मकवानपुर समाचारदाता
हेटौँडा, साउन २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तराईका जिल्लाका सरकारी कार्यालयमा हुने गरेको अनियमितताविरुद्धका उजुरी बढी पर्ने गरेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडामा परेका उजुरीका आधारमा तराईका जिल्लाबाट आयोगमा पर्ने उजुरी बढी देखिएको हो ।
मधेश प्रदेशका तीन र बागमती प्रदेशका आठ जिल्ला गरी ११ जिल्ला कार्य क्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा मधेश प्रदेशका जिल्लाका उजुरी बढी सङ्ख्यामा परेको र सोही अनुपातमा फस्र्योट भएको आयोगको हेटौँडा कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा अख्तियारको हेटौँडा कार्यालयको कार्य क्षेत्र रहेको जिल्लाबाट एक हजार ८३१ र अघिल्लो आवबाट सरेर आएका ४९५ सहित दुई हजार ३२६ उजुरी दर्ता भएका थिए । तीमध्ये आधाभन्दा बढी अर्थात् गत आवसम्ममा कार्यालयमा मधेश प्रदेशका तीन जिल्लाका एक हजार ४९७ उजुरी रहेका थिए ।
अघिल्लो आवबाट सरेर आएकासहित गत आवसम्ममा बारा जिल्लाबाट ५४१, पर्साबाट ४९९ र रौतहटबाट ४५७ वटा उजुरी परेको अख्तियारको कार्यालयको तथ्याङ्क छ ।
आयोगको हेटौँडा कार्यालयमा उजुरी पर्नेमा कार्य क्षेत्रभित्र पर्ने जिल्लामा मकवानपुर तेस्रो स्थानमा छ । मकवानपुरका स्थानीय तहसहित सरकारी कार्यालयमा हुने गरेको बेथितिविरुद्ध अघिल्लो आवबाट सरेर आएका र गत आवमा परेकासहित ४६७ उजुरी दर्ता भएको थियो । गत आवमा सबैभन्दा बढी उजुरी दर्ता भएका जिल्लामा क्रमशः बाराबाट ४०७, पर्साबाट ३८९, मकवानपुरबाट ३८३, रौतहटबाट ३६३ र चितवनबाट २३३ वटा रहेको आयोगको हेटौँडा कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
सबैभन्दा कम रसुवाबाट तीन, नुवाकोट र काभ्रेपलाञ्चोकबाट चार/चार, सिन्धुपाल्चोकबाट छ, दोलखाबाट नौ र धादिङ जिल्लाबाट ३० वटा उजुरी गत आवमा आयोगको हेटौँडा कार्यालयमा दर्ता भएको छ । गत आवमा अघिल्लो आवबाट जिम्मेवारी सरेर बाराबाट १३४, पर्साबाट ११०, मकवानपुरबाट ८४, रौतहटबाट ९४ र चितवनबाट ३६ वटा उजुरी आएको थियो ।
सो कार्यालयमा बढी सङ्ख्यामा स्थानीय तहको सङ्घीय मामिला र शिक्षा, प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात मन्त्रालय, प्रदेशकै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वन तथा वातावरणतर्फका उजुरी दर्ता भएका छन् ।
बयसट्ठी प्रतिशत उजुरी फस्र्योट
आयोगको हेटौँडा कार्यालयमा दर्ता भएकामध्ये गत आवमा ६२.०८ प्रतिशत (एक हजार ४४४) उजुरीको फस्र्योट भएको छ । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएकामध्ये २९५ र गत आवमा दर्ता भएकामध्ये एक हजार १४९ वटा उजुरीमाथि अध्ययन र सुनुवाइ गरी फस्र्योट भएको हो ।
कार्यालयका सूचना अधिकारी उपसचिव सापकोटाले कार्यालयमा परेका उजुरीमध्ये ३७३ वटाको स्व्रिmनिङबाट र एक हजार ७१ वटा उजुरीको प्रारम्भिक छानबिनबाट फस्र्योट गरिएको बताउनुभयो । आव २०७८/७९ बाट जिम्मेवारी सरेर आएको दुई सय र गत आवमा दर्ता भएकामध्ये ६८२ गरी आव २०८०/८१ मा सरेर आएका ८८२ उजुरी फस्र्योट हुन बाँकी छ ।