• ३१ वैशाख २०८२, बुधबार

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम पालिकास्तरमा कार्यान्वयन

blog

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरु कार्यान्वयका लागि सम्झौता गर्नुहुँदै सामाजिक सुरक्षा कोषका कार्यकारी कृष्णप्रसाद ज्ञवाली र गाउँपालिका अध्यक्ष हिदम लामा । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, साउन ३१ गते ।
मकवानपुरको भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउन पालिका र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ ।

कोष र गाउँपालिकाबीच मङ्गलबार अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरु कार्यान्वयन गर्न सम्झौता भएको हो । कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरु कार्यान्वयन गर्न सम्झौता गर्ने भीमफेदी गाउँपालिका नेपालकै दोस्राे गाउँपालिका हो । साथै कोषसँग सम्झौता गर्ने बागमती प्रदेशकै पहिलो पालिका भीमफेदी बनेको छ ।

यसअघि कोष र फेदीखोला गाउँपालिकाबीच पहिलो पटक गत असार २७ मा सम्झौता भएको थियो । सामाजिक सुरक्षा योजना कार्यक्रम सञ्चालन गर्न सम्झौता भएसँगै गाउँपालिकाभित्रका अनौपचारिक क्षेत्रमा रहेका इच्छुक श्रमिक उनीहरुलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन बाटो खुलेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले जानकारी दिनुभयो ।

उहाँले गाउँपालिकाभित्रका अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा समावेश गर्ने गरी काठमाडौंमा मङ्गलबार भएको कार्यक्रममा कोषसँग सम्झौता भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा पालिकाभित्रका सय जना अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारिक सामाजिक सुरक्षा योजनामा समावेश गर्ने योजना रहेको सुनाउनुभयो ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत रकम अर्थात् हाल एक हजार ९१२ रुपियाँ मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने हुन्छ ।
कोषमा योगदानपछि कोषबाट सञ्चालित विभिन्न योजनाहरुमा सहभागी हुने गरी पालिका र कोषबीच सम्झौता भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । सम्झौतापत्रमा कोषका कार्यकारी कृष्णप्रसाद ज्ञवाली र गाउँपालिका अध्यक्ष हिदम लामाले हस्ताक्षर गर्नुभएको थियो ।