• १३ साउन २०८१, आइतबार

कृषि कार्यका लागि विद्युतमा ५० प्रतिशत अनुदान

blog

मीना कंडेल

कावासोती, साउन ३२ गते । पूर्वी नवलपरासी कावासोती नगरपालिकाले कृषि सिंचाइँ विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । सिंचाइ समस्याका कारण उत्पादनमा कमी नआओस् भनेर अनुदान दिन लागेको कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । 

किसानलाई सिंचाइ मिटरमा अनुदान दिँदा कृषि उत्पादन लागत थोरै भए पनि घटाउन सहयोग पुग्ने र किसानले उत्पादन गर्ने कृषि उपजबाट धेरै आम्दानी गर्न सक्ने भएकाले सिंचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिन लागेको उपप्रमुुख फुलकुमारी थनेतले बताउनुभयो । 

कृषि पेशा गरेका किसानलाई सिंचाइमा सुविधा दिने योजनाअनुसार नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको र सोहीअनुसार बजेट व्यवस्थापन गरेको उहाँले बताउनुभयो । कावासोती नगरपालिकाले नगरभित्र रहेका कृषि फर्म, समूह, सहकारीमा रहेका कृषि सिंचाइ मिटरको अभिलेख राखी वार्षिक रुपमा ती सिंचाइँ मिटरमा उठेको शुल्कमा ५० प्रतिशत अनुदान नगरपालिका तर्फबाट दिइने कावासोती नगरपालिका कृषि विकास शाखाका प्रमुख शिवनारायण कुमालले बताउनुभयो । 

मुख्य गरी कृषिमा सिंचाइँको समस्याले उत्पादनमा कमी हुने हुँदा सिंचाइँलाई प्रोत्साहन गरी उत्पादन बढाउन र किसानको उत्पादन लागत घटाउन अनुदानको कार्यक्रम राखिएको शाखा प्रमुख कुमालले बताउनुभयो ।

कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा समेत सिंचाइ मिटर जडानमा अनुदान प्रदान गरेको थियो । गतवर्ष समूह, सहकारी, कृषि फर्मलाई सिंचाइ मिटर जडानमा अनुदान प्रदान गरेकोमा यस वर्ष विद्युत् खपत गरेवापतको शुल्कमा अनुदान प्रदान गर्न लागिएको शाखा प्रमुख कुमालले बताउनुभयो । 

७५ प्रतिशत अनुदानमा कृषिऔजार तथा उपकरण प्रदान गर्ने कार्यक्रम राखिएको उहाँले बताउनुभयो । कावासोती नगरपालिका कृषिको लागि सम्भावना भएको क्षेत्रको रुपमा चिनिन्छ । यस नगरपालिकाभित्र करिब दुई हजार ५ सय हेक्टर खेतीयोग्य जमिन छ । नगरपालिकाले विभिन्न वडामा फरक बालीको पकेट विकास कार्यक्रम सञ्चालन गर्दैआएको छ ।