• २८ वैशाख २०८१, शुक्रबार

महिला क्रिकेट टोली मलेसियामा

blog

बिदाइ कार्यक्रममा नेपाली टोली । तस्बिर : क्यान

काठमाडौं, साउन ३१ गते । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ । 

नेपालले टी–२० विश्वकपको छनोट यात्राका लागि मलेसियामा चार राष्ट्र सम्मिलित टी–२० श्रृंखला खेल्दैछ । सोही श्रृंखला खेल्ने जाने नेपाली टोलीको बुधवार मुलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को कार्यलयमा बिदाइ गरिएको हो ।

खेलाडीलाई क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठक र कोषाध्यक्ष रोशनबहादुर सिंहले बिदाइ गर्नुभयो । नेपालले आगामी अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आइसीसी टी–२० महिला विश्वकपको एशिया क्वालिफायर खेल्दैछ ।

सोही छनोटको तयारीका लागि नेपाली महिला टोलीले मलेसियामा श्रृंखला खेल्न लागेको हो । नेपालले घरेलु टोली मलेसियासहित कुवेत र हङकङसँग श्रृंखलामा प्रतिस्पर्धा गर्नेछ । उक्त श्रृंखला आगामी अगस्ट २२ देखि २६ सम्म वायुमास ओभलमा हुनेछ ।

पाँच दिन चल्ने श्रृंखलाको शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । बाँकी दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका छ । नेपालले पहिलो खेल अगस्ट २२ मा हङकङ र दोस्रो खेल अगस्ट २३ मा कुवेतसँग खेल्नेछ ।

नेपालले एक दिनको विश्रामपछि अगस्ट २५ मा घरेलु टोली मलेसियाको सामना गर्ने तालिका छ । फाइनल खेल अगस्ट २६ मा हुनेछ । क्यानले टी–२० विश्वकपको एशिया क्वालिफायरका लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो ।

भारतीय प्रशिक्षक देविका दिलिप पल्सिकरको प्रशिक्षणमा रहेको प्रारम्भिक टोलीबाट गत बिहीबार मात्रै रुविनाको नेपाली टोली घोषणा गरिएको हो । खुशी डंगोल, रुवि पोदार र पूजा महतोले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको छ । 

टोलीको अन्य सदस्यमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, सम्झना खड्का, ईश्वरी बिष्ट, काजोल श्रेष्ठ, अप्सरी बेगम र अस्मिना कर्माचार्य हुनुहुन्छ । 

बिदाइका अवसरमा नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले इन्डोर अभ्यासमा पनि राम्रो तयारी गरेको बताउनुभयो । रुविनाले मलेसियामा अभ्याससँगै टी–२० श्रृंखला पनि खेल्ने भएकाले राम्रो तयारी पाउने र अहिले क्यानले ब्याटिङमा सुधार हुने गरी विदेशी प्रशिक्षक नियुक्त गरेकाले त्यसको फाइदा लिने विश्वास व्यक्त गर्नुभयो ।

हाँले यो श्रृंखलाबाट खेल जिताउन सक्ने नयाँ युवा खेलाडी निस्किने समेत आशा व्यक्त गर्नुभयो । नयाँ प्रशिक्षक देविका पेल्सिकरको प्रशिक्षणमा नयाँ प्रतिभा निस्किने कप्तान रुविनाले विश्वास व्यक्त गर्नुभयो ।

नेपाली क्रिकेट टोलीकी अनुभवी खेलाडी सीता रानामगरले नयाँ प्रशिक्षकबाट आफूहरूले प्रतिष्पर्धा अगाडि नै सबैको भुमिका पाएको र यो श्रृंखलाबाट विश्वकपको तयारी पनि राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

कप्तान रुविना क्षेत्री र आफू करियरको अन्तिम समयतिर रहेकाले यो विश्वकप छनोट चरण आपूmहरूका लागि अन्तिम अवसर रहेको समेत सीताले बताउनुभयो । नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक सामसङ्ग जंग थापाले यस पटक विश्वकप छनोट यात्रा सुखद् हुने विश्वास व्यक्त गर्नुभएको छ ।