• १३ साउन २०८१, आइतबार

आलु विकास केन्द्रमा आलुको बीउ तयार

blog

इलामको सीमावर्ती क्षेत्र जौवारिमा रोपिएको आलु खन्दै श्रमिकहरू । तस्बिर: कोकिला

कोकिला ढकाल

इलाम, भदौ ८ गते । इलामको उत्तर पूर्वी सिमाना जौवारिमा रहेको आलु विकास केन्द्रले नयाँ आलु खन्न थालेको छ । अहिले खन्न थालिएको आलुलाई केन्द्रले बीउका रूपमा किसानहरूलाई उपलब्ध गराउने गरेको छ । 

केन्द्रले यो वर्ष ९० रोपनी जमिनमा आलु लगाएको थियो । २५ मेट्रिक टन आलु उत्पादन गर्ने लक्ष्य राखेको केन्द्रले अहिले सम्म २१० मन आलु खनिसकेको जनाएको छ । अहिले सम्म एक सय मन जनक देव, ५० मन खुमल उपहार, ३० मन डेजिरे र ३० मन स्थानीय बिटे जातको आलु खनिसकेको जनाइएको छ । 

प्रतिकिलो ८० देखि ८५ रुपियाँका दरले मूल्य निर्धारण गरिएको यहाँको आलुको बीउ जात अनुसार मूल्य फरक–फरक रहेको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी वर्देवाले बताउनु भयो । उहाँका अनुसार उद्योग कृषि तथा सहकारी मन्त्रालयले नै निर्धारण गरेको मूल्य खुमल उपहार, डेजिरे र जनकदेवको प्रति कलो ८५ रुपियाँ छ भने बिटेको प्रतिकिलो ८० रुपियाँ छ ।  अहिले खनिएको आलु १५ दिन सुकाए पछि बिक्रीका लागि योग्य हुने वर्देवाले जानकारी दिनु भयो । आगामी असोज पहिलो साता देखि बिक्रीका लागि निवेदन माग गर्ने र माग अनुसार बीउ बिक्री गर्ने लक्ष्य राखिएको जनाइएको छ । ‘जौबारी पुग्न यातायातको सहज पहुँच नभएकाले यो वर्ष स्थानीय पालिकाहरू सँग समन्वय गरेर किसान सम्म बीउ पुर्याउने लक्ष्य छ ।’ वर्देवाले भन्नुभयो । 

साउनमा उत्पादन भएको बीउ तल्लो भेग अर्थात् कम उचाइमा बस्ने किसानले हिउँदे आलु लगाउने र लेकका किसानले भने अर्को वर्ष बर्खे आलु नै रोप्ने गरेका छन् । जौवारिमा चार सय दश हेक्टर सरकारी जग्गा रहेको छ । आलु विकास केन्द्र र कृषि अनुसन्धान केन्द्रले करिब छ हेक्टर जमिन मात्र प्रयोग गरिरहेको बताइएको छ । बाँकी जमिन खाली छ, बाली, बीउ लगाउन घेरा बारा नगरी वन्यजन्तु र अत्यधिक चिसोका कारण  समस्या हुने गरेको जनाइएको छ ।