• १३ साउन २०८१, आइतबार

चिनियाँ भाषा तालिमले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा

blog

काठमाडौँ, साउन २३ गते । पर्यटन व्यवसायीका लागि आयोजित छ महिने चिनियाँ भाषा तालिमले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली पर्यटन व्यवसायीको भाषिक क्षमता अभिवृद्धि तथा नेपाल आउने चिनियाँ पर्यटकसँग बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले पाँचौँ चिनियाँ भाषा तालिम आयोजना  गरिएको थियो ।

नेपालस्थित चिनियाँ दूतावासको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को सहआयोजनामा सञ्चालित छ महिने चिनियाँ भाषा तालिम सम्पन्न भएको हो । तालिममा पर्यटन बोर्डका कर्मचारीसहित ४० पर्यटन व्यवसायीको सहभागिता रहको थियो । तालिमको समापनका अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले चिनियाँ भाषासम्बन्धी तालिमले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि हुनुको साथै जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो ।

नेपाल र चीनबीच लामो समयदेखि राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध रही आएको उल्लेख गर्दै उहाँले मन्त्रालयले पोखरा र भैरहवामा पनि चिनियाँ भाषा तालिम सञ्चालन गर्न लागिएको र त्यसका लागि दूतावासबाट सहयोगको अपेक्षा गर्नुभयो ।

नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ जिनले भाषा तालिमले भाषाको मात्र नभई चिनियाँ कला संस्कृतिका बारेमा जानकारी आदानप्रदान भएको बताउनुभयो । उहाँले पर्यटन बोर्डसँगको सहकार्यमा हालै पोखरामा आयोजित ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’ सम्पन्न भएको र त्यसबाट नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताउँदै आउने दिनमा पनि सहकार्य जारी रहने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा  धनञ्जय रेग्मीले नेपालमा चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार भएको उल्लेख गर्दै यस प्रकारका तालिमले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउन पुग्ने बताउनुभयो । उहाँले पर्यटन प्रवर्द्धनका लागि दूतावाससँगको सहकार्यमा विभिन्न कार्यक्रम भइरहेको जानकारी दिँदै यो भाषा तालिमले नेपाली पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि हुने अपेक्षा गरेको बताउनुभयो । तालिम समापनका अवसरमा सहभागीले विभिन्न चिनियाँ नृत्य तथा गीत प्रस्तुत गरेका थिए । रासस