• ३० वैशाख २०८२, मङ्गलबार

धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार गर्न कोरा साइक्लिङ

blog

बुटवल समाचारदाता

बुटवल, साउन २८ गते  । रुपन्देहीको पश्चिम क्षेत्रमा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले शनिबार कोरा साइक्लिङ च्यालेन्ज भएको छ। साइकलबाटै १२५ देशको यात्रा गरेका विश्व साइकलयात्री अजित बरालको आतिथ्यमा भएको कोरा साइक्लिङ सैनामैना नगरपालिकाका साथै कञ्चन गाउँपालिकाका विभिन्न क्षेत्रको परिक्रमा गरिएको थियो। 

त्यस अवसरमा बोल्दै विश्व साइकलयात्री अजित बरालले साइकलका माध्यमबाट धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै स्वस्थ रहन सहयोग पुग्ने बताउनुभयो।  उहाँले पछिल्लो समय साइकलबाट आफ्नो गाउँ घरको प्रचारप्रसार गर्ने क्रम सुरु भएको बताउँदै यसले युवालाई असल मार्गमा लाग्न प्रेरित गर्ने बताउनुभयो।   

सैनामैना साइकल साथीको आयोजना तथा सैनामैना नगपालिकाको सहयोगमा सैनामैना नगरपालिका–१, लुम्बिनी गेटबाट सुरू भएको साइक्लिङ रुपन्देहीका मुख्य धार्मिक क्षेत्र बुद्धकालीन रानीकुवा, राजाकुवा, हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल पर्रोहा बोलबम धाम, बक्सड डाँडा कोटियामाई र गौतम बुद्ध रङ्गशालामा पुगेको थियो। 

त्यसै गरी कञ्चन गाउँपालिकामा पर्ने दानापुर ताल, समयमाई देवी मन्दिर, सिमसार क्षेत्र राजापानी, महेरवामाई मन्दिर, कुमारगड्डी उपत्यका हुँदै थारू समुदायको पवित्र धार्मिक मान्यता बोकेको मलमल चौरा बाबाको मन्दिर, भैरव मन्दिर र भैरव कुण्डको दर्शन गरी सैनामैना थारू होमस्टेमा आएर समापन भएको छ। 

त्यस अवसरमा ५५ किलोमिटर लामो यात्रा साइकलबाटै तय गरिएको थियो। सहभागीलाई थारू सांस्कृतिक कार्यक्रम, बाजागाजा, नाचगान, थारू परिकार खानपिनबाट स्वागत गरिएको छ। विश्व युवा दिवसको अवसरमा सैनामैना साइकल साथीले प्रत्येक वर्ष कोरा साइक्लिङ च्यालेन्ज आयोजना गर्दै आएको छ। कार्यक्रममा रुपन्देहीसहित काठमाडौँ, ललितपुर, निजगढ, हेटौँडा, दाङ, नेपालगञ्ज, पोखरा, कपिलवस्तु, नवलपरासी जिल्लाबाट सहभागिता रहेको सैनामैना साइकल साथीका अध्यक्ष गगन रानाले बताउनुभयो। 

कार्यक्रम संयोजक गोविन्द ज्ञवालीले विश्व युवा दिवसका अवसरमा आयोजना गरिने कोरा साइक्लिङले युवालाई स्वस्थ्य रहन सन्देश दिनुका साथै धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान दिन सफल भएको बताउनुभयो। 

कोरा साइक्लिङमा सैनामैना नगरपालिकाका प्रमुख, निवर्तमान प्रमुख, वडाध्यक्ष तथा सदस्य र बालबालिकाको पनि सहभागिता थियो।