• १३ साउन २०८१, आइतबार

सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै

blog

तानसेन समाचारदाता

पाल्पा, साउन २४ गते । पाल्पामा पछिल्लो तीन वर्षको अवधिमा सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०७९/८० मा ४४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत पाल्पाले जनाएको छ। गत आवमा अदालतमा कुल दर्ता भएको एक हजार १७ मुद्दामध्ये ४४३ सम्बन्धविच्छेदकै रहेको अदालतका तहसिलदार भेषराज खनालले जानकारी दिनुभयो। 

अदालतमा आव २०७८/७९ मा ३७४ मुद्दा सम्बन्धविच्छेदका दर्ता भएका थिए। यस्तै आव २०७७/७८ मा सम्बन्धविच्छेदका २२८ वटा मुद्दा दर्ता भएको थियो। पछिल्लो समय अदालतमा सम्बन्धविच्छेदसहितका अन्य मुद्दा दर्ता गर्ने क्रम बढेको तहसिलदार खनालले बताउनुभयो। 

पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा दुई हजार ४८७ मुद्दा दर्ता भएकामा एक हजार ४५ सम्बन्धविच्छेदका छन्। अपरिपक्व उमेरमा गरिएको विवाह, प्रेम विवाह र वैदेशिक रोजगारीलगायतका कारणले सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्या हरेक वर्ष बढ्दै गएको अदालतले जनाएको छ। 

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवकयुवती नै सम्बन्धविच्छेदका लागि आउने गरेको अदालतका कर्मचारी बताउँछन्। विदेशमा बसेका युवाको घरायसी सम्बन्ध बिग्रेर सम्बन्धविच्छेदका लागि अदालतसम्म आउने गरेको अदालतका स्रेस्तेदार दुर्गा बस्यालले बताउनुभयो। सम्बन्ध बिगार्नमा सबैभन्दा बढी सामाजिक सञ्जालको भूमिका रहने गरेको र सम्बन्धविच्छेदमा त्यसैलाई आधार तथा प्रमाण पेस गर्ने गरिएको उहाँले बताउनुभयो।