• १३ साउन २०८१, आइतबार

सिँचाइ नहर निर्माण भएपछि कृषक लाभान्वित

blog

सामुदायिक वन र स्थानीय सरकारको लागतमा बनेका पक्की नाला । तस्बिर : जानु पाण्डे

जानु पाण्डे 

कपिलवस्तु, साउन ३२ गते । कपिलवस्तु बाणगंगा नगरपालिका –९ भर्तापुरका कृषक गोविन्दप्रसाद बन्जाडेले यस वर्ष राम्रोसँग ब्याड राख्न पाउनुभयो । खेतबारीमा पक्की नहर आएपछि खेती गर्न पाउनुभयो । 

अहिले खेतमा रोपिएका धान हुर्केको छ । नहर निर्माणले स्थानीय कृषक लाभान्वित भएको बताएका छन् । सामुदायिक वन र स्थानीय सरकारले पानी बग्ने नाला (नहर) निर्माण गरेपछि कृषकलाई सिँचाइमा सहजता भएको छ । 

वडाको अमृते सामुदायिक वन, कोइलीचौर साना किसान सामुदायिक वन र स्थानीय सरकारको संयुक्त लगानीमा विभिन्न खण्डमा गरी करिब तीन किलोमिटर नाला निर्माण भएको वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले बताउनुभयो । 

नाला निर्माणपछि कोइली खोलामा रहेको बाँधको पानी खेतसम्म पुगेको छ । खोलामा पानी कम हुँदा बोरिङको पानी मिसाउनेगरी नाला निर्माण भएको छ । अमृते सामुदायिक वनले गत आर्थिक वर्षमा २१ लाख ८५ हजार रकम नाला निर्माणमा खर्च गरेको थियो । खेतसम्म पानी लैजाने नाला बनेपछि तरकारी अन्नबालीलाई फाइदा भएको कृषक गोविन्दप्रसाद बन्जाडेले बताउनुभयो ।