• १२ साउन २०८१, शनिबार

शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता

blog

नेपालगन्ज उपमहानगरपालिकासँग जोडिएको बाँकेको जानकी गाउँपालिका व्यापारिक तथा औद्यौगिक क्षेत्रका रूपमा परिचित छ। जानकी गाउँपालिका नेपालगन्ज विमानस्थलदेखि नेपालगन्ज–गुलरिया सडकखण्ड हुँदै भारतसम्म यसको सीमा जोडिएको छ। छ वटा वडा रहेको यो गाउँपालिकाको कुल क्षेत्रफल ६३.३२ वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जानकी गाउँपालिकाको कुल जनसङ्ख्या ४६,१४१ रहेको छ। जानकी गाउँपालिकाको पूर्वमा नेपालगन्ज उपमहानगरपालिका, पश्चिममा खजुरा गाउँपालिका, उत्तरमा–कोहलपुर नगरपालिका र दक्षिणमा भारतको सिमाना रहेको छ। साबिकका साई गाउँ, बेलभार, इन्द्रपुर, खजुराखुर्द, बेलहरी र गनापुर गाउँ विकास समिति समेटेर जानकी गाउँपालिका बनेको हो। जानकी गाउँपालिकामा नेपाली कांग्रेसका छब्बन खाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो। जानकीको विकास निर्माणलगायतका विषयमा गाउँपालिकाका अध्यक्ष छब्बन खाँसँग गोविन्द शर्माले गर्नुभएको कुराकानी :

 तपाईं निर्वाचित भएर आएपछि एक वर्षमा कस्ता काम सुरुवात गर्नुभएको छ ? 

शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका छौँ। कृषिलाई पनि प्राथमिकता दिइएको छ। गाउँपालिकाभित्र रहेका लामो तथा छोटो दुरीका सडक निर्माणमा विशेष ध्यान दिएका छौँ। एक वर्षभित्रै करिब एक दर्जनभन्दा बढी सडक निर्माण गर्न सफल भएका छौँ। लिङ्क सडकलाई विशेष ध्यान दिइएको छ। नालीसहितको सडक निर्माण गरिरहेका छौँ। 

स्वास्थ्यतर्फ जिल्लामै राम्रो गर्न सफल भएका छौँ। स्वास्थ्यमा टोल टोलमा पुगेर पालिकावासीलाई सचेत बनाएका छौँ। जसका कारण जिल्लामै उत्कृष्टभित्र परेको छ। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनको नीति लिइएको छ। 

शिक्षामा हामी पछाडि परेको सन्दर्भमा अहिले प्रत्येक विद्यालयमा शैक्षिक जनशक्ति पु-याउन विज्ञापन आह्वान गरेका छौँ। कक्षा १० सम्म सञ्चालित सबै विद्यालयलाई १२ कक्षासम्म सञ्चालन गर्ने योजना बनाएका छौँ। छोरी बहिनी विद्यालयमा टिक्न समस्या थियो, त्यसलाई मध्यनजर गर्दै कन्या विद्यालय स्थापना गरेका छौँ। छोरी कल्याणका लागि मासिक रकम जम्मा हुने व्यवस्था गरेका छौँ। यसबाट एक लाख रुपियाँको बिमा गरिएको छ। कन्या विद्यालयलाई नमुना बनाउन लागिपरेका छौँ। पालिकाभरका विद्यार्थीलाई ल्याउन लैजानका लागि बसको व्यवस्था गरिएको छ। मधेशी तथा मुस्लिम समुदायमा बालिकालाई विद्यालय पठाउन सङ्कोच मान्ने चलन छ। त्यसलाई हटाउन महिला मात्रै शिक्षक, कर्मचारी र विद्यार्थी भएको विद्यालय स्थापना गरेका हौँ। 

कामको मूल्याङ्कन गर्ने गर्नुभएको छ ?

आफूले गरेको कामको आफैँ मूल्याङ्कन गर्नु भनेको गाह्रो काम हो तर हामीले सबैको साथ र सहयोगमा एक वर्षको अवधिमा उत्कृष्ट काम गरेका छौँ भन्ने लागेको छ। शिक्षा, स्वास्थ्य, कृषिमा गरिएको कामले जनताले परिवर्तनको अनुभूति गर्न पाएका छन्। हामी आएपछि बैङ्कसँग सहकार्य र समन्वय गरी पालिका कार्यालयभित्रै बैङ्क आएपछि ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिन नेपालगन्जका बैङ्कमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ। 

सिक्टा सिँचाइका कारण वडा नम्बर ३, ४, ५ र ६ मा सहज भएको छ। तर वडा नम्बर १ र २ मा अहिले पनि समस्या छ। यो वर्ष बोरिङमार्फत भए पनि सिँचाइ सुविधा उपलब्ध गराउने योजनामा छौँ। किसानका लागि सबैभन्दा ठुलो समस्या मलखादको छ। स्थानीय सरकारले यसमा केही गर्न सक्ने अवस्था छैन। 

गर्नुपर्ने कामको योजना कसरी बनाउनुभएको छ ?

कन्या विद्यालयलाई शैक्षिक गुणस्तरयुक्त र नमुना विद्यालय बनाउने योजना छ। यसलाई १२ कक्षासम्म सञ्चालन गर्ने तयारी छ। हाल कक्षा १० सम्म रहेका विद्यालयलाई कक्षा १२ सम्म सञ्चालनमा ल्याउनुपर्ने छ। यसै गरी स्वास्थ्य र कृषि तथा सिँचाइमा पनि किसान लक्षित कार्यक्रम ल्याउने तयारीमा छौँ। स्वास्थ्यतर्फ पनि जनतालाई सामान्य खालको उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था नहोस् भनेर लागिपरेका छौँ। सडक तथा नाली र अन्य भौतिक पूर्वाधारका काम भने नियमित हुने नै छन्। 

योजना बनाउँदा घोषणापत्रलाई ध्यान दिनुहुन्छ ? 

घोषणापत्र अनुसार नै काम अघि बढेको छ। एक वर्षमा कतिपय काम सम्पन्न भए कति सुरुवात गरेका छौँ । बाँकी काम पनि छिटोभन्दा छिटो सुरुवात गर्ने चरणमा छौँ। गरिब तथा विपन्न घरपरिवारका लागि ग्यास सिलिन्डर र चुलो उपलब्ध गराउने, विपन्नलाई बिजुली र अन्य विकास निर्माणका काम बाँकी छन्। ती काम पनि पाँच वर्षभित्रै पूरा हुने छन्। 

प्रदेश र सङ्घ सरकारसँगको समन्वय कस्तो  छ ? 

जानकी गाउँपालिका नेपालगन्ज उपमहानगरपालिकासँग जोडिएको भए पनि सेवा सुविधाबाट पछाडि परेको स्थानीय तह हो। यसलाई प्रदेश र सङ्घबाट विशेष प्राथमिकता दिनुपर्ने थियो। अब सङ्घ र प्रदेशमा विजयी सांसदमार्फत गाउँपालिकाले विशेष प्राथमिकता पाउने आशा र अपेक्षा गरेका छौँ।