• १३ साउन २०८१, आइतबार

‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्छौं’

blog

तनहुँ समाचारदाता

तनहुँ, साउन २८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने बताउनुभएको छ। गण्डकी प्रदेश सरकारले यसका लागि धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकता दिएको उहाँको भनाइ थियो। 

तनहुँको ऋषिङ गाउँपालिका–५, रूपटारमा निर्माण सम्पन्न भएको ज्वाला खोला मोटरेबल पुलको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो। विभिन्न धार्मिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न र देश विदेशमा चिनाउनका लागि भए पनि ती क्षेत्रको संरक्षण तथा थप विकास गर्न पूर्वाधार निर्माणमा ध्यान दिइएको उहाँले बताउनुभयो। पाण्डेले भन्नुभयो, “गण्डकी प्रदेश धार्मिक, पर्यटकीय क्षेत्रसहित कला संस्कृतिले धनी प्रदेश भएकाले यहाँका पुराना कला संस्कृति र धार्मिक क्षेत्रको प्रचारप्रसारसहित संरक्षण गर्न जरुरी छ।’’ 

मुख्यमन्त्री पाण्डेले शालिग्राम कोरिडोर गण्डकी प्रदेश सरकारको गौरवका आयोजना भएको उल्लेख गर्दै यसलाई बुढीगण्डकी कोरिडोरमा जोडेर मुक्तिनाथसम्म छिटै पु-याइने बताउनुभयो। पाण्डेले भन्नुभयो, “कालीगण्डकी धार्मिक क्षेत्र भएकाले धार्मिक पर्यटन स्थलका रूपमा विकास गर्न र पोखरालाई नेपालको पर्यटनको केन्द्र पर्यटकीय राजधानीका रूपमा घोषणा गर्न प्रदेश सरकार लागि परेको छ।” 

प्रदेश सरकारले यस आर्थिक वर्षमा मात्र ऋषिङ गाउँपालिकाभित्रका भौतिक पूर्वाधार तथा सडकका लागि २२ करोड, विभिन्न खानेपानीका योजनाका लागि दुई करोड रुपियाँ विनियोजन गरेको बताउनुभयो। सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनका लागि एक करोड विभिन्न शीर्षकमा विनियोजन गरेको उहाँको भनाइ छ।  गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले कालीगण्डकी आसपासका फाँटको व्यस्थापन र विकासका लागि आफू लागि परेको बताउनुभयो। गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले ७० वर्षअगाडि खोलिएको सुरुङ मार्ग, कृष्ण मार्गको स्तरोन्नतिको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ग्रामीण क्षेत्रलाई उत्पादनसँग जोड्नका लागि प्रदेश सरकार र स्थानीय सरकार सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको आर्थिक सहयोगमा पुल दुई करोड ९६ लाख रुपियाँ लागतमा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।