• ३१ वैशाख २०८२, बुधबार

सिक्रे दोभान पहिरो प्रभावितलाई सरकारले राहत उपलब्ध गराउने

blog

पहिरो प्रभावित जीवन पहरीको परिवारप्रति समवेदना व्यक्त गर्नुहुँदै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, साउन २९ गते ।
मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दोभानको पहिरो प्रभावितलाई सरकारले राहत प्रदान गर्ने भएको छ ।

यही साउन २३ गते बिहान आएको पहिरोले घरसहित सात जना बगाएकोमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका– १ ककरेका जीवन पहरीकी श्रीमतीसहित चार जनाएको मृत्यु भएको थियो । २६ वर्षीय जीवन र निजका तीन वर्षीय छोरा देव पहरी अझै बेपत्ता छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ का पासाङ घिसिङको उद्धार गरिएको थियो ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ सिन्धुली हरिहरपुरगढी गाउँपालिका– १ ककरेस्थित पहिरो प्रभावित परिवारको घरमै पुगेर भेटी सरकारले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले प्रभावित परिवारलाई केही दिनभित्र बागमती प्रदेश सरकारको तर्फबाट दुई लाख र नेपाल सरकारको तर्फबाट पाँच लाख गरी सात लाख रुपियाँ राहत उपलब्ध गराउने बताउनुभयो ।

साथै काजकिरियाका लागि मृतकका परिवारलाई उहाँले आफ्नो व्यक्तिगत तर्फबाट १० हजार रुपियाँ प्रदान गर्नुभएको थियो ।