• ५ जेठ २०८१, शनिबार

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्न आवेदन माग

blog

राजकुमार भट्टराई 

खोटाङ, साउन ३२ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाको कार्यविधि, नगर शिक्षा ऐन र संघीय शिक्षा ऐन अनुसार खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले सूचना निकालेको हो। 

खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने भन्दै साउन ७ गते बसेको नगर कार्यपालिकाको बैठकलले सबै प्रधानाध्यापकलाई हटाउने निर्णय गरेको थियो । सोही अनुसार अहिले तत्कालीन प्रधानाध्यापकहरुले निमित्तको रुपमा विद्यालयको कामकाज गरिरहनुभएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।  

विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले बुधबार सूचना प्रकाशन गरेको छ । माध्यमिक तह, आधारभूत तह को (कक्षा १–८) र (कक्षा १–५) सम्मको विद्यालयका लागि नगरपालिकाले छुट्टाछुट्टै सूचना निकालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयको “प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि २०८०” अनुसार योग्यता पुगेका इच्छुक उम्मेद्वार तथा शिक्षकले भदौ १३ गतेभित्र निवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

माध्यमिक तहको विद्यालयको प्रधानाध्यापक हुनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सोसरह उत्तीर्ण गरेको वा शिक्षकको रुपमा १० वर्ष स्थायी सेवा अवधि पूरा भई स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने छ । यस्तै, माध्यमिक तथा निम्न माध्यमिक तहको शिक्षक पदमा १ वर्ष स्थायी सेवा अवधि पूरा गरेको र प्राथमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पूरा भएको हुनुपर्ने सूचनामा उल्लेख छ । 

यस्तै, आधारभूत तह कक्षा (१–८) को लागि प्रधानाध्यापक हुन मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको, निम्न माध्यमिक तहको शिक्षक पदमा १ वर्ष स्थायी सेवा अवधि पूरा गरेको र प्राथमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पूरा भएको हुनुपर्नेछ ।

आधारभूत तह कक्षा (१–५) को लागि प्रधानाध्यापक हुन मान्यताप्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह÷कक्षा १२ सो सरह उत्तीर्ण गरेको, प्राथमिक तहको शिक्षक पदमा कम्तीमा १ वर्ष स्थायी सेवा अवधि पूरा गरेको हुनुपर्ने सूचनामा भनिएको छ । योग्यता पुगेका शिक्षकहरुबाट निवेदन आइसकेपछि लिखित परीक्षा र अन्तर्वार्ताबाट प्रधानाध्यापक छनोट हुनेछन्। 

सङ्घीय शिक्षा ऐन र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिक्षा ऐनमा ५÷५ वर्षमा परीक्षा लिएर प्रधानाध्यापक नियुक्त गर्ने उल्लेख गरेको छ । सोही अनुसार नगरपालिकाले कार्यविधि निर्माण गरेर प्रधानाध्यापक छनोट गर्न लागिएको मेयर भट्टराईले बताउनुभयो । खुल्ला र निष्पक्ष तरिकाले प्रधानाध्यापक छनोट हुने मेयर भट्टराईको भनाइ छ ।  

कतिपय ठाउँमा प्रधानाध्यापक नियुत्तिको विषयमा विवाद आइरहँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षा ऐन अनुसार कार्यविधि निर्माण गरेर खुल्ला प्रतिस्पर्धा अनुसार प्रधानाध्यापक नियुक्त गर्न लागेको हो । नगरपालिकाको यो कार्यमा शिक्षकहरुको छाता सङ्गठन शिक्षक महासङ्घ साथै अन्य विभिन्न शिक्षक सङ्गठनहरुले प्रशंसा गरेका छन् । 

यस प्रक्रिया अनुसार देशका केही स्थानीय तहहरुले मात्र प्रधानाध्यापक नियुक्ति गरेका छन् । हालसम्म कोशी प्रदेशका कुनै पनि स्थानीय तहले यसरी शिक्षा ऐनलाई टेकेर कार्यविधि निर्माण गरेर प्रधानाध्यापक नियुक्ति गरेका छैनन् ।