कोशी प्रदेश ब्युरो
विराटनगर, भदौ ९ गते ।अविरल वर्षाका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । कोशी प्रदेशको हिमाली तथा पहाडी जिल्लामा पहिरो जाने समस्या बढेको छ भने तराईका जिल्लाहरू डुबानको चपेटामा परेका छन् । केही पहाडी जिल्लाका विभिन्न स्थानमा गएको पहिरोका कारण राजमार्ग तथा सडकसमेत अवरुद्ध बनेका छन् । त्यस्तै वर्षाका कारण सप्तकोशी नदीलगायतका ठुला तथा साना नदी र खोलानालामा आएको बाढीका कारण आसपासका बस्तीमा जोखिम बढेको छ ।
श्रीलङ्का टापुमा कटान तीव्र
सुनसरीस्थित श्रीलङ्का टापुमा कटान बढ्दै गएपछि स्थानीय बासिन्दाले कटान रोक्न रुख काटेर नदी किनारमा हाल्न थालेका छन् । असारदेखि नै कोशी नदीले गरेको कटान नरोकिएपछि टापुवासी मिलेर नदी किनारमा रुख हाल्दै आएका हुन् ।
श्रीलङ्का टापुको शिवालय टोलको कोशी नदी किनारमा नदीको बहाव रोक्न रुख काटेर हाल्न थालेको स्थानीय अनिल चन्द्रवंशीले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन दिनदेखि तारले बाँधेर नदी किनारमा रुख हाल्ने गरेका छौँ । टापु क्षेत्रमा भएका बयर, जुलेबीका ७० वटा रुख काटेर नदी किनारमा हालिसकेका छौँ ।” हाँगासहितको रुख हाल्दा कटान कम हुने भएकाले रुख हालेको उहाँले बताउनुभयो ।
हरेक वर्षायाममा कोशीले कटान गरेर दुःख दिने गरेको टापुका सन्तोष मण्डलले बताउनुभयो । उहाँले भन्नुभयो, “अरू वर्षभन्दा यो वर्ष एक किलोमिटरभन्दा बढी नै कटान गरेर टापुवासीको उठिबासै लगाउन आँट्यो । भदौ कहिले जान्छ जस्तो भएको छ ।”
कोशीको केही बहाव पश्चिमतर्फ रहेकाले टापुमा कटान भइरहेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ मा पर्ने टापुमा कटान भइरहेको होे । कटान भएसँगै नदी उकासमा रहेका टापुका घरहरू सार्ने काम भइरहेको टापुका स्थानीय विनोद मण्डलले बताउनुभयो । टापुमा असारदेखि नै कोशीले सामान्य कटान गर्दै आएको थियो । कटानको जोखिममा परेको वराहक्षेत्र–९, गरैया टोलका विश्वनाथ उराव, राजेश उराव र अजमलाल उरावको फुसको घर यसअघि नै सारिएको छ ।
उहाँका अनुसार नदी उकासमा रहेका क्षेत्रमा कोशीले कटान गरिरहेको छ । पश्चिमतर्फको भूभाग कटान गर्दा श्रीलङ्का टापुका बस्ती नै जोखिममा पर्दै गएको वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोशी कटान नियन्त्रण गर्न तत्काल जिल्ला प्रशासन र गृह मन्त्रालयमार्फत विहार सरकारको ध्यानाकर्षण गराउन पहल गरेको छु ।”
सप्तकोशी कटानका कारण सुनसरीको वराहक्षेत्र नगरपालिका, उदयपुरको बेलका नगरपालिका र सप्तरीको कङ्कालिनी हनुमाननगर नगरपालिका, कोइलाडी तिलाठी र छिन्नमस्ता नगरपालिकाको कोशी किनार क्षेत्रमा पर्ने दर्जनौँ बस्ती जोखिममा छन् । चारैतिरबाट कोशी नदी सुसाउँदै बगिरहने भएकाले हावापानी ठन्डा र वातावरण स्वच्छ रहेको टापुमा अन्न उब्जनी प्रशस्त मात्रामा हुने गरेको छ ।
स्पर मर्मतमा भारतीय सक्रिय
सप्तकोशी नदीका विभिन्न स्परमा सामान्य कटान भइरहेकाले त्यसको नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्ध तथा स्परको मर्मत जारी छ । केही दिनयता कोशीमा पानीको बहावमा उतारचढाव कायम रहेकाले नदीले निकै स्थानमा सामान्य कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाएको भारतीय प्राविधिकहरूले बताएका छन् ।
अहिले बढेको खतरा नियन्त्रणका लागि मर्मत गर्ने ठाउँमा ‘प्रोकोपाइन’, तारजाली र बोरामा माटो तथा बालुवा हालेर राख्ने कार्य जारी छ । नेपाल–भारत दुईदेशीय उच्चपदस्थ पदाधिकारीको टोलीले गरेको स्थलतगत अध्यननका व्रmममा कुनै काम बाँकी नराख्न दिएको निर्देशन अनुसार मर्मतसम्भार गर्ने, ‘प्रोकोपाइन’, तारजाली र बोरामा माटो तथा बालुवा हालेर राख्ने कार्यलाई निरन्तरता दिइएको छ ।
अहिले दैनिक जसो कोशीको वस्तुस्थिति अध्ययन गर्दै निगरानीका साथ तटबन्ध र स्पर मर्मतको कार्यलाई अघि बढाइएको छ । कोशीको स्पर मर्मत गर्ने ठाउँमा भेटिएका कामदार एमके यादवका अनुसार कटान पानी कमबेसी हुँदा हुने भएकाले त्यसलाई ध्यानमा राखेर कतै प्रोकोपाइन त कतै तारजाली राखिएको छ ।
मदन भण्डारी राजमार्ग अवरुद्ध
केही दिनदेखि लगातार परेको सिमसिमे वर्षासँगै उदयपुरको जनजीवन प्रभावित बनेको छ । बजार, पसल, सरकारी कामकाज, विद्यालयको पठनपाठन र यातायातलगायतका गतिविधि प्रभावित बनेको हो ।
वर्षाकै कारण माथिबाट झरेको पहिरोले विभिन्न ठाउँमा सडक पुरेपछि मदन भण्डारी राजमार्गको गाईघाट–नेपालटार खण्डमा शुव्रmबार बिहानैदेखि यातायात सेवा अवरुद्ध भएकोछ । यसअघि पनि सोही स्थानमा साउन २८ गते पहिरो खसेर तीन दिन उक्त सडक अवरुद्ध बनेको थियोे ।
उदयपुरगढी गाउँपालिका–६ स्थित मौवासी खोला पुल नजिक र राईटोल भन्ने स्थानमा माथिबाट पहिरो खसेको तथा नेपालटारपूर्व बागखोर भन्ने स्थानमा रुख ढलेर सडक अवरुद्ध भएको छ । सडकमा थुप्रिएका पहिरो र रुख पन्छाउने प्रयास भइरहेको तर पानी जस्तै भएर लगातार माथिबाट पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालन गर्न सकिने अवस्था नरहेको यहाँस्थित गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख डिई गोपालप्रसाद खकुरेलले बताउनुभयो ।
सडकमा थुप्रिएको माटो, लेदो, रुख र ढुङ्गा पन्छाउन आयोजना कार्यालयबाट डोजर एक्साभेटरलगायतका मेसिन परिचालन गरिएको तर धेरै ठुलो पहिरो गएकाले सशस्त्र र जनपद प्रहरीलगायतका सुरक्षा निकायसमेतको सहयोग लिएर जतिसक्दो चाडो अवरुद्ध सडक खुलाउन लागिपरेको उहाँले बताउनुभयो । जति पन्छायो त्योभन्दा धेरै माथिबाट पहिरो खस्ने व्रmम नरोकिएकाले अझै केही दिन लाग्ने उहाँको भनाइ छ ।
शुव्रmबार बिहानैदेखि पूर्वबाट राजधानी काठमाडौँ र काठमाडौँबाट पूर्वतर्फ हिँडेका कैयाँै सवारी साधन वारिपारि सडकमा जाम लागेकाले प्रहरी सुरक्षाकर्मीको सहयोगमा पूर्वतर्फका सवारीलाई त्रियुगा नगरपालिका–७ को चुहाडेबाट लहानतर्फ र पश्चिमतर्फका सवारीलाई कटारीबाट मिर्चैयातर्फ फर्काइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।
उहाँका अनुसार सरकारी कामकाजका लागि सधैँजसो सेवाग्राहीको भिड हुने जिल्ला प्रशासन, मालपोत, नापी कार्यालय र बैङ्क तथा वित्तीय संस्थाहरूमा समेत शुव्रmबार उपस्थिति न्यून छ । उता चतराघाटस्थित सप्तकोशीमा शुव्रmबार बिहान पानीको बहाव यो वर्षको अहिलेसम्मकै उच्च रहेको छ । चतरास्थित कोशी पुलमा शुव्रmबार बिहान दुई लाख २८ हजार क्युसेक पानीको बहाव रहेको र यो ठाउँमा यति धेरै पानी मापन गरिएको पहिलो रहेको प्रजिअ गौतमले बताउनुभयो । यति बेलासम्म बाढीबाट जिल्लाभरि कहीँ कतैबाट पनि कुनै जनधनको क्षति भएको भन्ने विवरण नआएको पनि उहाँले बताउनुभयो ।
सिद्धिचरण लोकमार्ग अवरुद्ध
निरन्तरको वर्षाका कारण आएको पहिरोले ओखलढुङ्गास्थित सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सिद्धिचरण लोकमार्गमा पर्ने मानेभन्ज्याङ गाउँपालिका–४, भुसुनेमा सडकमा क्षति पुग्ने गरी गएको पहिरोले सडक अवरुद्ध बनाएको हो । शुव्रmबार बिहान आएको पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएपछि ओखलढुङ्गा र सोलुखुम्बुबाट राजधानी काठमाडौँ र तराईका जिल्लाका लागि छुटेका सयौँ सवारी ओखलढुङ्गाको मिलनचोक, रमाइलो डाँडा र भुसुने क्षेत्रमै रोकिएका छन् । पहिरोले सडक अवरुद्ध भएको क्षेत्रमा अस्थायी प्रहरी पोस्ट केतुकेबाट प्रहरी टोली खटिएको र अवरुद्ध सडक खुलाउनेबारे स्थानीय तहसँग आवश्यक पहल भइरहेको उहाँको भनाइ छ । निरन्तर वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।
यसैबिच जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ओखलढुङ्गाका प्रमुख अनिल पराजुलीका अनुसार पछिल्लो २४ घण्टामा ९७.६ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले अनुरोध गरेको छ । रबुवाबजार बाढीमापन केन्द्रका अनुसार दुधकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको छ । सुनकोशी नदीमा पानीको बहाव बढेको छ । मोलुङ खोला, लिखु नदीलगायत अन्य साना तथा ठुला नदी, खोला आसपासमा बसोबास गरिरहेका नागरिकलाई सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
(वराहक्षेत्रबाट बाबुराम कार्की, इनरुवाबाट जयकृष्ण यादव, उदयपुरबाट भक्तिविलास पोखरेल र ओखलढुङ्गाबाट शेरबहादुर राईको सहयोगमा)