• १३ साउन २०८१, आइतबार

बाँकेमा ९५ प्रतिशत रोपाइँ सम्पन्न

blog

रोपाइँ गरिएको बाँकेको खेत । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन ३२ गते । बाँकेमा वर्षा ढिलो सुरु भएपछि रोपाइँ ढिलोगरी सुरु भए पनि साउन सकिन लाग्दा रोपाइँ सम्पन्न हुन थालेको छ । हालसम्म बाँकेमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । 

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकील अहमदका अनुसार वर्षा नहुँदा एक साता पहिलेसम्म मात्र निकै कम रोपाइँ भएको यस क्षेत्रमा सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामध्ये बाँकेमा केही दिन यता वर्षा निरन्तर भएपछि हालसम्म ९५ प्रतिशत रोपाइँ सकिएको हो । 

प्रमुख अहमदले समयमा वर्षा नहुँदा रोपाइँ पनि समयमा सम्पन्न गर्न नसकिएकाले उत्पादन घट्ने चिन्ता रहेका यहाँका किसानले अहिले वर्षा भएपछि रोपाइँ पूरा गरेर राहत महसुस गरेको बताउनुभयो । 

उहाँले यस वर्ष वर्षा ढिलोगरी भएकोले अधिकांश किसानका खेत केही दिन पहिलेसम्म बाँझै रहेको बताउनुभयो । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार केही समय पहिलेसम्म नरैनापुरमा सबैभन्दा कम रोपाइँ भएकाले यस वर्ष पनि सुख्खा हुने सम्भावना बढ्दै गएका बेला वर्षा भएपछि सो क्षेत्रमा रोपाइँ सकिन लागेको छ । 

यसअघि वर्षा नहुँदा सिक्टा सिंचाइ आयोजनाको नहर पुगेको क्षेत्र र कृषि ज्ञान केन्द्रले स्यालो ट्युबवेलमार्फत सिंचाइ सुविधा पुगेको क्षेत्रमा मात्रै रोपाइँ हुन सकेको थियो । 

सिक्टा सिंचाइ आयोजनाले गर्दा किसानलाई ठूलो राहत भए पनि धेरै ठाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताले गर्दा किसान चिन्तित बनेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

जानकी गाउँपालिका –३ का किसान रमेश बर्माले वर्षा नहुँदा साउनको दोस्रो सातासम्म पनि रोपाइँ गर्न नसकेकोमा अहिले वर्षा भएपछि रोपाइँ सम्पन्न गरिएको बताउनुभयो ।  बाँकेमा ३६ हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुनेगरेको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।