शान्ता अधिकारी
चितवन, साउन २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरूलाई अपिल गर्नुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसरमा चितवनको भरतपुर २२ पटिहानीमा भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शनिबार बिहान प्रधानमन्त्री प्रचण्डले त्यस्तो अपिल गर्नु भएको हो ।
पछिल्ला दिनमा देशले नयाँ गति लिँदै आएको र त्यसका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, “बिस्तारै देशले नयाँ गति लिँदै छ । देशभित्र र देश बाहिर रहेका लाखौँ युवालाई आफ्नो सृजना र क्षमतालाई राष्ट्रको पक्षमा राष्ट्रको विकासमा र देशभित्र नै विकासको नयाँ गति पैदा गर्नको लागि अपिल गर्न चाहन्छु ।”
प्रधानमन्त्री प्रचण्डले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन सरकार लागिपरेको बताउनुहुँदै आफू चितवन आउँदै गर्दा हिजो मात्रै सिंहदरबारमा यस विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् ? उनीहरूका समस्या समाधानमा के गर्न आवश्यक छ ? देशभित्रको श्रम बजारलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने जस्ता विषयमा छलफल भएको बताउनुभयो ।
प्रधानमन्त्रीले कृषि, पर्यटन, उद्योग र पूर्वाधारको विकासमा केन्द्रित रहेर सरकारले काम गरिरहेको बताउनुभयो । यी क्षेत्रमा केही सुधार हुनासाथ वैदेशिक रोजगारीमा जाने केहीलाई रोक्न सकिने उहाँको दाबी थियो ।
हालैको भारत भ्रमणको प्रसङ्ग उठाउनुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपालको कृषिको विकासका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत छलफल गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको कृषि क्षेत्रलाई कसरी अगाडि बढ्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग भारत भ्रमणका क्रममा कुरा भएको छ । त्यसको अध्ययनका लागि एउटा विज्ञ टोलीलाई भारत पठाउँदै छौँ ।”
सरकार कृषि उत्पादन बढोत्तरीका लागि मल कारखाना समेत खोल्ने तयारीमा रहेको र यस बारेमा अध्ययन भइरहेको जानकारी दिनुभयो । त्यस्तै, ऊर्जामा बिदेसिने धनराशिमा कमी गर्न विद्युतको अधिकृत उपभोग र बढी भएको विद्युत भारत र बङ्गलादेशलाई बेच्ने विषयमा विद्युत व्यापारको सम्झौता भएको र भारतको भूमि हुँदै नेपालको विद्युत बङ्गलादेश पठाउने सहमति समेत भइसकेको जानकारी दिनुभयो ।
त्यस्तै, कर्णालीको चिसापानी र बुढीगण्डकी विद्युत आयोजना छिट्टै अगाडि बढाउने तयारी सरकारले गरेको पनि जानकारी दिनुभयो । छिट्टै हुन गइरहेको चीन भ्रमणका बारेमा कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले चीनसँग समेत विद्युत व्यापारमा सम्झौताको प्रस्ताव अगाडि बढाउने जानकारी दिनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटनको क्षेत्रमा युवाहरूलाई जोड्दै अगाडि बढेको जानकारी दिनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर वडा नम्बर २२ का वडा अध्यक्ष विष्णुराज महतोलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा पाँच किलोमिटर दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो । कार्यक्रमका विभिन्न विधिका सफल छ जना कृषकहरूलाई सम्मान पनि गरिएको थियो ।