काठमाडौँ, साउन ३२ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बजारको माग अनुसार सुनको कोटा बढाउन सरकार तयार रहेको बताउनुभएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार भएको भेटका क्रममा मन्त्री रिजालले मुलुकको अर्थतन्त्र र भुक्तानी सन्तुलनको स्थितिसमेत अहिले सकारात्मक रहेकाले विद्यमान आपूर्ति कोटामा वृद्धि गर्न कुनै कठिनाइ नभएको बताउनुभयो ।
सुनचाँदी व्यवसायमा आबद्ध व्यवसायीले सुनचाँदी व्यवसायको व्यवस्थापनका लागि विगतदेखि नै उठाउँदै आएको यससम्बन्धी विधेयकको मस्यौदाका विषयमा पनि उहाँले आपसी छलफलबाट निष्कर्षमा पु-याउन सकिने बताउनुभयो । मन्त्री रिजालसँगको भेटका क्रममा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले व्यवसाय सञ्चालनसम्बन्धी ऐनको अभावमा धेरै किसिमका समस्या आएको उल्लेख गर्दै सरोकारवाला सबै पक्षलाई फाइदा पुग्ने गरी ऐन ल्याउन आवश्यक भएको बताउनुभयो । त्यसका लागि सहयोग गर्न व्यवसायी तयार रहेको उहाँको भनाइ छ ।
छलफलका क्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले सुनचाँदी व्यवसायको व्यवस्थापन गर्ने विधेयक र त्यसमा समेटिनुपर्ने विषयवस्तुका बारेमा मन्त्री रिजालको ध्यानाकर्षण गराउनुभएको थियो ।