको उत्थानमा आफ्नो अनुहारको सुन्दर दृश्य देखेर ।
डा. श्रेष्ठको सक्रियतालाई पालिकाले हरसम्भव सहयोग गरेको छ । दक्षिणकाली नगरले साहित्यको विकासलाई यिनै समर्पण तथा सहयोगको सङ्गम बनाएको छ । ‘साहित्यको उन्नयनका सन्दर्भमा’ नगरप्रमुख बस्नेततिर सङ्केत गर्दै डा. श्रेष्ठ भन्नुहुन्छ, “उहाँ त नगरप्रमुख मात्र होइन नगरपिता नै हुनुहुन्छ,” जसले संस्कृति, कला, साहित्यको संरक्षण तथा संवर्धनमा अभिभावकीय भूमिका निर्वाह गर्नुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णविभु घिमिरेले आफ्ना विचार व्यक्त गर्नुभयो, “राजनीतिलाई पनि बाटो देखाउने शक्ति साहित्यले राख्छ ।” उहाँले स्थानीय तहहरूले साहित्यको विकासलाई प्राथमिकतामा राखेर राष्ट्रिय राजनीति सङ्ल्याउने पहल गर्नु पर्छ भन्दै गर्दा किशोरका सखा कवि विश्वविमोहन श्रेष्ठ भन्दै हुनुहुन्थ्यो– “किशोर अप्ठेरो मानिस हो ।” कवि श्रेष्ठले उदाहरण दिँदै भन्नुभयो– “आत्मसम्मानमा ठेस लागेको अनुभव गरेपछि सर्जक पहाडीले राष्ट्रिय युवा वर्ष मोती पुरस्कार बहिष्कार ग¥यो ।” सम्मानित हुनु किशोरको अभीष्ट होइन तर योगदानको सम्मानले किशोरलाई प्रेरित गर्ने छ, किशोरमा लेखनप्रतिको स्वाभिमान उचालिने छ, सर्जक पहाडी आत्मस्वाभिमानमा नडग्ने प्रतिभा हुनुहुन्छ ।
मातापिता गोविन्दमान तथा मीरा श्रेष्ठका पुत्र किशोरको जन्म हालको दक्षिणकाली नगरपालिका वडा नं.६ कोटाल टोलमा २०१३ मङ्सिर २४ गते भएको हो । सम्भवतः भानुजयन्तीका दिन २०२९ असारमा आफू अध्ययनरत त्रिभुवन आदर्श माध्यमिक विद्यालय फर्पिङमा सुनाउनु भएको ‘नव भानु तिमी नेपाली नव नभका’ कविताले किशोरलाई सर्जक बनाएको हो । विसं. २०२८ मा नयाँ सन्देश पत्रिकामा ‘म के जवाफ दिउँ’ कथा प्रकाशन गरी औपचारिक लेखनमा सक्रिय रहनु भएका सर्जक पहाडीका कथा, कविता, बालकथाका सङ्ग्रह र फुटकर रूपमा निबन्ध र नाटक पनि प्रकाशित छन् ।
स्थापित कथाकार किशोरले कविता तथा नाटक लेखन र मञ्चनमा विशिष्ट पहिचान बनाउनु भएको छ । रङ्गमञ्च र डबलीमा प्रदर्शन गरिने नाटकलाई सडकमा प्रदर्शन गर्न, गराउन किशोरले उल्लेख्य योगदान दिनुभएको छ । सम्झनु हुन्छ सडक नाटकका ती दिन र अशेष मल्ल, सुनील पोखरेल, गोविन्दमान सिंह राउतलगायतको सङ्गत । नाटक तथा टेलीसिरियलको लेखन तथा अभिनयमा जम्नुभएका किशोर देशमा लेखन वातावरण नभएका बेला सडक कविता आन्दोलन (२०३६) मा होमिनु भयो । भवानी घिमिरेको नेतृत्वमा अशेष मल्ल, गोविन्द गिरी प्रेरणा, गगन विरही, वनमाली निराकार र आफूलगायतको सहभागिताले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई दिएको योगदानले किशोर पहाडीलाई सन्तोष दिन्छ । पदीय प्राप्ति र लाभहानिभन्दा टाढा रहन रुचाउने किशोरले सृजनशील कर्म र शब्दपथ (साहित्यिक ब्लग) मार्फत लेखनलाई साधन होइन साधना बनाउनु भएको छ ।
चेतनामा विद्रोही किशोर व्यवहारमा विनयशील हुनुुहुन्छ । किशोरले आफूसँगै अभिनन्दनको शृङ्खला जोड्नु भयो । आफूलाई पढाउने शिक्षक सर दानियल खालिङ र फणिन्द्रराज खेतालालाई सशब्द अभिनन्दन गर्नुभयो । एक मात्र जीवित शिक्षक गीर्वाणनाथ शर्मालाई कार्यक्रम स्थलमा चरणस्पर्श गर्दै दोसल्ला र मालाले सम्मान गर्नुभयो । आफ्नै समीपमा राखेर वाद्यगुरु मोहननारायण बलामीलाई यसरी नै अभिनन्दन गर्नुभयो । यस्तो लाग्थ्यो, पूरै कार्यक्रम अभिनन्दनमय छ । यसअघि कार्यक्रममा सत्य स्वीकार गर्दै भनिएको थियो– हरेक सर्जक सफल हुन उसको जीवन साथीको ठुलो भूमिका रहन्छ । यसै कारण सर्जक पहाडीसँग उहाँकी पत्नी रुक्मिणी श्रेष्ठको पनि नागरिक सम्मान गरियो । नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङ, वडा नं. ६ का साहित्यप्रेमी अध्यक्ष शैलेश मानन्धर, सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्र, सर्जक अप्सरा भूर्तेल, आदर्श माविका भाइबहिनीलगायतको आतिथ्यताबाट छुट्टिएर कुमारी क्लब, बल्खु फर्कंदै गर्दा लाग्यो, ‘फर्पिङ नगएको भए आजको शनिबार त्यसै बित्ने रहेछ ।