काठमाडौँ, साउन ३१ गते । चलचित्र रङ्गेली ग्याङ्स्टर्स नाम परिमार्जन गरी ‘रङ्गेली’ राखिएको छ । निर्माण टिमले प्रेस वक्तव्य जारी गर्दै यसको नाम परिमार्जन गरेको जानकारी गराएको छ ।
वक्तव्यमा शीर्षकमा गरिएको परिमार्जनले हाम्रो समाजभित्र सकारात्मकता, एकता र सम्मानको वातावरण कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ । चलचित्रको छायाङ्कन हुने स्थान मोरङको रङ्गेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो । त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट यस चलचित्रको शीर्षकमा परिमार्जनका लागि आग्रह गरिएको थियो । उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो । यद्यपि, चलचित्रको स्क्रिप्टमा कुनै परिमार्जन गरिएको छैन ।
चलचित्रको प्रदर्शन महाशिवरात्रिका दिन औपचारिक रूपमा तोकिएको छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडालगायतको प्रमुख भूमिका रहने छ । आगामी भदौ २० बाट चलचित्र छायाङ्कन सुरु हुने छ । चलचित्रका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुनुहुन्छ ।