काठमाडौं, भदौ ४ गते । उपप्रधान एवम् तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाई नेपाल एसोसिएसनले भेट गरेकाे छ ।
रक्षा मन्त्रालयमा भएको भेटमा थाई नेपाल एसोसिएसनका पदाधिकारीले उपप्रधानमन्त्री खड्कासमक्ष आफ्ना पुर्खा पनि नेपाली भएको र धेरै वर्षदेखि विदेशमा रही सोही देशको नागरिकका रुपमा काम गरिरहेको बताउनुभयो । साथै उहाँहरुले आफूहरु नेपालीकै सन्तान भएको भन्दै पहिचान खुल्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । भेटमा थाई नेपाल एसोसिएसनका प्रतिनिधिहरुले आफूहरुलाई नेपाल आवतजावत गर्न पाउने तथा गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध गराउन आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री खड्काले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै संविधानको परिधिभित्र रहेर यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने आश्वासन दिनुभयो ।
यसअघि उक्त टोलीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरी थाइल्याण्ड र म्यानमारमा बस्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेको थियो । रासस