तिमी बादल हुन्थ्यौ भने
म आकाश हुन्थेँ होला ।
हेर, यी दुईका सम्बन्ध
न कसैको डर, न त चिन्ता
यो दुनियाँको भिडदेखि
धेरै टाढा ।
त्यसो हुन्थ्यो भने
जब म एक्लो हुन्थेँ
तिमीलाई नै निर्धक्क भएर
अँगालोमा बेर्थें
तिम्रै मायामा लडीबुडी खेल्थेँ
जब हामी मायामा तृप्त हुन्थ्यौँ
अनि तिमी खुसी हुँदै
छ्याङ्ग हुन्थ्यौ,
र संसारलाई न्यानो दिन्थ्यौ ।
तर आउँछन्, एक हुल
विभिन्न बाधा र अड्चन हाम्रा मायामा
न म तृप्त हुन पाउँछु
न तिमी तृप्त हुन पाउँछौ ।
गर्जन्छु म
संसारलाई नै खाउँ जस्तो गरी
बर्सिदिन्छु रुँदै कराउँदै
तिमी र मलाई हामी हुन नदिने
यस संसारका विरुद्ध
खै कसले बुझेको छ र हाम्रो सम्बन्ध ?
तिमी र म मात्र यस्ता पात्र हुन्थ्यौँ
जो यस संसारदेखि बेग्लै हुन्थ्यौँ ।
त्यस बादललाई बादल बनाउने
आकाशलाई आकाश बनाउने
तिमी र म मात्र त हौँ
हामी एक अर्काका पूरक
आकाशका लागि बादल
र बादलका लागि आकाश जस्तै ।
बादल नभएको आकाश पनि
के सुन्दर आकाश हुन्छ र ?