काठमाडौँ, ३१ साउन । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा कार्यालय प्रमुखको रूपमा खटी जान लाग्नुभएका प्रहरी निरीक्षकहरूलाई आज (बुधबार) नेपाल प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा बोल्न भई प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउने तथा श्रीवृद्धि गर्नका लगी सबैको साथ सहयोग आवश्यक रहेको चर्चा गर्दै व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान्, इमानदार एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफ्नो अनुभवलाई प्रयोग गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्न निर्देशन दिनुभयो ।
कानुनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले हरेक पल पलमा नागरिकको साथमा रहेर सहकार्य गर्नुपर्ने एवम् नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ प्रहरी अधिकृतहरू केन्द्रित हुनुपर्ने बताउनुभयो ।
आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सीमान्तकृत एवम् पीडितवर्गहरूको सारथि भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनको आन्तरिक सुदृढीकरण एवम् प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्न सरुवाको मापदण्ड आएको चर्चा गर्दै यसलाई अक्षरशः पालना गर्नुपर्ने सबैको दायित्व रहेको उल्लेख गर्नुभयो । कानुनले दिएको अधिकारको पूर्ण प्रयोग तथा नेपाल प्रहरीको कार्ययोजना अनुरूप जनमैत्री सेवा प्रवाह, आन्तरिक सुदृढीकरण, राजश्व अभिवृद्धि, चोरीपैठारी लगायत अन्य आपराधिक गतिविधिमा थप क्रियाशील भई जिम्मेवारी वहन गर्नुपर्ने उहाँले बताउनुभयो । भीड नियन्त्रणमा थप संवेदनशील भई बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी कार्य गर्नेतर्फ उहाँले जोड दिनुभयो ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र कार्य विभागका प्रहरी नायव महानिरीक्षक विकास राज खनालले समेत सरुवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।
