• १३ साउन २०८१, आइतबार

उपराष्ट्रपति यादव चीन प्रस्थान

blog

चीन प्रस्थान गर्नुहुँदै उपराष्ट्रपति यादव । तस्बिर : केशब गुरुङ

काठमाडौं, साउन २९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन उपराष्ट्रपति यादव सोमबार अपराह्न चीन प्रस्थान गर्नुभएको हो ।


उपराष्ट्रपति यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले बिदाइ गर्नुभएको छ ।


उपराष्ट्रपति यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछ ।  चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उहाँकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा हुनुहुन्छ ।