• ३० वैशाख २०८२, मङ्गलबार

वरिष्ठ पत्रकार दाहाललाई ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता सम्मान’ प्रदान

blog

‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ ग्रहण गर्दै पत्रकार दाहाल । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, साउन २८ गते ।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाललाई ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ बाट सम्मानित गरिएको छ ।

नेपाल प्रेस युनियन बाँकेको १२ औं जिल्ला अधिवेशनको विशेष समारोहमा वरिष्ठ पत्रकार दाहाललाई सो सम्मान प्रदान गरिएको हो । यो सम्मान पाउने उहाँ दोस्रो पत्रकार हुनुहन्छ । यसअघि २०७६ सालमा वरिष्ठ पत्रकार तारानाथ दाहाललाई यो सम्मान प्रदान गरिएको थियो ।

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पत्रकार दाहाललाई दोसल्ला ओढाएर सम्मानपत्र र २५ हजार ५५५ रुपियाँको चेक प्रदान गर्नुभयो ।

कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको स्मृतिमा २०७६ सालमा प्रेस युनियन बाँकेले सो सम्मानको स्थापना गरेको थियो ।

नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओलीका अनुसार संविधानसभा सदस्य अब्दुल हमीद सिद्दिकी भोलाले आफ्नो संसदीय कोषबाट २०७६ सालमा दुई लाख रुपियाँ ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता सम्मान’ कोषका लागि प्रदान गर्नुभएपछि सो सम्मान स्थापना गरिएको थियो ।

प्रेस युनियन बाँकेका अनुसार सो अवसरमा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता सम्मान–२०८० बाट नेपाल टेलिभिजन कोहलपुरका क्षेत्रीय प्रमुख विजय बर्मा, जगन्नाथ गौडेल स्मृति पत्रकारिता पुरस्कारबाट लोकमाया सुवेदी सुमित्रा, प्रेस युनियन सिर्जनशील पत्रकारिता पुरस्कारबाट गजे थापा र प्रेस युनियन उदीयमान पत्रकारिता पुरस्कारबाट कृष्णराज अधिकारीलाई पनि सम्मानित गरिएको थियो ।

सोही अवसरमा अग्रज पत्रकार सम्मानबाट पत्रकारहरु हेमन्त कर्माचार्य, प्रेम केसी, नेत्र केसी र श्रीराम सिग्देललाई पनि सम्मानित गरिएको थियो भने पूर्व अध्यक्ष सम्मानबाट पत्रकारहरु माधव शाह, मेघराज ओली, नरेन्द्र थापा र जयनारायण शाहलाई पनि सम्मानित गरिएको थियो ।

यसैगरी, पुरस्कार दाता सम्मानबाट संविधानसभा सदस्य अब्दुल हमीद सिद्दिकी भोला, नेपालगञ्जका पूर्व प्रमुख विजयकुमार गुप्ता र लक्ष्मी गौडेललाई पनि सम्मान गरिएको प्रेस युनियन बाँकेले जनाएको छ ।