काठमाडौं, भदौ ३ गते । बाढी पहिरो तथा आगलागीबाट प्रभावित स्थानहरूमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । देशका विभिन्न स्थानमा परिचालित सेनाको फौजले उद्धार गरिरहेको नेपाली सेनाले जनाएको छ ।
सेनाको उद्धार टोलीले मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बाजुरा जिल्ला, बडिमालिका नगरपालिका-७ जिल्लास्थित पहिरोका कारण अवरुद्ध सडकखण्डमा सडकको पहिरो पन्छाई पैदलयात्रीलाई आवतजावत गर्न बाटो सुचारु गरेको छ ।
यस्तै मकवानपुर जिल्ला, भीमफेदी गाउँपालिका–८ गंगाटेस्थित बागमती खोलाको खोचमा फेला परेको शवलाई खोचबाट निकाली प्रहरीलाई बुझाइएको छ।
सेनाले भदौ १ गते बैतडी जिल्ला दशरथचन्द नगरपालिका वडा नं. ४, शाहीलेकस्थित समृद्धि सुनचाँदी पसल र धनुषा जिल्ला, क्षिरेश्वरनाथ नपा–१० हारसरमा रहेको परालको कुन्यूमा भएको आगलागीले नजिकैको घरहरूमा समेत क्षति पुर्याउने देखिएकोले अन्य सुरक्षा निकायहरू तथा स्थानीयको सहयोगमा नियन्त्रण गरेको छ ।
यस्तै सेनाको अगुवाइमा मुसिकोट नगरपालिका–२, रातामाटा (रुकुम पश्चिम) मा पहिरो गई स्थानीयको घरहरूमा क्षति पुग्ने देखिएकोले पहिरो तथा रुख हटाउने कार्य पनि गरिएको छ ।