• १३ मंसिर २०८१, बिहिबार

सुनचाँदी व्यवसायनसम्बन्धी मापदण्ड जारी गर्न माग

blog

काठमाडौँ, साउन २४ गते । सुनचाँदी व्यवसायमा आबद्ध तीन वटा महासङ्घले व्यवसाय सञ्चालनका लागि प्रस्ट मापदण्ड तयार गरी त्यसलाई लागु गर्न माग गरेका छन् ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई सुनचाँदी व्यवसायका बारेमा जानकारी गराउँदै यस क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल गरिदिन महासङ्घका प्रतिनिधिले आग्रह गरेका छन् । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घ आबद्ध व्यापारीले संयुक्त रूपमा यस्तो आग्रह गरेका हुन् । सो अवसरमा प्रतिनिधि सभा सदस्य एवं संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रणेन्द्र बराइलीले सुनचाँदी व्यवसाय सञ्चालनका लागि प्रस्ट मापदण्ड तयार गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

सुनचाँदी व्यवसायका सदस्यलाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । 

सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले प्रस्ट निर्देशिकाको अभावमा व्यवसायीले विभिन्न किसिमका समस्या झेल्नु परेको बताउनुभयो । 

अर्बौं रुपियाँको कारोबार हुने सुनचाँदी व्यवसाय निर्बाध रूपमा सञ्चालनका लागि निर्देशिका आवश्यक भएको बताउँदै उहाँले जुनसुकै पेसा व्यवसाय सञ्चालनका लागि पनि प्रस्ट नीति, नियम तथा निर्देशिका हुने गरेको तर सुनचाँदी व्यवसायको क्षेत्रमा नभएकाले समस्या भएको बताउनुभयो । 

सुनचाँदी क्षेत्रको वृद्धि र विकासका लागि आवश्यक पर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा योजनाहरू लिपिबद्ध रूपमा प्रस्तुत गरिएको छ । ती योजनामा कच्चा सुनको आपूर्ति, बिक्रीवितरणको व्यवस्थापन, सुन, चाँदी र हीरा जबाहरात जस्ता खानीजन्य वस्तुको उत्खनन, सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली र त्यसको व्यवस्थापनलगायतका विषय समेटिएका छन् । 

सुनचाँदी व्यवसाय व्यवस्थित र मर्यादित बनाउन मापदण्ड नहुँदा व्यवसाय व्यवस्थित गर्न कठिन भएको भन्दै व्यवसायीले लामो समयदेखि निर्देशिका ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् ।