• ३० वैशाख २०८२, मङ्गलबार

शिक्षकको तलब हिनामिना भएको आरोप

blog

फाइल तस्बिर

बिन्दु थापा 

पाल्पा, भदौ ७ गते । तानसेन नगरपालिका–११ को गार्गी माध्यमिक विद्यालयमा  चार वर्षदेखि शिक्षकको नाममा ५ लाख १२ हजार ६२० रुपियाँ वार्षिक अनियमितता भएको पाइएको छ । 

चार वर्षदेखि नगर शिक्षण अनुदानमा अध्यापन गराइरहेकी मिना भाट र सङ्घीय शिक्षण अनुदानमा अध्यापन गराइरहेकी पार्वती सुन्धौलीको नाममा विद्यालयका प्रधानाध्यापक यादव घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेको मिलेमतोमा अनियमितता भएको शिक्षकहरूको आरोप छ ।  

२०७६ माघदेखि माध्यमिक तहमा लेखा विषय पढाउँदै आउनुभएकी मिना भाटले आफ्नो पुरै तलब निकासा गरीदिन भन्दै निवेदन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो परिश्रमको पारिश्रमिक यति धेरै हुन्छ भन्ने थाहा नै भएन, उहाँहरूले नियुक्ति दिँदा तपाईँको तलब १५ हजार हुन्छ मात्रै भन्नुभयो, दुई–चार पैसा भए पनि आम्दानी हुने घरपाइ मिलेको जागिर भनेर पढाउन थालेँ उहाँहरूले भने हामीलाई छुट्टयाएको रकम लुकाएर बस्नुभयो ।” 

यस्तै, २०७८ देखि अङ्ग्रेजी विषय पढाउँदै आउनुभएकी शिक्षक पार्वती सुन्धौलीले नियुक्ति लिँदा व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेले १५ हजार तलब हुन्छ भनेर भन्नुभएको बताउनुभयो । सुन्धौलीले भन्नुभयो, “दलित भनेपछि हामी वर्षौँदेखि हेपिएका बल्ल बल्ल पाएको जागिर जाने डरले भन्ने हिम्मत नै आएन । अब पनि यही कारण जागिर जान्छकी भन्ने डर छ ।”

विद्यालयका प्रधानाध्यापक यादव घिमिरेले शिक्षक, विद्यालय व्यवस्थापन समिति र उहाँहरू नै बसेर समन्वय गरेको बताउनुभयो । घिमिरेले बाँकी पैसा हिनामिना नगरेको विद्यालयको खातामै राखिएको जानकारी दिनुभयो । 

शिक्षक मिना भाटको नाममा ३७ हजार ९९० र पार्वती सुन्धौलीको नाममा ३४ हजार ७३० रुपियाँ जानेगरेको भए पनि उहाँहरूले विद्यालयबाट १५ हजारमा १५० कर कट्टी कटाएर १४ हजार ८५० मात्रै बुझ्ने गर्नुभएको छ । 

नगर शिक्षा शाखामा बुझाउने भर्पाइमा भने वास्तविक तलबमा नै हस्ताक्षर गरेर पठाइएको छ ।  शिक्षक मिना भाट र पार्वती सुन्धौलीका अनुसार आफूहरूको बाँकी रकम १९ हजार ७३० र २२ हजार ९९० रुपियाँ विद्यालयको खातामा रहने भनेर हस्ताक्षर गर्न लगाइएको छ ।