गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १३ गते । गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाफा बढेको छ । संस्थाको शनिबार आयोजित १९ औँ वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा एक लाख ८४ हजार ३७९ रुपियाँ नाफा भएको उल्लेख छ । संस्थाले त्यसअघि आव २०८०/८१ मा एक लाख ७५ हजार ३४३ रुपियाँ नाफा आर्जन गरेको थियो ।
सहकारीका अध्यक्ष पुष्पराज जोशीका अनुसार गत आवको असार मसान्तसम्ममा सदस्यहरूबाट एक करोड ६३ लाख ९६ हजार निक्षेप सङ्कलन भएको थियो । जसमध्ये एक करोड ५७ लाख २६ हजार रुपियाँ ऋण लगानी गरिएको उहाँले जानकारी दिनुभयो ।
गोरखापत्रका कर्मचारी अवकाश हुँदै जाने तर नयाँ कर्मचारी भर्ना हुन नसक्दा संस्थाको आर्थिक क्रियाकलाप बढ्न नसकेको उहाँले बताउनुभयो ।
साधारण सभामा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र सहकारीले संस्थानका कर्मचारीलाई आर्थिक रूपमा उल्लेख्य सहयोग गरेको बताउनुभयो । उहाँले सबै कर्मचारीलाई एकताबद्ध हुन आग्रहसमेत गर्नुभयो । सहकारी मुलुकको अर्थतन्त्रको आधारभूत मेरुदण्ड भएको बताउँदै उहाँले पारिवारिक अर्थतन्त्रसँग सहकारी जोडिएको धारणा राख्नुभयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले सुरुवाती चरणमा गोरखापत्र सहकारीलाई समस्या भएको भए पनि अहिले निरन्तर नाफामा रहेको बताउनुभयो । सहकारीको आयआर्जनमा अझै ध्यान दिनुपर्ने उहाँको सुझाव थियो । सहकारीमा ३५० जना सेयर सदस्य रहेका छन् ।
उत्कृष्ट छात्रछात्रा सम्मानित
साधारण सभाका अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा उत्कृष्ट अङ्क प्राप्त गर्ने सहकारीमा आबद्ध संस्थानका कर्मचारीका छोराछोरी सात छात्रछात्रालाई सम्मानित गरिएको थियो । सम्मानित हुने ईशा बराल (३.९६ जिपिए), कृतिष्मा सापकोटा (३.९१ जिपिए), प्रतीक घिमिरे (३.८७ जिपिए), समृद्ध न्यौपाने (३.८६ जिपिए), प्राप्ति पौडेल (३.८६ जिपिए), विदुषी खनाल (३.८४ जिपिए) र सदीक्षा सापकोटा (३.५४) ले जिपिए प्राप्त गर्नुभएको छ । उहाँहरूलाई नगद तीन हजार पाँच सय रुपियाँसहित सम्मानपत्रले सम्मानित गरिएको थियो ।