• २० असोज २०८१, आइतबार

बैतडीको पञ्चदेवलमा प्राचीन गौरा प्रदर्शन

blog

लाखे नृत्यगरी बैतडीको पञ्चदेवलमा गौरा मनाइँदै । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, भदौ ७ गते । बैतडीको पञ्चदेवलमा शरीरभरि रुखका पात लगाएर लाखे नृत्यसहित प्राचीन गौरा पर्व मनाइएको छ । बैतडी सदरमुकाम नजिकै रहेको पञ्चदेवल मन्दिरमा गौरामा मात्रै लख्या (लाखे) नाच नाचिन्छ । पुरातात्त्विक विभागले देवलको संरक्षण गर्दैआएकोछ । पञ्चदेवल हुलाक टिकमा समेत अङ्कित छ । 

दशरथचन्द नगरपालिका–४, देवलहाटमा रहेको पञ्चदेवलमा हरेक वर्ष मनाइने गौरा पर्वका दिन मुख्य आकर्षणका रूपमा लाखे नाच रहनेगरेको छ । लाखे नाच हेर्ने यहाँ भारतबाट समेत दर्शनार्थी आउनेगरेका छन् ।  

स्थानीय भट्ट र मार्कण्ड जातिका पाँच वा सात जनाले शरीरमा लुगा नलगाई पवित्र रुखविरुवाका पातले शरीर ढाकेर हातमा त्रिशूल समातेर लाखे नाच नाच्दै गौरा मनाउने चलन छ ।  

स्थानीय भट्ट  र मार्कण्ड जातिका मानिसलाई लाखे नाच नाच्ने जिम्मेवारी हुन्छ । लाखे नाच नाच्न मन्दिरबाट एकसय मिटर दूरीमा रहेको सुकनाली कुवामा स्नानगरी शरीरमा तरुलका लहरा, केराको पात अन्य आयुर्वेदिक लहरा र पात प्रयोग गरिन्छ ।  

लाखे नृत्यमा सहभागी हुनेले कमेरो, रातो माटो र खरानीको टीका लगाउने चलन रहेको स्थानीय जानकार ईश्वरीदत्त भट्टले बताउनुभयो । लाखे नृत्यमा शिवको भजन गाइने उहाँले बताउनुभयो ।  

पाण्डवकालीन समयमा निर्माण भएको विश्वास गरिदैंआएको पञ्चदेवलमा मात्रै यस्तो लाखे नाच रहेको संस्कृतिका जानकार उद्धव मार्कण्डले बताउनुभयो । उहाँले व्रतालु महिलाले बिरुँडाको प्रयोग गरी पार्वतीको पूजा गर्दा पुरुषहरूले शिवको आराधना गर्दै लाखे नाच नाच्ने परम्परा रहेको उहाँले बताउनुभयो । 

शिखर वास्तुशालीमै सुर्किको प्रयोग गरी निर्माण गरिएका सातवटा देवल रहेको स्थानलाई पञ्चदेवल नामले प्रसिद्ध छ । पुरातात्त्विक विभागले पञ्चदेवलको जीर्णोद्धार गर्दै आइरहेको छ । पञ्चदेवलमा प्राचीनकालका ढाल, तरबार र सुनचाँदीका भाँडावर्तन रहेका छन् ।

 पञ्चपरेवली गौरा

पञ्चदेवलमा मनाइने गौराको नाम नै पञ्चपरेवली (पाँचभन्दा बढी परिवार) का नामले मनाइँदैआएको छ । मार्कण्ड जातीका भण्डारे र भट्ट जाती पुजारी रहने परम्पराअनुसार चन्द, भण्डारी, ठगुन्ना, बोहरा, तिरुवा र सार्की जातिका मानिस मिलेर गौरा मनाउने परम्परा रहेको स्थानीय संस्कृतिका जानकार ईश्वरीदत्त भट्टले बताउनुभयो । 

महिलाले निराहार व्रत बसेर गौरीको पूजा गरेका छन् । पुरुष वर्गले शिवको भजन गाउँदै लाखे नृत्यमा रमाएर गौरा पर्व मनाएको स्थानीय रोयल हिल यूथ क्लबका मोहित भण्डारीले बताउनुभयो ।