गौर समाचारदाता
गौर, साउन २८ गते । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव एवं गृह, सञ्चार एवं कानुनमन्त्री मोहम्मद समिमले शनिबार रौतहटको बाढीग्रस्त क्षेत्रको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
चार दिनअघि रौतहटको बागमती, लालबकैया तथा झाँझ नदीमा आएको बाढीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्रीद्वयलाई बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी जानकारी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले गराउनुभएको थियो ।
नेपाली कांग्रेस मधेश प्रदेशका सभापतिसमेत रहनुभएका मन्त्री यादव र गृह, सञ्चार एवं कानुनमन्त्री समिमले रौतहटको बाढी प्रभावित बस्ती राजपुर नपाकोे बैरिया, दुर्गाभगवती गापाको बडहर्वा, राजदेवी नपाकोे चण्डिहा, ब्रह्मपुरी र लक्ष्मीपुर बेलबिछवामा बाढीबाट प्रभावित बस्तीमा प्रत्यक्ष रूपमा उपस्थित भई समस्या समाधानको आवश्यक पहल गर्ने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा बाढीपीडितलाई गरिएको उद्धार एवं राहत कार्यको सराहना गर्दै मन्त्री यादवले प्रदेश सरकारबाट प्रत्येक परिवारलाई तत्कालीन राहतको बन्दोबस्त मिलाइएको हुँदा जिल्ला विपत् व्यवस्थापन समितिको माध्यमबाट पीडित परिवारसमक्ष पु-याउन स्थानीय प्रशासनलाई निर्देशन दिनुभयो ।
प्रजिअ मिश्रले गत मङ्गलबार बागमती, झाँझ र लालबकैया नदीमा आएको बाढीबाट प्रत्यक्ष रूपमा १७५ घरपरिवार प्रभावित भएको जानकारी मन्त्रीद्वयलाई गराउँदै बाढीपिडित व्यक्तिलाई तत्कालीन रूपमा जिल्ला विपत् व्यवस्थापन समितिबाट राहत उपलब्ध गराइएको बताउनुभयो ।
राजपुरको बैरियामा लालबकैया नदीको बाँध भत्किँदा बैरिया गाउँका ५० घरधुरी प्रभावित भएका थिए । जसमध्ये अधिकांश पीडित व्यक्ति घर फर्किएका छन् । राहत शिविरमा बसिरहेका १५ परिवारलाई भोजनको व्यवस्था मिलाइएको प्रजिअ मिश्रले जानकारी गराउनुभयो ।