खजुरा समाचारदाता
खजुरा (बाँके), वैशाख १८ गते । रत्ना सार्की अहिले ३९ वर्षकी हुनुभयो । कोहलपुर नगरपालिका वडा नम्बर ५ बाँकेकी रत्ना विगत केही वर्षदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको छ । तर उहाँ जीवनदेखि निराश हुनुभएको छैन । रोगका कारण आफूसँग भएका सम्पत्ति बेचबिखनसमेत उहाँले गर्नुभयो । घर व्यवहार र उपचारका लागि रकमको अभाव भएपछि उहाँका श्रीमान् वैदेशिक रोजगारमा जानुभएको छ । उहाँले हाल आफूले सिकेको सिप अरूलाई सिकाउने गर्दै आएको छ ।
रत्नाले २०५७ सालमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेबाट सिलाइकटाइसम्बन्धी तालिम पनि लिनुभएको थियो । सिलाइकटाइ तालिम लिएपछि जीविकोपार्जनका लागि नेपालगन्जको राँझामा सिलाइकटाइको पसल पनि सुरु गरेको उहाँले बताउनुभयो । पसल सञ्चालनकै क्रममा रत्नालाई स्वास्थ्य समस्या देखियो । उपचार गर्न जाँदा घाँटीमा क्यान्सर भएको फेला पर्यो । त्यसपछि भने उहाँका जीवनका दुःखका दिन आए ।
“पसलबाट राम्रै आम्दानी भइरहेको थियो, घरखर्च चलिरहेको थियो, एक्कासि बिरामी भए, उपचार गर्न जाँदा घाँटीमा क्यान्सर भएको पाइयो, उपचारका लागि पसल बेच्नु पर्यो, ऋणधन गर्नु पर्यो,” रत्नाले भन्नुभयो, “अझै पनि उपचार चलिरहेको छ, घरखर्च चलाउन र मेरो उपचार खर्च धान्नका लागि श्रीमान् विदेश जानुभयो, टोलसमाजमा पनि क्यान्सर भएको र दलित महिला भएको भन्दै कसैले सहयोग समेत गरेनन् ।”
रत्नाले अहिले भने पहिलो पटक आफूले जानेको सिप अरूलाई बाँड्नका लागि प्रशिक्षकका रूपमा काम पाउनुभएको छ । कोहलपुर नगरपालिका महिला बालबालिका उपकरण उपशाखाले केही दिनअघिदेखि कोहलपुरमा बादी तथा गन्धर्व महिलालाई सञ्चालन गरेको ४५ दिने सिलाइकटाइ तालिमको प्रशिक्षकका रूपमा काम गर्न थाल्नुभएको छ । “क्यान्सरसँग लड्न थालेको नौ वर्ष भयो, सबैले मर्छे मर्छे भन्थे, क्यान्सरकै कारण अनेकौँ चुनौती र समाजबाट अपहेलितसमेत भए, यस्तो बेलामा मलाई मेरो श्रीमान्बाट अत्यन्तै साथ र सहयोग मिल्यो, उहाँ नभएको भए सायद अहिले हुने पनि थिइन होला,” उहाँले भन्नुभयो, “श्रीमान्का कारण आत्मबल बढ्दै गयो, विस्तारै मनबाट रोगलाई जित्दै गएँ, समाजलाई केही गरेर देखाउने मनमा आँट आयो, अब त यो प्रशिक्षकको भूमिका पाएपछि झनै ठुलो आशा र विश्वास बढेको छ ।”
उहाँले आफ्नै घर नहुँदा अहिले कोहलपुर–११ दिदीको घरमा दुई छोरी र एक छोराको साथ आएर बसिरहेको जानकारी दिनुभयो ।