• ३१ वैशाख २०८२, बुधबार

सार्वजनिक महत्त्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

blog

कर्मचारी प्रशासनसँग छलफल गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, साउन ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशित दिनुभएको छ ।

मङ्गलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौँ उपत्यकामा सुकुम्वासी व्यवस्थापन सम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सार्वजनिक महत्त्वका विषयको दीर्घकालीन अर्थ हुन्छ, त्यस्ता विषयमा हाम्रो सबैभन्दा बढी ध्यान दिनुपर्छ । एउटा मन्त्रालय र निकायसँग जोडिएको विषय अन्त सार्ने र समस्याबाट उम्किने काम हामी कसैले पनि गर्नु हुँदैन । त्यसतर्फ तपाईँहरूले ध्यान दिनुस् ।”


छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साह, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, नेपाल सरकारका विभागीय मन्त्रालयका सचिवहरू उपस्थित हुनुहुन्थ्यो ।


बैठकमा तीनकुने अधिग्रहण जग्गा नेपाल सरकारको नाममा आइसकेको परिस्थितिमा पनि मुआब्जा र समस्या समाधान हुन बाँकी रहेकाले त्यसको दीर्घकालीन समस्या कसरी गर्ने एवम् तीनकुने जडीबुटी अन्डरपासको काम कसरी प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

छलफलमा काठमाडौँ उपत्यकाको सुकुम्वासी समस्याका समाधानका लागि भएका प्रयास र त्यसलाई निष्कर्षमा पुर्‍याउन अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने विभिन्न विकल्पबारे छलफल भएको थियो ।