बुटवल समाचारदाता
बुटवल, वैशाख १८ गते । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले तीन वटा निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिनुभएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने, आर्थिक वर्ष २०८२/८३ मा स्थानीय तहमा बाँडफाँट हुने सवारीसाधन करको अनुमानित सीमा पठाउने र प्रदेशमा जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयकको मसौदा तयार पार्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पेस गरेको सचिवहरूको जिम्मेवारी तोक्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । उक्त निर्णय अनुसार वसन्तप्रसाद कोइरालालाई सामाजिक विकास मन्त्रालय र प्रमोद भट्टराईलाई वन तथा वातावरण मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी तोकिएको छ । त्यसै गरी आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको आव २०८२/८३ मा स्थानीय तहमा बाँडफाँट हुने सवारीसाधन करको अनुमानित सीमा पठाउने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।
यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न विधेयकको मसौदा तयार गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।