• २० असोज २०८१, आइतबार

गुरही पर्वमा स्थानीय बिदा दिन माग

blog

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइँदै ।

अविनाश चौधरी

धनगढी, भदौ ३ गते । थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा स्थानीय बिदा माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ । थारु समुदाय सम्बद्ध थारु कल्याणकारिणी सभा लगायतका सङ्घ संस्थाले गुरही पर्वको अवसरमा स्थानीय बिदा माग गर्दै आज ज्ञापनपत्र बुझाएका हुन् । 

यो समुदायले भोलि भदौ ४ गते गुरही पर्व मनाउँदैछ । नाग पञ्चमीका दिन तराईवासी थारु समुदायले गुरही पर्व मनाउने चलन रहेको छ । बालबालिकासँग सम्बन्धित गुरही पर्वमा बालबालिका रमाउने गरेको र नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्न आवश्यक देखिएकाले गुरही पर्वको अवसरमा स्थानीय बिदा माग गरिएको थारु कल्याणकारिणी सभा कैलालीका कार्यवाहक सभापति माधव चौधरीले बताउनुभयो । उहाँले विगत वर्षदेखि नै बिदा माग गर्दै आएपनि गुरही पर्वको बिदा नदिँदा प्रदेश सरकारले थारु समुदायलाई उपेक्षा गरेको महसुस भएको उल्लेख गर्नुभयो । 

थारु समुदायको गुरही लगायतका अरू पर्वको बिदा कार्यतालिकामै उल्लेख हुनु पर्ने सङ्घ संस्थाको माग छ । हरेक थारु गाउँमा मनाइने गुरही पर्वलाई धनगढीमा २०६७ सालबाट संस्थागत रूपमा मनाउने गरिएको छ । यस वर्षको पर्वको अवसरमा धनगढी उपमहानगरपालिका–८ स्थित चौकमा गुरहीको मूर्ति पनि शिलान्यास गरिने जनाइएको छ । 

यो पर्वमा कपडाको गुरहा गुरही (गाईने किरा) बनाएर सार्वजनिक ठाउँ वा चौबाटोमा सेलाउने चलन छ । जसलाई गुरही अस्रैना भनिन्छ । बालिका वा केटीहरूले भुईँमा गुरही फाल्ने र बालक वा केटाहरूले ‘दे घुघ्री, दे घुघ्री’ भन्दै त्यसलाई सोंता वा लट्ठीले ठटाउने चलन रहेको छ । गुरही पर्व मनाउनाले बालबालिका रोगव्याधीबाट जोगिने विश्वास छ । यो पर्वको अवसरमा केही पालिकाले स्थानीय बिदा दिएका छन् ।