• २२ वैशाख २०८१, शनिबार

हलेसी तुवाचुङका विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा

blog

हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवन । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, साउन २६ गते ।
खोटाङको हलेसी तुवाचुङका सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्न थालिएको छ । नगरपालिकाको “शून्य शुल्क” कार्यक्रमअन्तर्गत सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क बनाइएको हो ।

नगरपालिकाले “शुन्य शुल्क कार्यविधि २०७९” पारित गरेर सबै विद्यालयहरुमा “शून्य शुल्क” कार्यक्रम लागू गरेको हो ।  विद्यालयहरुले कुनै पनि बहानामा शुल्क लिएको पाइएमा कारबाही हुने नगरपालिकाका शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले बताउनुभयो ।

निजी शिक्षकलाई तलब प्रदान, परीक्षा सञ्चालन खर्च लगायतकाका लागि भन्दै विद्यालयहरुले शुल्क लिने गरेका थिए । नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेर अघिल्लै वर्षबाट “शून्य शुल्क” कार्यक्रम घोषणा गरेको थियो । यो वर्षबाट कार्यक्रम पूर्णरुपमा लागू गरिएको संयोजक कार्कीको भनाइ छ ।

नेपालको संविधान २०७२ को भाग ३, धारा (३१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने व्यवस्था उल्लेख गरिएको छ । तथापि सामुदायिक विद्यालयहरुले विभिन्न बहानामा शुल्क उठाउने गरेका छन् । त्यसैले संविधानमा उल्लेख गरिएको कुरालाई हलेसी तुवाचुङ नगरपालिकामा व्यवहारमा कार्यन्वयन गरिएको प्रमुख विमला राईले बताउनुभयो ।

त्रैमासिक र अर्धवार्षिक परिक्षा सञ्चालनको लागि विद्यालय तह, विद्यार्थी सङ्ख्या र आवश्यकताका आधारमा नगरपालिकाले विद्यालयलाई बजेट उपलब्ध गराउनेछ । कक्षा ४–९ सम्मको वार्षिक परीक्षा भने नगरपालिकाले नै लिने गरेको छ । नगर यसैगरी, विद्यालयमा आवश्यक शिक्षकको पनि परिपूर्ति नगरपालिकाले गरेको प्रमुख राईले बताउनुभयो ।

नगरपालिकाले विद्यालयलाई आवश्यक बजेट तथा शिक्षकहरु उपलब्ध गराएपछि कक्षा १२ सम्म शून्य शुल्क लागू भएको विद्यालयहरुले जनाएका छन् । कक्षा १०, ११ र १२ का विद्यार्थीले नेपाल सरकारको अनिवार्य राजस्व भने तिर्नुपर्ने हुन्छ । राजस्व वर्षमा करिब पाँच सयदेखि एक हजारसम्म लाग्ने महेन्द्राेदय माध्यमिक विद्यालय हलेसीका प्रधानाध्यापक मनकुमार राईले बताउनुभयो । अन्य कुनै पनि शुल्क नलाग्ने उहाँको भनाइ छ । महेन्द्राेदय माविमा नेपाल सरकारको अनुदानमार्फत सञ्चालन भइरहेको सिभिल इन्जिनियरिङ कक्षा पनि निःशुल्क लिन सकिने प्रधानाध्यापक राईले बताउनुभयो । 

हलेसी तुवाचुङ नगरपालिकामा माध्यमिक विद्यालय १२ वटा छन् । जसमा दुई वटामा कक्षा १० सम्म र १० वटा विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुन्छ । कक्षा १–८ आधारभूत १३ वटा र कक्षा १–५ एवम् १–३ आधारभूत ६४ वटा गरी नगरपालिकामा ८९ वटा सामुदायिक विद्यालय छन् ।

यसैबीच, जीर्ण रहेका १५ वटा विद्यालयको भवन यस वर्ष नगरपालिकाले निर्माण गर्ने निर्णयसमेत गरेको छ । अघिल्लो वर्षमा केही विद्यालयको भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।