• २० असोज २०८१, आइतबार

महोत्तरीमा झुला पर्व सुरु

blog

झुला पर्वको कलात्मक पालकीमा रामसीतालाई राखेर लक्ष्मीनारायण मठबाट झुला घर लगिँदै ।

नगेन्द्र कुमार कर्ण

महोत्तरी, भदौ ३ गते । मैथिली संस्कृतिको एक अभिन्न संस्कृतिको रूपमा रहेको झुला पर्व सुरु भएको छ । राधा, कृष्ण, सीता रामको मन्दिरमा पूजापाठ गरी भगवानका प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुलाउने पर्वलाई भुला पर्व भनिन्छ । मिथिलाको विभिन्न मठमन्दिरमा हरेक वर्ष मनाइने यो झुला पर्व महोत्तरी जिल्लाको प्रसिद्ध मटिहानीस्थित लक्ष्मीनारायण मठबाट सुरु भएको हो । 

झुला पर्व शुभारम्भको अवसरमा मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले प्रसिद्ध लक्ष्मीनारायण मठबाट झुला घर पुर्‍याइनुभएको थियो । लावालस्कर बाजागाजा तथा मङ्गलगानका साथ भव्य जुलुस निकाली मणिपर्वत पर्व गरिएको र त्यसपश्चात् साँझदेखि स्थानीय मठ मन्दिरमा धार्मिक रीतिअनुसार झुलनोत्सव सुरु भएको नगरप्रमुख मण्डलले जानकारी दिनुभयो । 

जनश्रुति अनुसार, सीताको माइतीमा दाइजोका रूपमा प्राप्त मणिहरू महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो । त्यसैको स्मृति स्वरूप झुला उत्सवको प्रारम्भमा मणिपर्वत मनाउने परम्परा छ । त्रेतायुगमा भगवान् राम र सीताको शुभ विवाहको उपलक्ष्यमा मिथिलाका विदेह राजा शिरध्वज जनकले अयोध्यावासीलाई उपहारस्वरूप दिएको सुनचाँदी तथा मणिको भार मिथिलाको राजधानी जनकपुरधामको रङ्गभूमि मैदानमा थुपारिएको रामायण तथा धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार यो पर्व प्राचीन समयदेखि आएको जनविश्वास छ ।

सम्पूर्ण मिथिलाञ्चलमा साउन शुक्ल पक्षभरि हरेक मठ मन्दिरमा झुलनोत्सव हर्षोल्लासपूर्णरुपमा मनाइने गरिन्छ । जनकपुरको जानकी मन्दिर राम मन्दिर, दशरथ मन्दिर र मटिहानीको लक्ष्मीनारायण मठमा यस लोकोत्सवको मुख्य आकर्षण केन्द्रको रूपमा मिथिलाञ्चलमा प्रसिद्ध छ । 

झुलनोत्सव पर्वको अवसरमा भगवान् राधा, कृष्ण, सीता, राम लगायतका लागि पूजापाठको रूपमा गीतनाद गर्ने चलन रहेको छ जसलाई कजरी भनेर भनिन्छ । पहिलापहिला रात रातभरि मन्दिरहरूमा कजरी गाएर भगवानको भजन कित्र्तन गर्ने चलन रहेको बुढापाकाहरू बताउँछन्। 

साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइने सो झुलनोत्सवको अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा राखी बाजागाजाका साथ भगवान् रामसिताको मूर्ति राखी भजन कीर्तन गर्दै झुलाघरमा लगिने गरिएको छ । भगवान् रामसिता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ । 

हुन त यो पर्व मिथिला बाहेक भारतको प्रसिद्ध वृन्दावन, मथुरा आदिक्षेत्रहरुमा समेत धूमधामका साथ मनाइने परम्परा छ । यो पर्व समाप्त भएको भोलीपल्ट जनैपूणिर्मा, क्वाँटी खाने, रक्षाबन्धन पर्व आदि मनाइने चलन रहेको छ ।