धनुषा समाचारदाता
धनुषा, साउन २८ गते । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले मानव अधिकारको विषयमा सबै संवेदनशील हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालयले शुक्रबार जनकपुरधाममा आयोजना गरेको आयोगको राष्ट्रिय कार्ययोजना परामर्श गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सभामुख मण्डलले मानव अधिकारलाई पाखा राखेमा मानवता नै समाप्त हुने भएकाले अहिलेको समयमा मानव अधिकारको विषयमा हामी सबै संवेदनशील हुन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
उहाँले मानव अधिकारको कार्यान्वयनमा धेरै जटिलता देखिए पनि त्यसलाई बिस्तारै समाधान गर्दै जानुपर्ने बताउँदै तीनै तहका सरकारले जनताको हितमा कानुन निर्माण गर्दै आएको र त्यसको कार्यान्वयनका लागि पनि तिनै तहका सरकारले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कानुनी विषयबारे जानकारी नहुँदा पनि मानव अधिकार उल्लङ्घनका घटना हुने गरेको भन्दै यसबारे आमनागरिकलाई जानकारी गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालयका प्रमुख मञ्जु खतिवडाले मानव अधिकारको विषयमा नेपालले गरेका प्रतिबद्धता र त्यसको कार्यान्वयनका समस्याबारे प्रस्तुत गर्दै मानव अधिकारको उल्लङ्घन हुन नदिन आयोगको मधेश प्रदेश कार्यालयले दृढतापूर्वक काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रमका सहभागीले प्रदेशमा मानव अधिकारको कार्यान्वयन भए नभएको विषयमा अध्ययन गर्न अनुगमन समिति गठन गर्नुका साथै प्रदेशको आठ वटै जिल्लामा हिंसा प्रभावित महिलाका लागि सुरक्षा आवास, पीडित बालबालिकाका लागि बालसुधार गृहको निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका सचिव, आठ वटै जिल्लाका सुरक्षा निकायका प्रमुख, मानव अधिकारकर्मी, बुद्धिजीवी, सञ्चारकर्मीसहितको उपस्थिति थियो ।